नेकपामा वामदेवको प्रस्तावः ओलीलाई राहत, प्रचण्ड–नेपाल समूह नयाँ रणनीतिमा लाग्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही साता यता देखिएको विवादको शृङ्खला अहिले तत्काल रोकिने देखिँदैन । नेकपा उपाध्यक्ष वामदेव गौतमले अगाडि सारेको ६ बुँदे प्रस्तावले अब नेकपामा यो विवादको रणनीति नयाँ हुनसक्ने अनुमान त गरिएको छ तर गौतमले मंगलबार अगाडि सारेको ६ बुँदो प्रस्तावले थप अन्योल सिर्जना पनि गरेको छ । 

गौतमले अहिले तत्काल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि पदबाट राजीनामा दिन नपर्ने उल्लेख गरेका छन् । केही समयअघि सम्म नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँगै ओलीको दुवै पदबाट राजीनामा माग गरेका गौतममा अचानक आएको यो युटर्नका कारण अब प्रचण्ड–नेपाल समूह नयाँ रणनीति बनाउन अग्रसर हुन थालेको छ ।

‘उहाँले यसअघि पनि यसरी नै अन्तिम समयमा आएर आफ्ना कुरा फेर्नु भएको थियो, अहिले पनि उहाँले यसअघि भनेका विषयमा आफ्ना धारणालाई परिवर्तन गर्नु भएको छ,’ प्रचण्ड–नेपाल खेमाका एक नेताले फरकधारलाई बताए, ‘हामी एउटा के कुरामा प्रष्ट हुनुपर्छ भने अहिले हामीलाई चाहिएको विधिसम्मत देश र पार्टीलाई चलाउने नेतृत्व हो । तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले यी दुवैलाई समस्यामा पार्नु भएको छ । यो कुरामा स्वयं वामदेव कमरेड पनि यसअघि सहमत हुनुभएको थियो । तर, अहिले उहाँले अचानक यसरी आफ्ना कुरा फेर्नु कुनै पनि हालतमा ठिक हुनसक्दैन ।’

अर्कोतिर, वामदेव गौतमले राखेका ६ बुँदाका प्रस्तावले आफूहरुलाई राहत मिलेको अध्यक्ष ओली समूहले निष्कर्ष निकालेको छ । ओली समूहले निकालेको निष्कर्षअनुसार अब वामदेव गौतम आफ्नो खेमामा आउँदा सचिवालयमा आफूहरु पनि बलियो हुनेछन् । सचिवालयमा अब वामदेव गौतम आफ्नो पक्षमा आउँदा ईश्वर पोखरेल, विष्णु पौडेलसहित आफ्नो बहुमत हुने हिसाब केपी ओलीले आफू निकट नेताहरुलाई देखाएका छन् ।

सचिवालयमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले आफूहरुलाई नै सहयोग गर्नेमा केपी ओली पक्षधरले विश्वास लिएका छन् । ‘उहाँले यसअघि पनि अजेन्डालाई पहिलो प्राथमिकतामा राख्नु भएको छ,’ ओली पक्षधर एक नेताले भने, ‘त्यसैले पार्टी विभाजनलाई रोक्नका लागि पनि उहाँले आफ्नो अडान कायम राख्नेमा हामी विश्वस्त हुनसकिन्छ ।’

सचिवालयमा बहुमतको हिसाब त प्रचण्ड–नेपाल समूहले पनि गरेको छ । उनीहरुले पनि रामबहादुर थापा बादललाई आफ्नो पक्षमा सोचेका छन् । यसको अर्थ हो, यसअघि नेकपामा वामदेव गौतम निर्णायक नेता थिए भने अब बादल निर्णायक तहमा पुगेका छन् । पछिल्लो समय उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले साथ दिने वचन त दिएका छन् तर तीन वर्षअघि सरकार गठन भएपछि प्रधानमन्त्री ओलीको पक्षमा खुलेर लागेका उनी अब कुन पक्षमा दरिलो भएर उभिन्छन् भन्ने अझै निश्चित हुन सकिएको छैन ।





  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार ११:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया