के वामदेव गौतम फेरि ओलीतिर ढल्किएका हुन् ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको शक्ति संघर्षमा नयाँ नयाँ मोड दिनदिनै ‘मन्चन’ भइरहेका छन् । पछिल्लो समय दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आआफ्ना गुटलाई सक्रिय बनाएर अगाडि बढिरहेका मात्र छैनन्, एकअर्कालाई निरन्तर दबाबमा पनि पारिरहेका छन् ।

नेकपामा अहिले देखिएको विवादको सबैभन्दा ठूलो रुप मंगलबार देखिएको छ । ६ साउनमा स्थगित भएको नेकपा स्थायी कमिटी बैठक मंगलबार ११ बजे बस्ने तय भएको थियो । 

तर, १० बजेलगत्तै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट गरे– नेकपा स्थायी कमिटी बैठक आवश्यक छलफल नभइसकेकाले अहिलेका लागि स्थगित गरिएको छ ।

उनको ट्विट आएलगत्तै फरकधारले नेकपा अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटलाई यसबारे केही थाहा छ भनेर प्रश्न गरेको थियो ।

‘हामीलाई यसबारे केही थाहा छैन, हामी बैठकका लागि बालुवाटारमा जाँदै छौँ,’ उनले जानकारी दिएका थिए ।

बालुवाटारमा ओली ‘चुपचाप’ कोठामा बसे पनि बैठक कक्षमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकलाई अगाडि बढाउने संकेत गरे । 



यो बैठकका लागि ११ बज्दा नबज्दै कम्तिमा पनि १८ जना नेकपा स्थायी कमिटी सदस्य बालुवाटार पुगिसकेका थिए । 

तर, सोमबारसम्म अध्यक्ष प्रचण्डलाई साथ दिएका नेकपा उपाध्यक्ष वामदेव गौतम यो बैठकमा देखिएनन् । 



गौतमले चाहिँ बैठक स्थगित भएको सूचना आउनुभन्दा केहीअघि मात्र एउटा विज्ञप्ति जारी गरेका छन् ।

उनको ६ बुँदे विज्ञप्ति र बैठकमा उनी उपस्थित नहुँदा अब अनुमान गर्न थालिएको छ, वामदेव गौतम फेरि ओलीतिर ढल्किएका छन् । केही दिनअघि मात्र गौतम र प्रचण्डको भेट भएको थियो । गौतमलाई भेट्न भैंसेपाटी नै पुगेका प्रचण्डले गौतमबाट अगाडि बढ्न ग्रिन सिग्नल पाएका थिए ।

तर, अचानक आज आएको विज्ञप्तिले वामदेव गौतम फेरि ओलीतिर ढल्किए भन्ने अनुमानलाई बलियो बनाएको छ । यो विज्ञप्तिमा गौतमले पार्टी विग्रह रोक्नका लागि आफूले दुवै अध्यक्षका लागि राखेको प्रस्ताव भनेका छन् ।

यसका लागि पहिले गौतमले निकालेको विज्ञप्तिका ६ बुँदाहरुको विश्लेषण गरौँ ।

पहिलो बुँदामा वामदेव गौतमले लेखेका छन्– कमरेड केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने ।

यसअघि वामदेव गौतमलाई आफ्नो प्यानलमा ल्याउन नेकपा अध्यक्ष केपी शर्मा ओलीले वैशाखको विवादमा प्रस्ताव गरेका थिए– उपयुक्त समयमा सांसद बनाउने र प्रधानमन्त्री बनाउने । यो प्रस्ताव आएपछि वामदेव गौतमले ओलीलाई सहयोग गर्ने भए र नेकपामा तत्कालीन समयमा देखिएको विवाद अन्त्य भयो । 

तर, त्यसको केही समयमा नै गौतमले आफ्नो धारणा भन्दै फेरि सामाजिक सन्जालमा र सार्वजनिक कार्यक्रममा विभिन्न अभिव्यक्ति दिन थाले । यी अभिव्यक्तिमा उनले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउन थालेका थिए । 

केही दिनअघिसम्म गौतम स्वयंले प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीले राजीनामा दिनु पर्ने बताएका थिए । तर, आज अचानक आएको यो विज्ञप्तिमा उनले ओलीलाई नै अध्यक्ष र प्रधानमन्त्रीका रुपमा राख्ने चित्रण गरेका छन् । 

उनको विज्ञप्तिको पहिलो यही बुँदाले पनि उनले अब फेरि ओलीलाई साथ दिन लागेको सहज अनुमान गर्न सकिन्छ ।

गौतमको विज्ञप्तिमा दोस्रो बुँदामा लेखिएको छ– कमरेड पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने ।

यसअघि पनि नेकपामा विवाद निस्किँदा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई मत्थर पार्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष बताएका थिए । प्रचण्डले पनि केही दिनसम्म आफूलाई कार्यकारी हुँदा निकै राम्रो महसुस भएको बताउन थालेका थिए ।

तर, जब नेकपा सचिवालय बैठक हुन थाल्यो, त्यसपछि प्रचण्डले आफूले कार्यकारी भूमिका नपाएको महसुस गरे । फेरि केही दिनमा नै ओलीले भन्न थाले– दुई अध्यक्षको भूमिका उस्तै हो नि । त्यति बेला कान्तिपुर टिभीमा भुषण दाहाललाई दिएको अन्तर्वार्तामा केपी ओलीले यसबारे प्रष्ट पारेका थिए ।

त्यसैले प्रचण्ड र उनको समूहले बुझिसकेको छ, कार्यकारी अध्यक्ष भनेर ओलीले जे भनेका छन्, त्यो भुलाउनका लागि मात्र हो ।

उपाध्यक्ष गौतमले आफ्नो विज्ञप्तिको तेस्रो बुँदामा लेखेका छन्– पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने ।

आफूमाथि चर्को दबाब हुन थालेपछि ओलीले यो प्रस्ताव केही दिनअघि राखिसकेका छन् । यही प्रस्तावलाई प्रचण्डलाई समर्थन गरिरहँदा गौतमले भनेका थिए– यो अलमलाउने प्रयास मात्र हुनसक्छ । 

तर, अहिले उनी आफैं पनि यो प्रस्तावसहित अगाडि आएका छन् । 

यसलाई नेकपाका केही नेताले ओलीको बोलीलाई गौतमले थप बलियो बनाउन खोजेको मात्र बताएका छन् । 

गौतमले चौथौं बुँदामा भनेका छन् कि सरकारका काममा पार्टीले हस्तक्षेप नगर्ने ।

पुष्पलाल स्मृति दिवसमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जे भनेका थिए, त्यसको ठिक विपरित आएको यो वामदेव गौतमको अभिव्यक्तिले पनि उनले प्रचण्डको साथ छोडेका त होइनन् भन्ने संशय उत्पन्न गरेको छ । तर, यसो भन्दैमा उनले केपी ओलीकै साथ लिएका हुन् भन्ने निश्चित पनि नहुने नेकपाका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए ।

गौतमले पाँचौ बुँदामा मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा सचिवालयमा छलफल गर्ने उल्लेख गरेका छन् । यो यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई राखिसकेको प्रस्ताव हो । त्यसैले यसमा पनि गौतमले ओलीलाई साथ दिएको छनक पाइन्छ ।

‘यी बुँदाहरु हेर्दा प्रष्ट हुन्छ, गौतमले अब पार्टीको एकताका लागि ओलीलाई नै साथ दिनु पर्छ भन्ने निष्कर्ष निकालिसकेका छन्,’ नेकपाका ती नेताले फरकधारसँग भने, ‘यसले अहिलेको विवाद मत्थर गर्न सहयोग गर्ने पनि प्रष्ट हुन्छ ।’

  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १३:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया