सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समय देखिएको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छी ‘कम्मर कसेर’ लागेकी छिन् । यही उनको कसरतका कारण हुनुपर्छ, बिहीबार अपराह्न उनी अकास्मात परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्न पुगिन् ।
परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ राजदूतको भेटघाटको कार्यक्रम यसअघि तय भएको थिएन । त्यसैले बिहीबार अकास्मात् भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । विशेष गरि पछिल्लो समय नेकपा विवाद र परराष्ट्रमन्त्री ज्ञवालीको केही समयअघि अमेरिकी विदेशमन्त्रीसँग भएको टेलिफोन सम्पर्कका कारण यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको हो ।
परराष्ट्रमन्त्री ज्ञवालीको सचिवालयका एक सदस्यले यो भेटघाट भएको फरकधारसँग पुष्टि गरेका छन् ।
तर, उनले यो भेटघाटमा के कुराकानी भयो वा किन अकस्मात् यी दुईबीच भेट भयो भन्नेबारे केही खुलाउन चाहेनन् ।
त्यसो त केही दिन यता राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुलाई भेट्ने क्रम बढाएकी छिन् । केहीअघि माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाललाई भेटिसकेकी यान्छीले परराष्ट्रमन्त्रीसँग भेटघाट गर्नुलाई नेकपाभित्र पनि विशेष महत्वका साथ लिइएको छ ।
यो भेटमा के विषयमा छलफल भयो भन्ने नखुलाइए पनि यो भेटको सार नेकपामा बढ्दो विवादलाई मत्थर गर्न भएको हुनसक्ने अनुमान गरिएको छ । नेकपामा शक्ति संघर्षका कारण देखिएको विवादमा बेइजिङले स्थिरता चाहेको सन्देश पठाएको पछिल्लो समय नेकपाका नेताहरुले विश्लेषण गर्न खोजेका छन् ।
चिनियाँ राजदूत यान्छीले यही कारण पनि आफ्नो सक्रियता बढाएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।