नेकपा विवादः देशलाई कति फाइदा कति घाटा ?

विश्व अहिले कोरोनाभाइरसविरुद्ध लडिरहेको छ । नेपालमा पनि कोरोनाभाइरसको प्रभाव उल्लेख्य देखिएको छ । पछिल्लो समय देशभर पिसिआर विधिबाट हुने परीक्षणमा सरकार गम्भीर नभएको भन्दै आन्दोलन भइरहेका छन् । परीक्षणको दायरा बढाउन माग गरिएको छ तर सरकारले यसमा काम गर्न सकेको छैन । 

कोरोनाभाइरस संक्रमण रोकथामका लागि नेपालमा अब झन्डै पाँच महिना ‘लकडाउन’ लगाइएको छ ।

अर्कोतिर बाढी पहिरोका कारण पनि देशका विभिन्न ठाउँमा दर्जनौँले ज्यान गुमाइरहेका छन् ।

देशमा एकपछि अर्को समस्या थपिइरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने आन्तरिक किचलोमा फसेको छ । शक्ति संघर्षमा निस्किएको यो विवादको निचोड तत्काल निस्किने छाँटकाँट देखिएको छैन । 

सरकार चलाइरहेको दल नै आन्तरिक विवादमा फसेर देशका लागि केही काम नगर्दा देशमा समस्याका चाङ थुप्रिएका छन् । 

यसले आखिर नेपाली र नेपाललाई कति फाइदा र कति घाटा पुर्याइरहेको छ त ?



‘कुनै फाइदा छैन,’ राजनीतिक विश्लेषक युग पाठक भन्छन्, ‘देश यति ठूलो आर्थिक र स्वास्थ्य संकटमा हुँदा सत्तारुढ दलको प्राथमिकता अर्कैतिर छ, यसका कारण मुलुक र जनताले दुःख पाइरहेकै छन् नि !’

विश्लेषक डा. सुरेन्द्र केसी पनि यही कुरामा सहमत छन् । उनले त अहिले नेकपाले चुनावको समयमा जनतासामु गरेका वाचालाई पनि तिलान्जली दिएको आरोप लगाएका छन् । 



‘नेकपा विवादले मुलुकलाई चरम घाटामा पुर्याएको छ । सरकारलगायत पार्टीका नेताहरु कोराना महामारी र प्राकृतिक संकटमा केन्द्रीत हुनुपर्नेमा सत्तालिप्सामा मात्र केन्द्रीत भएका छन्’, फरकधारसँग उनले भने, ‘नेकपाका नेताहरुले चुनावताका स्थिर सरकार भए मुलुकमा आर्थिक समृद्धि र विकास हुन्छ, कुशासनबाट देशलाई मुक्त पार्नेछौं भनेर जनतासँग भोट मागेका चुनाव जितेका हुन् । त्यसैले अहिलेको सत्ताको खेल कुनै पनि दृष्टिकोणमा शोभनीय र उचित छैन ।’

अर्का विश्लेषक पुरञ्जन आचार्य भने यी दुईको भन्दा फरक विचार राख्छन् । नेकपामा देखिएको यो विवादले देशलाई धेरै बेफाइदा नगरेको तर केही हदसम्म फाइदा नै पुर्याएको उनले निचोड निकालेका छन् ।

नेकपा नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल झलनाथ खनाललगायत पार्टीका बहुमत सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकार ढाल्न लाग्दा समेत सरकार नढल्नु नेपाली राजनीतिका लागि सकारात्मक रहेको विश्लेषण आचार्यको छ ।

‘पहिले–पहिले सरकार फु गर्दा ढल्थे । अहिले यत्रो शक्ति लाग्दा पनि सरकार ढल्दैन रहेछ भन्ने प्रमाणित भएको छ । यसलाई नेपाली राजनीतिमा फाइदाका रुपमा हुेर्नुपर्छ,’ उनले भने ।

 

 

नेकपा विवाद स्वनिर्मित

जुन समयमा देश र जनता सरकारको उपस्थितिको खोजी गर्दै थिए, त्यही समयमा नेकपा अहिले विवादमा उन्मुख भइरहेको छ । आखिर नेकपा किन विवादमा फँसेको छ त ? 

‘यो स्वनिर्मित विवाद हो,’ पाठकले भने, ‘नेकपा विवादमा अरुलाई मुछ्ने कुरा आफ्नो ठाउँमा छ, खासमा स्वनिर्मित विवाद हो । किनकि, प्रधानमन्त्री ओली स्वयंले राजनीतिक दल फुटाउन मिल्ने विधेयक ल्याएका हुन् नि ! उनीहरुले आफ्नै खेल खेलेका हुन् । उनीहरुले जानेकै यही हो ।’

डा. केसी भने पछिल्लो समय भएको नेकपा विवादमा चीनको संग्लग्नता प्रत्यक्ष रुपमा देखिएको बताउँछन् ।

‘पहिले भारतको हस्तक्षेप भए जसरी पछिल्लो समय नेपालमा चीनको हस्तक्षेप बढिरहेको छ । यसो हुनुमा स्वयम् नेकपाका नेताहरुको हात छ’, उनी भन्छन्, पक्कै एउटा हातले मात्र ताली बज्दैन । उनीहरुले ठाउँ नदिएसम्म त चीन पनि त आए होला नि !’

पञ्चशीलको सिद्धान्तअनुसार भारत र चीनसँग समान दूरीको सम्बन्ध हुनेपर्नेमा नेकपा एकातिर मात्र ढल्किएको र त्यसले भविश्यमा समस्या ल्याउन सक्ने डा. केसीको बुभलाइ छ ।

डा. केसीको कुरामा विश्लेषक आचार्यको पनि सहमति छ । नेपालमा पछिल्लो समयमा चीनको प्रभाव बढ्दै गएकाले उसँगको नेकपाको सम्बन्ध दोहोरो भएको उनले बताए ।

‘चीनले नेकपासँग सहकार्यको हात अघि बढाएको छ’, उनी भन्छन्, ‘यसैको परिणामस्वरुप उसले नेकपालाई फुट्नबाट बचाइरहेको छ ।’

तर, नेकपाको आन्तरिक मामिलामा कांग्रेस मुछिनुमा भने प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको विश्लेषक आचार्यको दाबी छ ।

‘माओवादीसँग सहकार्य गर्न सकिँदैन भनेर आलीले देउवा (शेरबहादुर)लाई पहिले नै भनिसकेको कांग्रेसका धेरै नेतालाई थाहा छ’, उनी भन्छन्, ‘तत्कालिन अवस्थामा कांग्रेसले सरकारमा जान हतार नगरेर मात्रै हो ।’

 

संकट नै भ्रष्टाचार गर्ने अवसर

देशको कठिन परिस्थितिमा पनि पार्टीमा विवाद सिर्जना गरेर नेकपाका नेताहरुले संकटलाई भ्रष्टाचार गर्ने अवसरका रुपमा लिएको विश्लेषक पाठकको ठम्याइ छ । 

‘देशमा यस्ता संकट छन् । तर, यी समाधान गर्न सरकार र पार्टीका नेतासँग कुनै योजना देखिँदैन’, उनी भन्छन्, ‘उनीहरु जनतासँग सामान्य संवाद समेत गर्दैनन् । किनकि, उनीहरुलाई समस्या समाधान गर्नु नै छैन । संकटलाई उनीहरुले व्यक्तिगत लाभ लिने अवसरका रुपमा लिएका छन् । यसले भविश्यमा झनै संकट निम्त्याउने छ ।’

ठूला नेताहरुले संकटलाई शक्ति सन्तुलनको अवसरको रुपमा लिने भएकाले नेकपा विवाद अझै जारी रहने पाठकको बुझाइ छ ।

‘संकटलाई देखाएर नेताहरुले देश र जनतालाई अझ धेरै लुट्ने सम्भावना देखिन्छ’, उनको दाबी छ । 

  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार ०:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया