प्रहरीमा कोरोना कहरः देशभरिमा १ सय ५८ जना संक्रमित

काठमाडौं– नेपाल प्रहरीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको तथ्यांक पाइएको छ । प्रहरी प्रधान कार्यालयदेखि जिल्ला–जिल्लामा कार्यरत प्रहरी अधिकारी कोरोना संक्रमित भएको नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाहीले बताए । 

प्रहरी फ्रन्टलाइमा गएर काम गर्ने सरकारको पहिलो निकाय भएकाले पछिल्लो समय प्रहरी बढी संक्रमित हुन थालेका हुन् । नेपाल प्रहरीको तथ्यांकअनुसार अहिलेसम्म १ सय ५८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । आइतबार मात्रै प्रहरी प्रधान कार्यालयमा कार्यरत चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा सोमबार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप अरुमा पनि संक्रमण देखिनसक्ने भन्दै अहिले प्रहरी मुख्यालयमै खैलाबैला मच्चिएको छ । अधिकांश अधिकारीहरु मानसिक तनावमा रहेको समेत चर्चा हुन थालेको छ । प्रहरी प्रवक्ता नीरज शाहीका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालस्थित सवारी शाखामा कार्यरत चार प्रहरीलाई संक्रमण पुष्टि भइसकेको छ ।

उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि संक्रमण हुनसक्ने भन्दै स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर ट्रेसिङको प्रक्रिया सुरु गरेको प्रवक्ता शाहीले बताए । 

कोरोना संक्रमित प्रहरी कहाँ कति ?

कोरोना संक्रमण अहिले खासगरी प्रहरी प्रधान कार्यालय र प्रदेश कार्यालयमा देखिएको छ । प्रहरी प्रधान कार्यालयबाहेक प्रदेश–१ मा २७, प्रदेश–२ मा ३४, गण्डकी प्रदेशमा ११, प्रदेश–५ मा १५, कर्णाली प्रदेशमा २७, र सुदूरपश्चिम प्रदेशमा १२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसैगरी, उपत्यकामा मात्रै १४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 



प्रदेश–२ मा सबैभन्दा बढी प्रहरी कोरोना संक्रमित

प्रहरी तथ्यांकलाई हेर्ने हो भने सबैभन्दा बढी प्रदेश २ मा ३४ जना प्रहरीमा कोरोना देखिएको छ । त्यसपछि दोस्रो नम्बरमा गण्डकी प्रदेशमा २९ जना प्रहरी कोरोना संक्रमित भएको प्रहरी तथ्यांक छ । सोमबार स्याङ्जामा १८ जना थपिएसँगै गण्डकी प्रदेशमा २९ जना प्रहरी कोरोना संक्रमित छन् । प्रदेश १ र कर्णाली प्रदेश तेस्रोमा छन् । यी दुई प्रदेशमा २७–२७ जनामा कोरोना देखिएको छ । यसैगरी चौथोमा प्रदेश पाँचमा १५ र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम १२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।



कार्यालय सहयोगीदेखि इन्सपेक्टरसमेतलाई कोरोना

कोरोनाबाट प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीसम्म संक्रमित रहेको तथ्यांक छ । प्रहरी मुख्यालयको तथ्यांकमा सबैभन्दा बढी प्रहरी जवान संक्रमित भएको पाइएको छ । अहिलेसम्म संक्रमित भएका प्रहरीको कुल संख्यामध्ये आधाभन्दा बढी प्रहरी जवान संक्रमित छन् । प्रहरी जवान ७४, प्रहरी हवल्दार ४२, असई ९, सई ८ र प्रहरी निरीक्षक अर्थात् इन्सपेक्टर ६ जना संक्रमित भएका छन् । 

दैनिक ५० हजार प्रहरी ड्युटीमा खट्छन्

प्रहरीमा संक्रमण देखिएपछि अहिले स्वास्थ्य परीक्षण, कन्ट्याक्ट ट्रेसिङलगायत काम अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता एआइजी नीरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार प्रहरी जनशक्तिअनुसार यति संख्या एकदमै कम हो । ‘दैनिक करिब ५० हजार प्रहरी परिचालन हुन्छ,’ उनले भने, ‘सावधानी नअपनाइएको भए यो संख्या अझै बढी हुन्थ्यो ।’ नेपाल सरकारको परिपत्रअनुसार प्रहरीले आफ्नो प्रोटोकल पूरा गरेका कारणले धेरै कम जनशक्ति संक्रमित भएको उनको दाबी छ ।  

सेवाग्राहीले अपनाउनुपर्ने सावधानी नअपनाएकाले प्रहरी कोरोनाको मारमा परेको एआइजी शाहीको तर्क छ । अर्थात्, आफ्नो काम–कारबाहीमा कमी हुन नदिएका कारण प्रहरीमा कोरोना देखिएको उनको दाबी छ । त्यसको बाबजुद पनि अहिले आवश्यक जनशक्ति परिचालन गरेर सेवा जारी राखिएको उनले जनाए । 

पछिल्लो समय प्रहरी बढी संक्रमित हुनुको पछाडि आफ्नै लापरबाही रहेको पूर्वडिआइजीहरुको आकलन छ । फिल्डमा खटिने प्रहरीलाई चाहिने आवश्यक स्वास्थ्यसामाग्रीको परिपूर्ति नगरिदिँदा अहिले प्रहरी बढी कोरोना संक्रमित हुन थालेको पूर्वडिआइजी हेमन्त मल्लको भनाइ छ । ‘सरकारले अहिले ह्वातै बजार खोलेको छ, बजारमा चाप बढेको छ । तर, प्रहरीसँग चाहिने स्वास्थ्यसामग्री छैन,’ उनले भने,’ ‘जसका कारण प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ ।’

यसका साथै ड्युटीको तरिका र बस्ने व्यवस्था फरक नभएकाले पनि प्रहरी मारमा परेको पूर्वडिआइजी मल्लको तर्क छ । कोरोनाबारे शिक्षाको अभावले पनि प्रहरीसहित आमनागरिक बढी यसको मारमा परेको उनी बताउँछन् । प्रहरीभित्र अझै सावधानी नअपनाए अवस्था योभन्दा अझै भयावह हुने उनले चेतावनी दिएका छन् । 

नेपालमा करिब ७२ हजारको हाराहारीमा प्रहरी छन् । मुलुकभित्रको शान्ति सुरक्षा कायम गरी जनताको जिउधनको रक्षा गर्नु जसको मुख्य काम हो ।
 

  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार १७:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया