बादल फेरि प्रचण्ड क्याम्पमा !
फाइल तस्वीर ।

पछिल्ला केही महिना यता देखिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शक्ति संघर्षमा नयाँ नयाँ मोड देखिँदै गएको छ । विश्लेषक तथा नेकपाकै नेताहरु अहिले जारी विवाद उत्कर्षमा पुगेको अनुमानमा छन् । 

अधिकांशलाई अब नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कमजोर भएको र उनले अर्को समूहले लिएको अडानप्रति झुक्नै पर्ने अवस्थामा देखेका छन् । तर, केहीले चाहिँ ओलीलाई विधानसम्मत अहिले कसैले पनि हटाउन नसक्ने अनुमान गरेका छन् । किनकि स्थायी कमिटीका अधिकांश सदस्यले ओलीले निकास दिनका लागि दुवै पदबाट राजीनामा दिनु पर्ने बताएका छन् ।

अर्कोतिर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल अनि उपाध्यक्ष वामदेव गौतम एउटा खेममा देखिएका छन् । उनीहरु आफूहरुलाई अहिले अधिकांश स्थायी कमिटी सदस्यको साथ भएको र संसदमा पनि आफूहरुको बहुमत पुग्नेमा निश्चित भएका छन् । 

नेकपा सचिवालयमा चाहिँ यसअघि नै अध्यक्ष ओली अल्पमतमा परिसकेका छन् । अहिले उनलाई सचिवालयमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलको मात्र साथ रहेको हुनसक्ने अनुमान अब बाहिर आउन थालेका छन् । यो अनुमान झन् बलियो किन भएको छ भने अहिलेसम्म ओली क्याम्पमा रहेका भनिएका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले पनि आफू प्रचण्ड क्याम्पमा भएको संकेत गरेका छन् ।

यसअघि वैशाखमा नेकपामा देखिएको विवादमा सचिवालय सदस्य तथा उपाध्यक्ष वामदेव गौतमले अन्तिममा ओलीलाई साथ दिँदा सचिवालयमा ओलीको बहुमत पुगेको थियो । गौतमको साथ पाएपछि ओलीले त्यति बेला उपयुक्त समयमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावसमेत सचिवालय बैठकमा राखेका थिए । 

तर, अहिले नेकपा सचिवालयमा ओलीको साथमा ईश्वर पोखरेल र विष्णु पौडेल मात्र रहेको बताइएको छ । अन्य छ जना प्रचण्ड, नेपाल, खनाल, गौतम, बादल, प्रवक्ता नारायणकाजी श्रेष्ठ अर्को खेमामा देखिएका छन् । यसले गर्दा ओली पक्ष अहिले झन् कमजोर भएको देखिएको छ ।



यसअघि ओलीलाई साथ दिएका बादलले पछिल्लो समय आफ्नो क्याम्प फेरेका हुन् । वैशाखमा पनि बादलले ओलीलाई साथ दिएका थिए । त्यसभन्दा केहीअघि मात्र मन्त्रिपरिषद् पुनर्गठन हुँदा स्वयं प्रचण्डले नै ओलीलाई बादललाई गृहमन्त्रीबाट हटाउन अनुरोध गरेको नेकपाका एक नेताले फरकधारलाई बताएका थिए ।

सोमबार दिउँसो तिनै नेतालाई फरकधारले सम्पर्क गर्यो । ‘हो, अहिले बादलले आफ्नो क्याम्प फेरेको प्रष्ट देखाइसकेका छन्,’ प्रचण्डनिकट ती नेताले भने, ‘सोमबार मात्र प्रचण्ड र बादलबीच छलफल भएको छ ।’



उनका अनुसार यो भेटघाटमा बादलले प्रचण्डलाई आफू प्रचण्डको साथमै रहेको स्पष्ट पारेका छन् ।

‘निर्णायक मोडमा म तपाईंहरुकै साथमा छु,’ प्रचण्डलाई बादलले भनेका कुरालाई उद्धृत गर्दै ती नेताले फरकधारलाई भने, ‘म सधैं तपाईंहरुकै पक्षमा छु ।’

बादलले अचानक प्रचण्डलाई यो वचन दिएपछि प्रचण्ड समूह थप उत्साहित भएको नेकपाका अर्का एक नेताले फरकधारलाई बताएका छन् । 

यसअघि वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याउँदा बादलले ओलीलाई नै समर्थन गरेका थिए । मन्त्रिपरिषदमा यो अध्यादेश पारित भएपछि खुमलटारमा बिफ्रिङका लागि पुगेका पूर्वमाओवादी नेताहरुमा बादल गएका थिएनन् ।

‘तर, अब उहाँले आफूलाई बदल्नु भएको छ,’ ती नेताले फरकधारलाई भने, ‘यसले पार्टीमा सुधारको आवश्यकता रहेको पनि स्पष्ट पारेको छ ।’

सोमबार प्रचण्डसँगको भेटमा पनि बादलले सोचेर मात्र कदम चाल्न पनि सुझाव दिएको ती नेताले दाबी गरेका छन् । उनले सोमबार नै प्रचण्डसँगको भेटघाटपछि अन्य नेताहरुलाई पनि भेटघाट गरेको स्रोतको दाबी छ ।

  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार २३:४८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया