के सामसुम भएको हो नेकपा विवाद ?
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु चैत र वैशाख महिनामा जति उत्साहित र आक्रोशित देखिन्थे, त्यो क्रम साउन लागेसँगै सेलाउँदै गएको छ । अनि यसलाई नेकपाकै नेताहरु अहिले देखिएको नेकपा विवाद सामसुम भएको हुनसक्ने अनुमान गरिरहेका छन् ।

किनकि ११ असारमा सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा जुन आक्रोश र नेतृत्वप्रतिको आलोचना देखिएको थियो, त्यो अब लगभग हटिसकेको छ । शीर्ष नेताहरुले आफू नजिकका नेताहरुलाई अहिले तत्काल आक्रामक सुनिने अभिव्यक्ति नदिन अनुरोध गर्न थालेका छन् ।

पछिल्लो समय नेकपा स्थायी कमिटी बैठकमा नै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग बढ्न थालेको थियो । स्थायी कमिटीका कम्तिमा पनि २० जना नेताहरुले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गर्न थालेका थिए । 

यो माग उत्कर्षमा पुग्न थालेपछि अध्यक्ष ओलीकै चाहनामा नेकपा स्थायी कमिटी बैठक बारम्बार स्थगित गरियो ।

स्थायी कमिटीका सदस्यहरुको मागलाई ‘ब्याकअप’ गरिरहेका थिए नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले । प्रचण्डलाई साथ दिइरहेका थिए, नेकपा सचिवलायका शीर्ष नेताहरु माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र झलनाथ खनालले । 

प्रचण्ड, नेपाल र खनालले सार्वजनिक रुपमा ओलीले राजीनामा दिनुको विकल्प नभएको बताउन थालिसकेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले केही अस्त्रहरु प्रयोग गर्न थाले । उनले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने सम्भावना देखियो । यही कारण नेकपाका नेताहरु केही लचक भए ।



तर, केही दिनअघि सम्म पनि प्रधानमन्त्री र अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने माग प्रचण्ड समूहको थियो । 

अचानक आइतबार यता प्रचण्ड यो मागबाट पछाडि हटेको हुनसक्ने अनुमान गर्न थालिएको छ । एउटा उत्कर्षमा पुगिसकेको नेकपा विवाद एकाएक कसरी फेरि कमजोर भयो ? किन यो विवाद अचानक सामसुम भयो ? 



यसबारे बुझ्न हामीले केही नेकपा स्थायी कमिटीका सदस्यहरुलाई सम्पर्क गर्यौँ । अहिलेको अवस्थामा उनीहरु कसैले पनि पक्ष र विपक्षमा कुरा गर्न तयार थिएनन् । 

‘खुलेर कुरा गर्ने हो भने पार्टी विभाजनका लागि लागिपरेको र भारतीय दलालसम्म भन्न सकिने अवस्था आइपुग्ने भयो,’ नेकपामा प्रचण्डनिकट मानिएका एक स्थायी कमिटी सदस्यले भने, ‘नेकपाको राजनीतिमा यस्तो विडम्बना होला भन्ने हामीले सोचका पनि थिएनौँ । प्रधानमन्त्री र अध्यक्ष ओलीले पार्टी र देश पूरै संकटमा पार्नुभएको छ, उहाँले राजीनामा दिनुको विकल्प छैन । तर, उहाँ आफ्नो राजीनामा माग्ने हामीहरुलाई भारतीय अजेन्डामा चलेको भन्दै हुनुहुन्छ, यसले थप संकट निम्तिएको छ ।’

अर्कोतिर, केपी ओलीनिकट अर्का एक स्थायी कमिटी सदस्य चाहिँ अहिले ओलीलाई समस्यामा पार्नु देशलाई नै समस्यामा पार्नु भएको बुझाइमा छन् । ‘पछिल्लो समय नेपालले नयाँ नक्सा पारित गरेपछि यो विवाद निस्किएको हो,’ उनले भने, ‘नेपालको सार्वभौमसत्तामाथि प्रश्न गर्ने उद्देश्यले भारतले यसलाई बढावा दिएको छ, नेपाली नेताहरु त्यसलाई नबुझी लागिरहनु भएको छ । हामीले बुझ्नु पर्ने कुरा के हो भने ओली कमजोर हुनु अहिलेका लागि पूरै देश कमजोर हुनु हो ।’

एकातिर स्थायी कमिटी सदस्यहरुको बुझाइ यस्तो छ भने अर्कोतिर नेकपाका शीर्ष नेताहरुबीच पछिल्ला दिनमा सहमती हुन सकिरहेको छैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेको ‘अर्ली महाधिवेशन’को प्रस्तावमा प्रचण्ड केही लचिलो देखिएका छन् तर उनले यही अजेन्डामा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई ल्याउन सकिसकेका छैनन् । यही अजेन्डामा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ भने सकारात्मक देखिएका छन् ।

‘ओलीले पछिल्लो पटक प्रचण्डलाई राखेको प्रस्ताव हो– महाधिवेशनबाट एकल अध्यक्ष प्रचण्ड हुने र आफूले पाँच वर्ष नै प्रधानमन्त्री चलाउने,’ प्रचण्डनिकट ती नेताले भने, ‘अहिले तत्काल पार्टी ठूलो समस्यामा नपरोस् भन्नका लागि यो स्वीकार गर्न सकिन्छ कि भन्ने छलफल भएको हो तर अध्यक्ष ओलीले आजभन्दा अगाडि गरिएका कुनै सहमति पनि कार्यान्वयन नगरेकाले यसमा पनि आशंका नजन्मिएका होइनन् ।’

ती नेताले यस्तो दाबी गरे पनि नेकपामा अन्य केही नेताले चाहिँ ओलीको यो प्रस्तावमा आफूहरु लचिलो हुने सम्भावना बढेको संकेत देखाउन थालेको बुझाइ दोस्रो तहका नेताले महसुस गरेका छन् । ‘पार्टी दुर्घटनामा परोस् भन्ने चाहना कसैको पनि छैन,’ नेकपा सचिवालयका एक सदस्यले फरकधारसँग भनेका छन्, ‘त्यसैले अहिले तत्कालका लागि अब विवाद टरेको हो भन्ने बुझ्दा हुन्छ ।’

  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १४:३८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया