लेखक तथा सहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्कली राष्ट्रवादीको संज्ञा दिएका छन् ।
पार्टी (नेकपा)को महाधिवेशन आउन लागेकाले ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा जारी गरेर राष्ट्रवादको खेल खेलेको उनको भनाइ छ ।
नेकपा अध्यक्षसमेत रहेका ओलीले भारतले लिएको जमिन फिर्ता गर्न नभएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुख थुन्न मात्र नयाँ नक्सा जारी गरेको संग्रौलाको आरोप छ ।
अझ राष्ट्रवादी देखिन ओलीले टिस्टा–काङ्गडासम्मकै चुच्चो टाँस्न बेर नलगाउने उनले बताएका छन् ।
‘छलछामको सुखभोगमार्गी राजनीतिमा केपी बेजोड । महाधिवेशन मुखमुख आउँदा केपी (ओली)ले नक्सामा सुस्ताको चुच्चो टाँसेर पिके (प्रचण्ड)को मुख थुन्न भन्लान् । कहाँको महान् राष्ट्रवाद, कहाँको पदीय लालसा !’, आज बिहान ट्विट गर्दै संग्रौलाले भनेका छन्, ‘आखिर जमिन फिर्ता गर्नुपर्ने होइन, केपीले नक्सामा टिस्टा–काङ्गडाकै चुच्चो टाँस्न बेर छैन । हैट्, तमासा !’
लेखक तथा साहित्यकार संग्रौला समसामयिक विषयमा चाँडो टिप्पणी गर्नेमा पर्छन् । ओलीप्रति पहिलेदेखि नै आक्रामक रहेका उनी पछिल्लो समय प्रचण्डको समेत आलोचना गर्ने गर्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।