काङ्ग्रेस महाधिवेशनको तयारीमाः सभापतिका आकांक्षीमा यी नयाँ अनुहार

नेपाली काङ्ग्रेसको फागुनमा हुने भनिएको १४ औं महाधिवेशनको तयारी अब तीव्र हुन थालेको छ । काङ्ग्रेसले क्रियाशिल सदस्यता वितरण तथा नवीकरणको प्रक्रिया सुरु गरेपछि काङ्ग्रेसमा अब महाधिवेशनको रन्को देखिन थालेको हो । 

विशेषगरि काठमाडौंमा कांग्रेसका विभिन्न गुट र उपगुटहरु पछिल्लो समय सक्रिय हुन थालेका छन् । 

यसअघि १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका तीन नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला अब महाधिवेशन केन्द्रित छलफलका लागि आफूनिकट नेताहरुसँग भेटघाटमा जुट्न थालेका छन् । 

विशेषगरि सक्रिय सदस्यता वितरणमा विशेष ख्याल गर्न सकेमा महाधिवेशनमा जिल्लाबाट आउने प्रतिनिधिहरुलाई आफ्नो पक्षमा पार्न सकिने सोचेर यी तीन नेताले आफ्नो सक्रियता बढाएका हुन् । 

तर, यसपटक कांग्रेस वृत्तमा यी तीन नेताको मात्र सभापतिका आकांक्षी भनेर नाम आएको छैन । केही दोस्रो पुस्ताका नेताहरुले पनि यसपटक सभापतिमा आफूहरु लाग्ने बताउन थालेका छन् । र, यसका लागि उनीहरुले पनि आफ्नो सक्रियता बढाएका छन् । केहीले त आफूनिकट नेताहरुसँग विशेष सहयोग माग्न थालेका पनि छन् ।

पछिल्ला दिनमा यसमा सबैभन्दा बढी सक्रिय भएर कोइराला परिवारका दुई सदस्य लाग्न थालेका छन् । कांग्रेस महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला दुवै जना सभापतिमा उठ्ने तयारी गरिरहेका छन् । तर, उनीहरुबीच पनि एकमत भएको छैन । यस विषयमा कोइराला परिवारकी अर्की सदस्य सुजाता कोइरालाले अहिलेसम्म आफ्नो मत राखिसकेकी छैनन् ।



कोइराला परिवारबाटै यसपटक नयाँ सदस्यमा अभिनेत्री मनिषा कोइराला पनि कांग्रेसबाट सक्रिय राजनीतिमा लाग्न सक्ने अनुमान गरिएको छ । तर, राजनीतिमा आउने वा नआउनेबारे अहिलेसम्म मनिषाले केही बताएकी छैनन् ।

सभापतिमा चाहिँ यसपटक शेखरले बढी चासो दिएका छन् । उनले आफू सभापतिमा उठ्ने मनस्थितिमा रहेको र त्यहीअनुसार तयारी गरेको भन्दै आफूलाई छोड्न शशांकलाई अनुरोध गरिसकेका छन् । तर, शशांकले शेखरलाई नै यस विषयमा अहिलेसम्म कुनै जानकारी दिएका छैनन् ।



‘शेखर कोइराला आफूले पछिल्लो समय कांग्रेसको संगठन विस्तारमा राम्रोसँग लागेकाले पनि आफूलाई सभापति हुनु पर्छ भन्ने सोचमा हुनुहुन्छ, उहाँले शशांकसँग यस विषयमा कुरा गरिसक्नु भएको छ,’ शेखरसँग नजिक एक कांग्रेस केन्द्रीय सदस्यले बताएका छन् ।

यसपटक अन्य नेताहरु पनि कांग्रेस सभापतिको रुपमा आफूलाई अगाडि सारिरहेका छन् ।

तीमध्ये सबैभन्दा बढी सक्रिय भएर लागेका छन्, प्रकाशनमान सिंह । पूर्वमहामन्त्री सिंह अहिले आफूले नेतृत्व सम्हाल्ने समय आइसकेको र आफूले कांग्रेसलाई गति दिन सक्ने भन्दै सभापतिकै उम्मेदवार आफू हुन सक्ने आफूनिकट नेताहरुलाई बताउन थालिसकेका छन् । यसका लागि उनले आफूभन्दा तल्लो तहका केही नेताहरुसँग पनि छलफल सुरु गरेको स्रोतको दाबी छ । 

सिंहजस्तै सक्रिय रुपमा सभापतिको उम्मेदवारका लागि लागेका छन्, विमलेन्द्र निधि । विमलेन्द्र निधिले महामन्त्री शशांक कोइरालालाई नै भेटेर आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् । ‘तर, यो सम्भव हुने कुरा नै होइन, निधिले नै अहिले पार्टी हाँक्न सक्छन् भन्ने कोइरालाले विश्वास नै गरेका छैनन्,’ कोइरालानिकट एक नेताले फरकधारसँग भने, ‘यस्तो सहयोग माग्दा, कोइरालाले निधिलाई अहिले आफू नै नेतृत्वमा आउने तयारीमा रहेको बताएको हुनुपर्छ, उहाँले अरु सामान्य भेटघाटमा पनि यस्तो बताउन थाल्नु भएको छ ।’

तर, निधि आफूलाई सभापति शेरबहादुर देउवाले नै सभापति उम्मेदवारका लागि सहयोग गर्ने विश्वासमा छन् ।

अर्कोतिर, पूर्वअर्थमन्त्री डा. रामशरण महत पनि यसपटक सभापतिको आकांक्षीका रुपमा देखिएका छन् । आफूले पार्टीको नेतृत्व लिन तयार भएको उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत बताएका छन् । तर, पौडेलले उनको कुरालाई अस्वीकार गर्दै यसपटक आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् । 

‘पौडेल अहिले अर्जुननरसिंह केसी, रामशरण महतहरुसँग नियमित छलफलमा छन्,’ पौडेलनिकट कांग्रेसका एक नेताले भने, ‘उनी यसपटक देउवालाई एक्ल्याएर आफू नै सभापतिमा निर्वाचित हुन चाहन्छन् ।’

सभापतिमा नयाँ अनुहारहरु आकांक्षीका रुपमा आए पनि पछिल्लो समय १३ औं महाधिवेशनका सभापतिका तीन उम्मेदवार देउवा, पौडेल र सिटौलाले नै सभापतिमा उम्मेदवारी दिने सम्भावना बढी छ । तर, यसपटक यसअघिको जस्तै अन्तिममा सिटौलाले देउवालाई सहयोग गर्छन् कि पौडेललाई, त्यो हेर्न बाँकी छ ।

  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार ४:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया