गत आवको ११ महिनाको आर्थिक परिदृश्य : केही सकारात्मक, केही निराशाजनक
सुधारिँदै वैदेशिक व्यापार, घट्दो विप्रेषण


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ११ महिनाको रिपोर्टअनुसार नेपालको आर्थिक परिदृश्य केही सकारात्मक तथा केही निराशाजनक देखिउको छ । ११ महिनाको तथ्यांकअनुसार अर्थतन्त्रका केही सूचक नकारात्मक रहे पनि केही सूचकहरू भने सकारात्मक देखाएका छन् ।

 

नेपाली अर्थतन्त्रको प्रमुख आधार मानिने रेमिट्यान्स आप्रवाहमा कमी आएको छ भने उपभोक्ताको भान्सा केही सस्तिएको छ । दाल तथा गेडागुडी, सुर्तिजन्य वस्तु, मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको मूल्य भने बढेको छ ।

 

शोधनान्धर स्थिति सुधार हुँदै गएको भने विदेशी विनिमय सञ्चिति पनि सकारात्मक देखिएको छ । विदेशी मुद्रा पर्याप्त देखिएको छ भने वैदेशिक व्यापारसमेत सुधार हुँदै गएको छ । समग्रमा निर्यात झिनो अंकले बढेको छ । भारतसँगको मात्रै तथ्यांक हेर्ने हो भने ११ महिनाको अवधिमा निर्यात ११ प्रतिशतले बढेको छ ।

 



कोभिड–१९ संक्रमण नियन्त्रणका लागि अपनाइएका विभिन्न उपायहरूका कारण आर्थिक गतिविधि प्रभावित भएको राष्ट्र बैंकले बताएको छ । 

११ महिनामा विप्रेषण आप्रवाहमा ३ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक तथा वित्तीय स्थितिबारे ११ महिनाको रिपोर्ट सार्वजनिक गर्दै रेमिट्यान्स ३ प्रतिशतले कमी आएको जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।



अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने १२.४ प्रतिशतले कमी आएको राष्ट्र बैंकले बताएको छ । 


अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ३५.७ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।


२०७७ जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ४.५४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ६.१६ प्रतिशत रहेको थियो । जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.४१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ३.८७ प्रतिशत रहेको छ । यस महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी, सुर्तिजन्य वस्तु, मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

 

११ महिनाको अवधिमा व्यापारघाटामा सुधार आएको छ । आर्थिक वर्ष २०७६÷७७ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १६.४ प्रतिशतले घटेर १० खर्ब १२ अर्ब ८१ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा १७.२ प्रतिशतले वृद्धि भएको थियो । 

 

यस अवधिमा निर्यात–आयात अनुपात ८.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.८ प्रतिशत रहेको थियो ।

 

गत आर्थिक वर्षको एघार महिनामा कुल वस्तु निर्यात ०.२ प्रतिशतले वृद्धि भई रु.८८ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १९.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ११.२ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४२.१ प्रतिशत र १८.३ प्रतिशतले घटेको छ ।

 

वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लाष्टिकका भाँडा, एम.एस. पाइप लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, ऊनी गलैंचा, तयारी पोशाकलगायतका वस्तुको निर्यात घटेको छ ।

 

एघार महिनामा कुल वस्तु आयात १५.३ प्रतिशतले घटेर रु.११ खर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.३ प्रतिशत, ९.० प्रतिशत र ४.१ प्रतिशतले घटेको छ ।

 

वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने सुन, एमएस बिलेट, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

 

निर्याततर्फ बीरगंज र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।


विदेशी मुद्रा सञ्चिति करिब २६ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६÷७७ को ११ महिनामा कुल विदेशी विनिमय सञ्चिति २५.८ प्रतिशतले बढेको हो ।


समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको छ ।

एक देशको अन्य देशबीच हुने वित्तीय लेनदेनको हिसाव नै शोधनान्तर हो । ब्यापार घाटाजस्तै देशबाट बाहिरिने पैसाको तुलनामा भित्रिने पैसा बढि भएमा शोधनान्तर बचत हुन्छ, कम भए घाटा हुन्छ । चालु खाता घाटा पनि सुधार हुँदै गएको छ ।
 

  • प्रकाशित मिति : साउन २, २०७७ शुक्रबार १५:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया