निजी विद्यालयहरूले १ साउनदेखि बन्द गरेको अनलाइन कक्षालगायत वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग सरोकारवालाले गरेका छन् ।
विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षासमेत सञ्चालन नगर्दा विद्यार्थीलाई सिकाइबाट वञ्चित हुने तर्क गर्दै सरोकारवालाले जतिसक्दो चाँडो अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने माग गरेका हुन् ।
कोरोना भाइरसका कारण देशको सबै क्षेत्र अस्तव्यस्त भएको र सबैभन्दा बढी शिक्षा क्षेत्रमा असर परेकाले यो क्षेत्रको समस्या समाधानको लागि राज्य जिम्मेवार हुनुपर्ने सरोकारवालाको भनाइ छ ।
अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले भने, ‘ विकल्प नै नभएको अवस्थामा प्रभावकारी भएन भनेर हल्ला गर्नुभन्दा पनि अब कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्नुपर्छ ।’ विद्यालय सञ्चालकले सरकारसँग वार्ता गर्नुभन्दा पनि अभिभावकसँग समाधानका लागि छलफल गर्नुपर्ने उनको भनाइ छ ।
अनेरास्ववियुका संयोजक ऐन महरले निजी विद्यालयले अहिले अनलाइन कक्षा बन्द गरेर उदासिनता देखाएको आरोप लगाए । निजी विद्यालय सञ्चालकले राखेका कतिपय माग संवेदनशील रहेकाले समस्या समाधानका लागि राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
कोभिड–१९ को महामारीका कारण देश नै ठप्प रहेको र सबैभन्दा अस्तव्यस्त क्षेत्र शिक्षा भएको बताउँदै नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले विद्यालयले अनलाइन कक्षा तत्काल सुचारु गर्नुपर्नेमा जोड दिए ।
प्याब्सनका महासचिव कुमार घिमिरेले आफूहरुले राज्यसँग सहुलियत मागे पनि कुनै सुनुवाइ नभएकाले वाध्य भएर कक्षा बन्द गर्नुपरेको गुनासो गरेका छन् ।
एनप्याब्सनका महासचिव सुवास न्यौपानेले अनलाइन कक्षा बन्द गरेर आफूहरुले अप्रिय निर्णय लिएको भन्दै यसलाई बाध्यात्मक परिस्थितिको रुपमा बुझ्न आग्रह गरेका छन् ।
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले विद्यालय सञ्चालकले चैतभन्दा अगाडिदेखि नै शिक्षकलाई तलबभत्ता नदिएको आरोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।