ओलीको प्रस्तावमा प्रचण्ड सकारात्मक
फाइल तस्वीर ।

पछिल्लो केही समय यता चरम उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद अब केही मत्थर हुने संकेत देखिएको छ । शनिबार साँझ भएको सचिवालय बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएपछि अहिलेको नेकपा विवाद अब मत्थर हुने सम्भावना बढेको छ ।

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्ड एकअर्काका प्रस्तावमा सकारात्मक भए पनि यस विषयमा माधवकुमार नेपाल समूहको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

शनिबार अचानक र आकस्मिक रुपमा बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन यसअघि तोकिएको समयभन्दा अगाडि नै गर्ने प्रस्ताव गरेका थिए । तर, यही विषयमा उनले शनिबार नै अर्का अध्यक्ष प्रचण्डसँग भएको चार घन्टा लामो कुराकानीमा पनि राखेका थिए । 

ओलीको यो प्रस्तावमा प्रचण्ड सकारात्मक भएपछि अहिले देखिएको नेकपाको पार्टी विवाद अब मत्थर हुनसक्ने अनुमान गरिएको छ । तर, यसलाई पार्टीमा स्थायी कमिटी बैठक र माधव नेपाल समूहले कसरी लिन्छ भन्ने हेर्न बाँकी नै छ । 

यसअघि गत वैशाखमा पनि अन्तिम समयमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा पार्न सफल भएका ओलीले यसपटक प्रचण्डलाई नै आफ्नो पक्षमा लिएका छन् । ‘दुई अध्यक्षको वार्ता सकारात्मक भएपछि अब उत्पन्न विवाद अन्त्य हुने निश्चित भएको छ, यो हाम्रो पार्टीका लागि राम्रो हो,’ नेकपाका एक स्थायी कमिटी सदस्यले फरकधारसँग आइतबार विहान टेलिफोन सम्पर्कमा भने, ‘यसले अब पार्टी र सरकारलाई पनि थप बलियो बनाउने अनुमान हो ।’

शनिबार भएको सचिवालय बैठकमा चाहिँ ओलीले पहिले आफ्नो धारणा राखेका थिए । उनले सचिवालय बैठकको सुरुवातमा नै पार्टीमा महाधिवेशनको कुरा निकाले । 



त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बैठकमा आफू अध्यक्ष ओलीको प्रस्तावमा सकारात्मक भएको बताए ।

उनीनिटक एक नेतासँग आइतबार विहान फरकधारले कुराकानी गर्दा पनि प्रचण्ड अहिले प्रधानमन्त्री हुन नआत्तिने बताएका छन् । ‘आलोपालो प्रधानमन्त्री भन्ने जुन सहमति भएको थियो,’ उनले भने, ‘त्यसबाट प्रचण्ड कमरेड ब्याक हुनु भएको छ । पार्टीलाई फुटबाट जोगाउनका लागि पनि यो आवश्यक थियो र अब महाधिवेशनले नै पार्टीको नेतृत्व तय गर्ने भएको छ । यो सकारात्मक कुरा हो ।’



  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार ८:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया