सञ्चारमाध्यमको लगानी पारदर्शी गर्न लागेका छौँः सञ्चारमन्त्री खतिवडा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा भएको छलफलमा डा. खतिवडाले सबैभन्दा बढी सरोकार भएको क्षेत्र सञ्चार भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाउन  थालिएको बताए ।

उनले कोभिड–१९ का कारणले सञ्चारमाध्यम ‘मध्यम’ रुपमा प्रभावित भएको भन्दै सहुलियतपूर्ण कर्जा, ब्याज तिर्ने अवधि बढाउने जस्तो राहत मौद्रिक नीतिबाट ल्याइएको बताए । ‘‘कोभिड–१९ का कारणले सञ्चारमाध्यम मध्यम रुपमा प्रभावित भएको छ,’ उनले भने, ‘‘कोभिड–१९ का कारण देखाउँदै सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई कामविहिन बनाउन हुँदैन । रोजगारदाता र श्रमिक मिल्नुको विकल्प छैन ।’

उनले सञ्चारमाध्यमलाई पनि कानुनी रुपमा उद्योगका रुपमा परिभाषित गरिएकाले  सञ्चारमाध्यममा देखिएका समस्या श्रम, अर्थ र सञ्चार मन्त्रालय बसेर टुङ्ग्याइने बताए । कोभिड–१९ का कारण सरकारले चैत महिनामा पूरै र वैशाख महिनाको ५० प्रतिशत र बाँकी तलब पछि दिने भनेर निर्देशन दिएको भन्दै उनले कतिपय सञ्चारमाध्यमले विज्ञापनको पैसा पाउन नसकेर समस्या आएको हुन सक्ने बताए । 

‘साउन महिनापछि पहिलेकै अवस्थामा फर्कनेछौँ, त्यसपछि धेरै क्षेत्रलाई अब सामान्य ढंगबाट सञ्चालन गर्ने तयारीमा छौँ,’ उनले भने, ‘त्यसपछि सञ्चारमाध्यम पनि सहज चल्न सक्दछन् र श्रमजीवी पत्रकार कटौती गर्ने अवस्था आउनेछैन ।’

सञ्चारमन्त्री डा. खतिवडाले सञ्चारमाध्यममा श्रमजीवी पत्रकारलाई पारिश्रमिकको समस्या आउने भनेर नै सामाजिक सुरक्षा कोष ल्याइएको जानकारी दिए । उनले चाँडै नै विज्ञापन बोर्डको गठन गरेर लोककल्याणकारी विज्ञापन निष्पक्ष ढंगले वितरण गरिनेसमेत जानकारी दिए । 





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार १८:३५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया