झन् पेचिलो बन्दै नेकपा विवाद

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय विवाद झन् झन् पेचिलो बन्दै गइरहेको छ । बिहीबार बालुवाटारमा भएको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच पनि कुनै सहमती निस्किन नसकेपछि यो विवाद अब केन्द्रीय कमिटीसम्म पुग्ने अनुमान गर्न थालिएको छ । 

किनकि खुमलटारमा प्रचण्डसँग छलफलमा जुटेका नेकपाका नेताहरुले अब केन्द्रीय कमिटी बैठक बोलाउनुभन्दा अरु विकल्प नभएको बताउन थालेका छन् ।

‘यो पार्टीको विवाद भएकाले सकेसम्म धेरै साथीहरुबीच यो प्रसंग लगेर त्यहाँबाट नै समस्या समाधान गर्नु पर्ने हुन्छ,’ खुमलटारमा बिहीबार साँझ बैठकमा उपस्थित नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘अब अहिलेको विवाद नेकपा केन्द्रीय कमिटीमा पुग्ने भएको छ, त्यहाँबाट नै समाधानको अपेक्षा पनि गरिएको छ ।’

खुमलटारमा यो बैठक बसिरहेको समयमा नेकपाका केही नेता भने बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा जुटेका थिए । बालुवाटार बैठकमा सहभागी एक नेताका अनुसार अहिले पार्टीमा अनावश्यक विवाद निकालिएको निष्कर्षमा ओली पुगेका छन् र यसलाई वार्ताबाट नै समाधान गर्ने पक्षमा उनी रहेका छन् । 
तर, तत्काल केन्द्रीय कमिटी बैठक बोलाउने या नबोलाउनेबारे बैठकमा खासै छलफल नभएको ती नेताले बिहीबार अबेर साँझ फरकधारलाई बताए । 

यसअघि बिहीबार नै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए । यो छलफलमा प्रचण्ड र माधव नेपालले एउटै स्वरमा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिएर पार्टी र देशलाई बचाउन मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । 

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे छलफल गर्न नै नचाहेको उनीनिकट एक नेताले बताएका छन् । 



‘अहिले पद छाडेर समस्याको समाधान हुन्छ भन्ने पक्षमा कोही पनि छैनन्,’ ती नेताले भने, ‘पार्टीमा सामान्यतया कहिलेकाहीँ विवादहरु देखिएका हुन्छन्, ती विवादलाई समाधान गरेर अगाडि बढ्नु नै उचित हो ।’

बिहीबार बालुवाटारमा भएको बैठक र त्यसपछि खुमलटार र बालुवाटारमा भएको भेटघाटहरुका कारण नेकपामा जारी विवाद अब नयाँ मोडमा पुगेको छ । यो विवादले अब कुन रुप लिने छ भन्ने कुरा शुक्रबार बोलाइएको स्थायी कमिटी बैठक सकिएपछि अनुमान गर्न सकिनेछ ।



  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार २२:१४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया