विश्व महामारी बनेको कोरोनाभाइरस (कोभिड १९)विरुद्धको भ्याक्सिन निर्माणमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयलाई ठूलो सफलता मिलेको छ । विश्वविद्यालयले विकास गरेको एक कोरोनाभाइरस भ्याक्सिन मानिसका लागि सुरक्षित पाइएको छ ।
विश्वविद्यालयले मानिसमा गरेको परीक्षणमा के पाइएको छ भने यो भ्याक्सिनका कारण मानिसमा कोरोनाभाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता विकास हुने गरेको छ ।
कोभिड १९ महामारीविरुद्ध विश्वभर काम भइरहेको भ्याक्सिन निर्माणमा यो एउटा ठूलो सफलता हो । अक्सफोर्डले यो परीक्षणमा १ हजार ७७ जनालाई समावेश गरेको जनाएको छ ।
मानिसमा भएको परीक्षणमा जसलाई यो भ्याक्सिन लगाइएको थियो, उनीहरुको शरीरमा कोरोनाभाइरसँग लड्नका लागि ह्वाइट ब्लड सेल र एन्टीबडी विकास भएको प्रमाण भेटिएको हो । तर, अहिले नै यो भ्याक्सिनका कारण संक्रमण पूरै रोक्न सकिन्छ भन्न सकिएको छैन ।
अक्सफोर्ड विश्वविद्यालयले भने अहिले आएका नतिजाबाट आफूहरु खुसी भएको जनाएको छ । उसका अनुसार यो भ्याक्सिनको अब अझ ठूलो स्तरमा मानिसहरुमाथि परीक्षण गरिने भएको छ ।
बेलायत सरकारले चाहिँ यो भ्याक्सिनको १० करोड डोज अर्डर गरिसकेको छ ।
यो भ्याक्सिनलाई सिएचएडओएक्सवान एनकोभ १९ नाम दिइएको छ । र, यसलाई निकै रफ्तारमा विकास गरिएको छ । यो भ्याक्सिनलाई जेनेटिकल्ली इन्जिनियर्ड भाइरसको मद्दतबाट तयार गरिएको हो ।
यो भ्याक्सिन पूर्णरुपमा सुरक्षित भएको बताइएको छ । तर, यसका साइड इफेक्ट्स नभएका होइनन् । तर, साइड इफेक्ट्सहरु त्यति खतरापूर्ण नभएको विश्वविद्यालयले बताएको छ । भ्याक्सिन लगाएका ७० प्रतिशतमा ज्वरो आउने र टाउको दुख्ने लक्षण चाहिँ देखिएको छ ।
तर, यसलाई त प्यारासिटामोलबाट नै समाधान गर्न सकिने पनि शोधकर्ताहरुले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।