‘अबको तीज, नो ब्रत प्लिज’ भन्ने सोफिया आफैं बस्छिन् तीजमा व्रत

हजारौँ नेपाली हिन्दू नारीहरुमा सोफिया थापा अपवाद होइनन् । हजारौँ नेपाली नारीहरुले जस्तै सोफिया थापा पनि तीजमा व्रत बस्छिन् ।

तर, यसपटक यही व्रतकै कारण सोफिया ‘लाइम लाइट’मा आएकी छिन् । बस्न त उनले वर्षौदेखि तीजमा व्रत बसेकी छिन् । तर, यसपटक उनले सार्वजनिक रुपमा अपिल गरेकी छिन्– अबको तीज, नो ब्रत प्लिज । र, युट्युबमा सार्वजनिक भएको केही घन्टामा नै यो तीज गीतले निकै चर्चा पाएको छ ।

चर्चा पाउनुको कारण हो– सोफियालाई धम्की ।

गीत गाएकै कारण सोफियालाई नेपाल हिन्दू जागरण अभियानले आइतबार यता बारम्बार धम्की दिइरहेको छ, गाली गरिरहेको छ । हिन्दू जागरण अभियानका अभियन्ताहरुले भिडियो नै सार्वजनिक गरेर सोफिया र यो गीतविरुद्ध आफ्नो धारणा राखेका छन् ।

तर, सोफियाले गीत हटाएकी छैनन् । हटाउने पक्षमा पनि छैनन् ।

मंगलबार दिउँसो फरकधारसँगको टेलिफोन सम्पर्कमा आएकी सोफियाले भनिन्, ‘आज विहान त मलाई गीत तत्काल नहटाए भौतिक क्षति नै हुने धम्की आयो ।’



यो चेतावनी आएपछि विक्षिप्त त भएकी छिन् सोफिया, सँगसँगै यसलाई समर्थन गर्नेहरुबाट पाएको हौसलाका कारण झन् बलियो मन लिएर पनि उभिएकी छिन् । 

‘हो, मलाई बारम्बार धम्की आइरहेको छ, भौतिक क्षति पनि हुन्छ, तयार भएर बस्नु भन्नेसमेतका मेसेज र कल आएका छन्,’ सोफियाले भनिन्, ‘उहाँहरु मलाई क्रिश्चियन भएको र उनीहरुको पैसा खाएर यो गीत गाएको भन्दै हुनुहुन्छ ।’



के सोफिया साँच्चिकै क्रिश्चियन हुन् त ? 

‘होइन, म पनि हिन्दू कुलमा नै जन्मिएकी हुँ, हिन्दु नै हुँ,’ सोफियाले भनिन् । 

गीतमा तीजको व्रत नबसे पनि हुने सन्देश दिन खोजेकी सोफिया वास्तवमा चाहिँ प्रत्येक मंगलबार आफू व्रत बस्ने गर्छिन् । ‘त्यति मात्र होइन, म त शुद्ध शाकाहारी पनि हुँ,’ उनले भनिन्, ‘गीत त गाएँ, तर म आफैं पनि तीजमा व्रत बस्छु ।’

तर, सोफियालाई नेपाली महिलाले तीजमा श्रीमानको खुट्टाको पानी खाने चलन चाहिँ मन पर्दैन । त्यसैले पनि हुनुपर्छ, उनी आफैंले लेखेको र गाएको यो गीतमा सन्देश दिन खोजेकी छिन्– महिला र पुरुष बराबरी हुनुपर्छ ।

बा, हजुरबुबादेखिका प्रसंग निकाल्दै सोफियाले भनिन्, ‘हाम्रो घर धर्ममा विश्वास गर्ने घर हो, म त्यही संस्कारमा हुर्किएकी हुँ ।’

अनि उनले धर्म र संस्कृति कसैको पेवा नभएको र धर्मको रक्षा गर्न आफू कटिवद्ध भएको प्रतिबद्धता पनि सुनाइन् । तर, उनी चाहन्छिन्, धर्मका नाममा जन्मिएका अन्धविश्वास र नराम्रा संस्कारलाई चाहिँ चिर्दै जानुपर्छ । यही विश्वास र उनको प्रतिबद्धताको प्रतिफल हो– अबको तीज, नो व्रत प्लिज ।

‘नराम्रा कुरालाई सुधार्दै जानु पर्छ भन्ने मेरो मान्यता हो,’ सोफियाले फरकधारलाई भनिन्, ‘मलाई अहिले धम्की दिनेहरुले के बुझ्नु पर्छ भने हिन्दु धर्म जति उहाँहरुको हो, मेरो पनि त्यति नै हो । धर्मको रक्षा उहाँहरुले मात्र गर्ने होइन, म पनि त्यति नै जिम्मेवार छु ।’

 

किन धम्की दियो हिन्दू जागरणले ?

सोफियाको यो गीतको चर्चा सामाजिक सन्जालमा त्यति बेला चुलियो जब हिन्दू जागरण नेपालको नाममा एउटा विज्ञप्ति छापियो । विज्ञप्तिमा यो गीतलाई तत्काल हटाउन भनिएको थियो । 

हामीले हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायलाई सोध्यौँ– धर्मको रक्षा गर्न गीतमाथि प्रतिबन्ध लगाउने, गायकलाई धम्की दिने कति ठिक हो ?

‘हामी त अहिंसा र शान्तिमा विश्वास गर्ने मानिस हौँ,’ उनले भने, ‘हामीले कसैलाई पनि भौतिक क्षति पुर्याउँछौँ भनेका छैनौँ, यो निराधार र झुटो हो ।’

उनले त हिन्दू महासंघ वा आफूहरुले गायिका सोफियालाई भौतिक क्षति गर्ने नियत पनि नराखेको बताए । 

‘त्यस्तो हुन्थ्यो भने,’ उनले भने, ‘हामीले किन उहाँहरुलाई गीत हटाइदिनुहोस् भनेर अनुरोध गथ्र्यौँ त ?’

आखिर यो गीत हटाउन किन आवश्यक छ त ?

उपाध्यायको धारणा यसमा प्रष्ट छ, ‘उहाँले तीजमा व्रत नबसौँ भन्नु भएको छ, यसले तीजको मौलिकतालाई नै असर गरेको छ । तीजको मौलिकता र महत्व भनेको नै ब्रत हो, उहाँले अरुलाई व्रत नबस्नु भन्न मिल्छ ?’

यही आधारलाई मानेर उपाध्याय भन्छन्– हामी अब कानुनी बाटो रोज्दै छौँ, यो गीत नहटे मुद्दा हालेर हामी अगाडि बढ्छौँ ।

पछिल्ला वर्षमा हिन्दू धर्ममाथि आक्रमण भइरहेको र यसको रुप र सार एउटै भएको भन्दै यसलाई अन्त्य गर्नका लागि पनि यो गीतमाथि आफूहरुले एक्सन लिने उपाध्यायले बताउँछन् ।

 

 

के सोफियाले हटाउलिन् गीत ?

हिन्दू जागरले कानुनी बाटो लिन्छौँ भनेर चेतावनी दिएको गायिका सोफियालाई पनि राम्रोसँग थाहा छ । उनलाई फोन गर्नेहरुले दिएको धम्की पनि त्यही छ । 

तर, के उनले गीत हटाउलिन् त ?

‘हटाउँदिनँ,’ सोफियाले स्पष्ट पारिन्, ‘मैले यो गीत आफूलाई चित्त नबुझेको विषयमा गाएकी हुँ, लेखेकी हुँ र मलाई थाहा छ मैले कुनै गल्ती गरेकी छैन । त्यसैले गीत हटाउँदिनँ ।’

बरु उनी पनि कानुनी उपचारको बाटोमा अगाडि बढ्न तयार छिन् । अहिले पनि धम्कीहरु आउन थालेपछि उनले प्रहरीलाई खबर गरेकी छिन्, सुरक्षा पाउँ भनेर प्रहरीमा निवेदन दिएकी छिन् ।

‘मेरो उहाँहरु (हिन्दू जागरण अभियान)प्रति कुनै रिसराग छैन,’ सोफियाले भनिन्, ‘तर, यसरी नै ममाथि आक्रमण भइरहने हो भने म उहाँहरुविरुद्ध प्रहरीमा उजुरी दिनेछु ।’

अर्चना थापाको टिप्पणीः सोफियालाई धम्क्याउने हिन्दू नै होइनन् !

लेखक अर्चना थापा पछिल्लो समय गीतकै कारण सोफियालाई धम्की आइरहेको छ भन्ने सुनेपछि आश्चर्यमा परेकी छिन्, अचम्म मानेकी छिन् । किनकि उनलाई हिन्दू धर्म उदार भएको र गीतकै कारण हिन्दू धर्म मान्ने हुँ भन्नेहरुले धम्की दिनै नसक्ने लाग्छ । 

‘सोफियालाई यो विषयमा धम्क्याउने र चरित्र हत्या गर्नेहरु वास्तवमा हिन्दू नै होइनन्,’ उनले भनिन्, ‘यो तानाशाही अतिवादी फेक हिन्दूहरुको काम हो ।’

यसमा नेपालीहरुले पनि कतै भारतबाट तानाशाही फेक हिन्दूहरुबाट नै सिकेका त होइनन् भन्ने लाग्छ, थापालाई । ‘अहिले भारतमा अतिवादी हिन्दूहरुको लहर छ,’ उनले भनिन्, ‘कतै हामीले पनि त्यहाँबाट नै सिकेका त होइनौँ ?’

नेपालमा जरा गाडेर रहेको पितृसत्तात्मक सोचका कारण महिलाहरु बारम्बार प्रताडित हुन परेको र अहिले सोफियामाथि यस्तो आक्रमण भएको उनको बुझाइ छ । 

‘सरिता गिरी, दीपाश्री निरौला, पिठ्युँ देखिने गरी कपडा लगाएकी महिला कर्मचारी र अहिले सोफिया सबैलाई यही चिन्तनले पीडित बनाएको हो,’ उनले भनिन्, ‘अहिले त महिलाले केही बोल्नै नहुने भएको छ । बोल्यो जाई लाग्न आइहाल्छन् ।’

थापाले चर्चामा आएकाले यो गीत सुनेकी छिन् । र, उनलाई गीतका कुनै पनि शब्द आपत्तिजनक लागेको छैन, बरु उनलाई गीत निकै मन परेको छ । 

‘यो समाजलाई सोफियाजस्ता प्रगतिशील चेत भएका नागरिकहरुको आवश्यता छ,’ थापाले भनिन्, ‘पहिला कोमल वली तीजका गीत गाउँदा पनि यस्ता विवादहरु आउँथे । विवाद आए पनि उनका गीतलाई धेरैले मन पराउँथे ।’

 

अब कोमल वलीको धारणा 

तीजको गीतको प्रसंग आएपछि केही वर्ष यता प्रत्येक तीजमा नछुट्ने नाम हो, कोमल वली । नेपाल कम्युनिस्ट पार्टीबाट अहिले राष्ट्रिय सभा सदस्यसमेत रहेकी ओलीका तीज गीत अहिले पनि चर्चामा छन् । 

तीज गीतै प्रसंगमा लेखिका थापाले वलीको नाम लिइन् । 

हामीले वलीलाई सोध्यौँ, ‘पहिले तपाईंका तीज गीत विवादमा आउँथे, अहिले सोफिया थापाको गीत विवादमा छ, तीज गीत किन विवादमा आइहाल्छन् ?’

सबैभन्दा पहिले त कोमल वलीलाई आफ्ना गीत विवादमा नआएको भन्ने लाग्छ । ‘मेरा गीत विवादमा आएका थिएनन्,’ उनले भनिन्, ‘धेरै चर्चा भएका चाहिँ हुन् ।’

त्यसपछि अहिले चर्चामा रहेको सोफियाको गीतबारे कोमल वलीले आफ्नो धारणा बताइन् । ‘उहाँ तीजमा व्रत बस्नुहुन्छ, हुन्न मलाई थाहा भएन तर उहाँले आफ्नो गीतमा आफूलाई लागेको भावना चाहिँ सेयर गर्न पाउनु पर्छ,’ वलीले भनिन्, ‘गीत मनको भावना हो । यत्ति हो, हामीले कहिलेकाहीँ गीतको नाममा अरु सबैको आस्थामाथि चोट चाहिँ पुर्याउनु पनि हुँदैन ।’

तीज गीत आएकै भरमा सोफियालाई गरिएको धम्की चाहिँ वलीलाई पनि फिटिक्कै मन परेको छैन ।

  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार २३:१६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया