चितवनका दुई नदीमा पाँचजनाको शव फेला

चितवन– जिल्लामा रहेका दुई ठूला नदीमा पाँचजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चारजनाको र राप्ती नदीमा एकजनाको शव फेला परेको हो । 

वर्षा रोकिएर नदीको बहाव घटेसँगै किनारमा तैरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार भरतपुर महानगरपालिका–१ ठिमुरामा दुईजनाको बेवारिसे शव फेला परेको छ । 

तीमध्ये एकजना अन्दाजी १५ वर्षीया बालिका र अर्का ५५ वर्षीय एक पुरुष रहेको छ । ती शव सडेको अवस्थामा फेला परेका हुन् । त्यस्तै, भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय सानो कान्छा भन्ने कर्णबहादुर सुनारको शव आज फेला परेको छ । मङ्गलबारदेखि उनी बेपत्ता भएका थिए । उनको वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा शव भेटिएको हो । 

भरतपुरकै वडा नम्बर १ गैँडाचोकस्थित नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको शव फेला परेको छ । त्यस्तै, पूर्वी चितवनको खैरहनी नगरपालिको बूढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको उनले जानकारी दिए । बग्दै गरेको शव देखिएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले नदी बाहिर निकालेका थिए । एकजनाबाहेक अन्यको सनाखत हुन सकेको छैन । 

विभिन्न ठाउँमा बगाएको वा पुरेको ठाउँबाट बाढीले शव बाहिर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । मुचुल्का गरेर शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रवक्ता थापाले जानकारी दिए ।





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार १९:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया