दुर्गेश थापा भन्छन्– म यसअघि गायकै थिइनँ, अब साधना गरेर एक महिनाभित्र अञ्जुु पन्तसँग गीत गाउँछु

दुर्गेश थापा गायक हुन् या होइनन् भन्ने विषयमा अब अहिले बहस गर्नु पर्ने आवश्यकता नै रहेन । फरकधारसँगको टेलिफोन सम्पर्कमा आइतबार दुर्गेशले आफैं स्विकारे– म गायक होइन ।

दुर्गेश गायक नभए पनि उनले गाएका गीत निकै हिट छन्, युट्युबमा उनले केही राखे भने थोरै घन्टामा नै भाइरल हुन्छन् । टिकटकदेखि फेसबुकसम्म दुर्गेशको चर्चा सुरु भइहाल्छ । 

तर, हिट हुनु, धेरैले गीत हेर्नु र एउटा गायक साँच्चिकैको गायक हुनुमा जुन अन्तर छ, त्यो अब दुर्गेशले राम्रोसँग बुझेका छन् । पछिल्लो समय एक लट विवादको शिखरमा चढेका दुर्गेशले नबुझुन् पनि किन उनले कमाएका केही फ्यानहरुले पनि उनको चर्को आलोचना सुरु गरिसकेका छन् । 

प्रसंग हो, उनले प्राइम टिभीमा पत्रकार ऋषि धमालासँग दिएको अन्तर्वार्ता र त्यसमा उनका अभिव्यक्ति ।

‘बीच्चबीच्चमा’ गाएर आफ्नो ‘हाइट’ बनाएका दुर्गेशले जुन सफलता युट्युबमा पाएका छन्, त्यो अहिले निकै खस्किएको त उनी आफैंले अनुभव गरे, किनकि उनलाई नारायणगोपाल र भक्तराज आचार्य, यम बराल र रामकृष्ण ढकालबीचको भिन्नता नै थाहा छैन । टिभीमा अन्तर्वार्ता दिन पुगेका दुर्गेशलाई प्रस्तोता धमलाले नारायणगोपालको गीत गाउन लगाउँछन्, उनी भक्तराजको गीत गाउँछन्, यम बरालको गीत गाउन अनुरोध गर्दा दुर्गेश रामकृष्णको गीत गाउँछन् । अनि त्यो पनि एक लाइन मात्र । 

यही अन्तर्वार्ताबाट दुर्गेशका फ्यानलाई थाहा भएको हुनुपर्छ, दुर्गेश कति पानीमा छन्, कति संगीतको गहिराइमा । प्रशंसकले त अझै पनि दुर्गेशको समर्थन गरिरहेका होलान्, तर, दुर्गेश स्वयंले आफ्नो समर्थन गर्न छाडिसकेका छन् । अनि सोच बनाएका छन्– अब संगीत साधना गर्ने ।



तर, धमालाको कार्यक्रममा दुर्गेशले जे गरे, त्यसको कारक चाहिँ उनलाई प्रष्टसँग थाहा छ । त्यो हो, उनको हजुरआमा बिरामी हुनु । 

दुर्गेशको मावाली हो, बाग्लुङमा । बाग्लुङमा सानोमा उनी मामाघरमा बस्थे । ‘मलाई हुर्काउनु भएको नै हजुरआमाले हो,’ उनले भने, ‘केहीअघि उहाँको फोक्सोमा मासु पलाएको थियो, त्यसको अपरेसन हामीले काठमाडौंमा नै गरेका थियौँ ।’



दुर्गेशकी हजुरआमाको यो रोग अहिले बल्झिएको छ । अनि उनको दिमागमा हरेक पल हजुरआमाकै कुरा खेलिरहेछ, ती स्मृतिहरु याद आइरहेका छन् ।

‘म त्यो अन्तर्वार्ता दिने मुडमा नै थिइनँ, पूरै मुड अफ थिएँ,’ दुर्गेशले भने, ‘तर, अन्तर्वार्ता गर्ने भनिएको थियो, त्यहाँ नजान पनि सकिनँ ।’

आफू न अन्तर्वार्तामा खुल्न सकेको दुर्गेशलाई लागेको छ, न त्यति बेला पनि दिमागमा अन्तर्वार्तामा छु भन्ने नै उनले सोचेका थिए । 

तर, जुन ब्लन्डर उनले गरेका छन्, त्यसमा पनि उनलाई पश्चाताप चाहिँ छ ।

‘हुन त म पनि नारायण गोपाल, भक्तराज आचार्य, रामकृष्ण ढकाल, यम बरालहरुकै गीत गाएर हुर्किएको हुँ,’ दुर्गेशले भने, ‘भक्तराजका छोराहरु सत्य र स्वरुपको गीतको भिडियोमा त मैले मोडलिङ पनि गरेको छु, यम दाइसँग त बारम्बार कफी पिएको छु, उहाँहरुलाई नचिन्ने कुरै भएन ।’

यी गायकलाई दुर्गेश राम्रोसँग चिन्छन्, उनकै शब्दमा । तर, उनी फेरि केटाकेटीजस्तै पनि छन् । ‘बच्चा जस्तो के, कसैले केही गर भन्यो भने गरिहाल्ने,’ दुर्गेशले भने, ‘म बच्चाजस्तै छु, कसैले केही गर भन्यो भने म अरु कुरा नसोची त्यो कुरा गरिहाल्छु ।’

त्यही बानीका कारण धमालासँगको अन्तर्वार्तामा आफू ‘फसेको’ मान्छन्, दुर्गेश । 

दुर्गेशले यसमा आफ्नो कमजोरी भएको त स्वीकार्छन्, सँगसँगै आफ्नो अर्को ठूलो कमजोरी स्वीकार्न पनि उनलाई समस्या छैन । 

‘म गायक पनि होइन,’ उनले भने, ‘नारायणगोपाल, भक्तराज आचार्यहरुका गीत गाउने सामथ्र्य त ममा छैन पनि ।’

दुर्गेशका गीत बजारमा चलेका छन् । तर, ती गीत गाउने दुर्गेश आफूलाई गायक नमान्ने भएपछि के मान्छन् त ?

‘मोडल,’ दुर्गेशको सहज जवाफ छ, ‘म त खासमा मोडल हुँ, दर्शक र स्रोताले माया गरिदिएकाले म गायक भइटोपलिएको हुँ ।’

खासमा दुर्गेशले रहरै रहरमा एउटा गीतको भिडियो बनाए, त्यसलाई दर्शकले मन पराए । ‘अनि म हौसिएँ,’ दुर्गेशले भने, ‘गायनतिर लाग्छु भनेर अगाडि बढेँ ।’

तर, यो घटनापछि दुर्गेशले फिल गरेका छन्, गीत गाउन उनको साधनाले पुग्दो रहेनछ । ‘मैले अहिले गाएका गीतमा त कुनै साधना नै चाहिँदैन,’ दुर्गेशले भने, ‘अब चाहिँ मैले पनि मेलोडियस गीत गाउने योजना बनाएको छु, त्यसका लागि म मेरो हैसियत बढाउँछु, साधना गर्न थाल्छु ।’

‘खासमा भन्ने हो भने म अब अब साधनाका लागि तयार भइसकेँ, साधना गर्न तयार भइसकेँ,’ दुर्गेशले भने, ‘अब एक महिनापछि गायिका अञ्जुु पन्तसँग गीत लिएर म आउनेछु ।’
दुर्गेशलाई ऋषिसँगको त्यो अन्तर्वार्ताले धेरै सिकाएको छ, धेरै कुरा उनले बुझेका छन् ।

‘त्यो त मेरो गल्ती नै थियो नि,’ दुर्गेशले भने, ‘गल्ती भयो, स्वीकार्छु, अब सच्चिएर अगाडि बढ्छु ।’

  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार १९:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया