काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ । सामान्यावस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा।सागर राजभण्डारीले बताए ।
बन्दाबन्दीको शुरुआती दिनमा यो सङ्ख्या दैनिक झण्डै एक सय थियो । उनका अनुसार अहिले काठमाडौँ उपत्यका मात्रै नभएर बाहिरका टाढाटाढाका जिल्लाबाट समेत बिरामी आइरहेका छन् । उनले भने, ‘निजी सवारीसाधन चल्न थालेकाले धेरैलाई आउन सजिलो भएको छ ।’
कोभिड–१९ को उपचारका लागि तोकिएको अस्पतालले अहिले अधिकांश रोगको उपचार अरू अस्पतालमा सारेको छ । प्राविधिक रुपमा कठिन हुने भएकाले रेबिजविरुद्धको उपचार भने अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालको एउटा कुनाबाट खोप सेवा सञ्चालन भइरहेको निर्देशक डा राजभण्डारीले बताए । उनले कतिपय समस्याको उपचार यही अस्पतालमा मात्रै हुने भएकाले बिरामी टाढा–टाढाबाट समेत आइरहेको बताए ।
अस्पतालमा कोभिड–१९ को परीक्षण भइरहेको छ । दैनिक सात सयदेखि एक हजार तीन सय जनासम्म परीक्षणका लागि आइरहेका छन् । अस्पतालले भने आवश्यक भए–नभएको हेरेर मात्रै परीक्षण गर्दै आएको छ ।
अस्पतालमा पिसिआर परीक्षणका लागि आएकामध्ये २० देखि २५ प्रतिशको मात्रै परीक्षण भइरहेको छ । अस्पतालले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक शय्या पनि बढाइरहेको जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।