निजी विद्यालयले बिहीबारदेखि अनलाइन कक्षा पुनः सुरु गरेका छन् । सरकारले निजी विद्यालयलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि समस्या परेको भन्दै ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संगठनले विज्ञप्ति जारी १ साउनदेखि अनलाइन कक्षा स्थगित गर्ने निर्णय गरेका थिए ।
शुल्क लिन नपाउँदा शिक्षकको तलब सुविधा दिन नसकिने भन्दै शिक्षकलाई समेत बेतलबी बिदा दिने निर्णय निजी विद्यालयले गरेका थिए । सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएसँगै अनलाइन कक्षालगायत बैकल्पिक सिकाइ कृयाकलाप सञ्चालन गरिएको निजी विद्यालयका छाता संगठनले जनाएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालनको कार्यविधि तयारीसहित सरोकार पक्षसँग बुधबार छलफल गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन), नेपाल शिक्षक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) र अभिभावक महासंघसँग परामर्श गरेको थियो ।
शिक्षक र अभिभावकले पनि निजी विद्यालयलाई अनलाइन कक्षा नरोक्न दबाब दिएका थिए । सरकारले जारी गरेको वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ को कार्यान्वयनका लागि गत असार १ गतेदेखि सबै विद्यालयमा वैकल्पिक प्रणालीबाट पढाइ भइरहेको छ ।
कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले पनि आफ्ना क्याम्पस खोल्न थालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।