‘सामाजिक सन्जाल एमसिसी जस्तै हो, नेपालमा बाँदरको हातमा नरिवल भएको छ’
सबै तस्वीर: फरकधार

दैनिक पत्रिकाका पानाहरुमा मात्र होइन, आजभोलि पत्रकार तथा लेखक किशोर नेपाल ‘छरपस्ट’ भेटिन्छन् सामाजिक सन्जालमा पनि । अनि सामाजिक सन्जालमा पत्रकार नेपालका मात्र स्टाटस होइनन्, उनको आलोचना गरिएका पोस्ट र विषयले पनि चर्चा पाइरहेको छ । 

पछिल्लो समय रुकुममा जातीय विभेदका कारण भएको घटनामा किशोर नेपाल सामाजिक सन्जालमा आलोचनाको शिकार बने, उनीविरुद्धका पोस्टहरु बर्गेल्ती भेटिए । यसको कारण थियो, किशोर नेपालले कान्तिपुर एफएममा दिएको एक अन्तर्वार्ता ।

अन्तर्वार्तामा नेपालले जे भनेका थिए, त्यसको विरोधमा अहिले पनि केही युवाहरुले सामाजिक सन्जालमा टिप्पणी गरिरहेका छन् । नेपालका पछिल्ला स्टाटसहरुलाई पनि केही युवाहरुले ‘तारो’ बनाइरहेका छन् ।

आखिर यस्ता आलोचना र टिप्पणीलाई कसरी लिन्छन् त नेपाल ? 

यो प्रश्न अगाडि नेपाललाई हामीले सोध्यौँ– के तपाईं आफ्नो स्टाटस र आफूबारे आएका प्रतिक्रिया पढ्नुहुन्छ ?

‘पढ्छु,’ नेपालले भने, ‘प्रतिक्रिया आएन है भनेर गुनासो गरेर पनि लेखिरहेको छु ।’ त्यसपछि एक लट हाँसे उनी । अनि भने, ‘मान्छेहरु खाली लाइक गर्छन्, लभ गर्छन् अनि अरु रियाक्ट गर्छन् । खास अन्तर्यमा पुगेर आफूलाई लागेको कुरा लेख्दैनन् ।’



यसको अर्थ के होइन भने किशोरका स्टाटसमा प्रतिक्रिया नै आएका हुँदैनन्, आएका प्रतिक्रिया र आलोचनालाई उनी राम्रोसँग पढ्छन् । ‘कामै पढ्ने हो, पढ्नु पर्यो नि,’ किशोरले भने ।

त्यसो हो भने त्यो रुकुम घटनाबारे तपाईंको अन्तर्वार्ता आएपछि आएका प्रतिक्रिया पनि पढ्नुु भयो त ? 



किशोर नेपालले यो प्रश्न सुनेपछि एकछिन गमे, अनि अलिक चर्को स्वरमा भने, ‘पढेँ ।’

केही सेकेन्ड चुप भए, नेपाल । त्यसपछि भने, ‘त्यसमा मेरो अभिप्रायको फरक अर्थ लगाइयो । मैले त त्यो घटनामा प्रयोग भएको नरसंहार शब्दमाथि प्रश्न उठाएको थिएँ, नरसंहार भारी शब्द हो भनेर त्यो शब्द प्रयोग नगरौँ भनेको मात्र थिएँ ।’

‘६ जना मर्दा पनि नरसंहार, तीस हजार मर्दा पनि नरसंहार, रुवान्डामा लाखौँ मानिस मारिँदा पनि नरसंहार, कम्बोडियामा त्यति धेरै मानिस मारिँदा पनि नरसंहार ?’ किशोर नेपालको प्रश्न छ, ‘जे घटनालाई पनि नरसंहार भन्नु भएन भन्ने मात्र मेरो भनाइ थियो ।’

त्यति बेला जब किशोर नेपालको अन्तर्वार्ता एफएममा प्रसारण भएको थियो, सामाजिक सन्जालमा उनको विरोधमा निकै धेरै आवाज सुनिए । नसुनियोस् पनि किन, देशलाई तताएको यो घटनामा किशोर नेपालले स्थलगत अध्ययन गरिरहेका छौँ भनेका थिए । 

‘मैले त निर्मम हत्या भनेकै थिएँ, त्यसमा कुनै शंका नै थिएन,’ नेपालले भने, ‘त्यति बेला मैले उनीहरुलाई सडकमा मारिएर फालिएको हो कि नदीमा हाम्फालेर मरेका हुन् भन्नेबारे अध्ययन गरिरहेको छु भनेको थिएँ ।’

यति भनिसकेपछि किशोर नेपालले एक सिप कालो कफी पिए । कफी कपको छेवैमा रहेको पानीको गिलासलाई देब्रेतिर सारे । अनि भने, ‘तर, मेरो कुरा सामाजिक सन्जाल चलाउनेहरुले बुझेनन् । उनीहरु त हाम्रो समुदायमा यति ठूलो हत्या हुँदा नरसंहार नमान्ने भनेर ममाथि खनिए ।’

सामाजिक सन्जालमा यसलाई सुक्ष्मरुपमा हेरिरहेका किशोरले यसलाई तन्काउन चाहेनन् । ‘चर्काउन चाहेको भए, सक्थेँ,’ किशोरले भने ।

त्यसका लागि किशोरको अस्त्र हो– दलित समुदायभित्रै हुने विभेद !

‘दलित भित्रै कोही मधेशी दलित छन्,’ उनले भने, ‘कोही पहाडे । त्यहाँ पनि कसैले आफूलाई ठूलो जाति मान्छन्, त्यहाँभित्रै नै एउटाले छोएको अर्को नखाने भन्ने पनि नभएका होइनन् ।’ तर, अहिले यो कुरा नउठेकोमा किशोर नेपाललाई दुःख छ ।

उनी त बरु आफूले रुकुम घटनामा पनि पीडितलाई साथ दिएको मान्छन् । ‘मैले त घटनामा मारिएकाको परिवारलाई राहत दिनुपर्छ भनेकै थिएँ,’ उनले सम्झिए, ‘प्रदेशका मुख्यमन्त्रीलाई समेत भेटेको थिएँ, तर यो कुरा पनि मैले प्रचार गर्न चाहिनँ, प्रचार गरिनँ ।’

रुकुमको घटना र त्यसमा किशोर नेपालले दिएको प्रतिक्रियाले जस्तो तरंग सिर्जना गर्यो, त्यसले किशोर नेपाललाई एउटा निष्कर्षमा पुर्याएको चाहिँ छ । त्यो हो– सामाजिक सन्जाल हामीले चलाइरहेका छैनौँ, समाजिक सन्जालले हामीलाई चलाइरहेको छ ।

ट्विटर र फेसबुक दुवैमा सक्रिय किशोर नेपालले लेखेका स्टाटस पनि पछिल्लो समय बारम्बार आलोचित हुँदै आएका छन् । एउटा सन्दर्भ हो, नेपालमा नागरिकता विधेयकको विषयमा । यसमा किशोरले लेखेका थिए, ‘मधेशका नेपालीसँग बिहे गरेर भित्रिएका बुहारीलाई अमेरिकाको जस्तो ग्रिनकार्ड दिए त भैहाल्यो । ग्रिनकार्ड भनेपछि आकर्षण पनि बढ्ने । उनीहरुले योग्यताअनुसारको काम गर्ने अवसर पनि पाउने । यता, अवसरको त्यति दुःख पनि छैन । बिहान दूध र तरकारी, साँझ पानीपुरी बेचेर गुजारा गरे भै गयो ।’

नेपालको यो स्टाटसको कतिसम्म आलोचना भयो भने उनले केही समयपछि नै फेसबुकमा एउटा स्पष्टिकरण छापे । 

आखिर किशोर नेपाल कतिबेला के कुरा सामाजिक सन्जालमा लेख्ने भनेर तय गर्छन् त ?

‘मलाई झोँक चल्यो भने म जुनसुकै विषयमा पनि जेसकुै पनि लेख्छु,’ किशोर हाँसे, ‘देशको अव्यवस्था, झुट, भ्रष्टाचार देखेपछि मलाई झोँक चल्छ ।’

अनि थपे, ‘नारायणकाजीले झुट बोलेको देख्दा मलाई झोँक चल्छ ।’

किशोर नेपाल आफू सामाजिक सन्जाल चलाउँदिनँ भनेर बारम्बार भन्छन् तर केही न केही त्यहाँ लेखिरहेका हुन्छन् । आखिर किन ?

‘किनकि मेरालागि सामाजिक सञ्जाल विशुद्ध व्यापारिक प्रतिष्ठान हुन्,’ किशोर नेपालले भने, ‘फेसबुक, ट्वीटर, इन्स्टाजस्ता सञ्जालहरु ठूलाठूला कर्पोरेसनहरुले चलाउँछन्, तिनीहरु एमसिसी जस्तै हुन् ।’

अमेरिकी मिलेनियम कर्पोरेसन (एमसिसी)को कुरा झिकेपछि नेपाल फेरि राजनीति तिर फर्किए । अनि भने, ‘अहिले कम्युनिस्टहरुले जसरी एमसिसीको विरोध गरिरहेका छन्, तिनीहरुले त सामाजिक सन्जालको विरोध गर्नु पर्ने हो, तर उनीहरु आफू राष्ट्रवादी भएको प्रमाण नै सामाजिक सन्जालमा पो दिइरहेका छन् ।’

किनकि किशोर नेपाललाई राम्रोसँग थाहा छ– सामाजिक सन्जाल हामीले चलाएका होइनौँ, हामी त केवल ‘गोटी’ हौँ, टुल हौँ र सामाजिक सन्जालमा हामी यसै भुलिरहेका छौँ ।

ट्विटरमा २ लाख ७१ हजारभन्दा धेरै फलोअर्स भएका किशोर नेपाललाई के सामाजिक सन्जालका कारण घाटा भएको छ त ? 

‘मलाई त फाइदा पनि भएको छैन,’ उनले भने, ‘घाटा पनि भएको छैन । कोरोना लकडाउनमा सामाजिक सन्जालले राम्रै गर्यो, फेसबुक, ट्विटर चलाएर बसेँ । तर, सामाजिक सन्जालको सदुपयोग होइन, दुरुपयोग गर्नेहरु धेरै छन् ।’

अनि उनले निष्कर्ष निकाले– नेपालमा धेरैका लागि यो बाँदरको हातमा नरिवल जस्तै भएको छ ।

किनकि यसमा भएका गुट र उपगुटबारे राम्रोसँग जानकारी राखेका छन्, किशोरले ।

‘मलाई कसैसँग रिस उठेको छ भने एउटा गुट बनाएर उसलाई खेद्ने गरिएको छ, सामाजिक सन्जालमा,’ किशोर हाँसे, ‘अहिले मेरो विरोध गर्न नेकपाका कार्यकर्ताहरु सक्रिय भइहाल्छन्, अनि मैले एकपटक त लेख्नै पर्यो– आउनुहोस्, अरिंगालहरु आउनुहोस् !’

  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १२:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया