काठमाडौंमै कार्टुनमा प्याक गरेर फालिएकी बालिका...

(अपडेट: याे समाचारमा जसरी यी बालिकाबारे कुरा गरिएकाे छ । प्रहरी अनुसन्धानमा याे झुटाे भएकाे खुलासा भएकाे छ । यसबाट पाठकवर्गमा पर्न गएकाे असुविधाका लागि क्षमाप्रार्थी छाैँ । – सम्पादक)

यसबारे हामीले अपडेट गरेकाे समाचार: 

काठमाडौंमा कार्टुनमा फालिएकी बालिकाः पैसा कमाउन रचिएको नाटक !

रामायणका कथा हुन् या महाभारतका कथा किन नहुन्, केही तिलस्मी कुराहरु जोडिएका हुन्छन् ।

उदाहरणका लागि हामी सीतालाई लिऔँ । हामीले कथामा पढेका छौँ– राजा जनकले खेत जोत्दा सीतालाई भेटेका थिए, पछि आफ्नै छोरी बनाएर हुर्काए । 

अनि एउटा माझी दम्पत्तिले खोलामा बगिरहेको बाकस हेर्दा, छोरा भेटे । कर्ण नामका ती छोरा उनीहरुले हुर्काए, बढाए ।



त्यति बेला राजा जनकले आफ्ना सन्तान थिएनन्, पण्डितहरुसँग सल्लाह गरेर खेत जोते, छोरी भेटाए । तर, सीतालाई कसरी त्यहाँ पाइयो, वा कसले उनलाई त्यहाँ छोडेको थियो भन्ने अहिले पनि अनुत्तरित छ । 

तर, हामीले पढेका कर्णको कथा चाहिँ अलिक फरक छ । उनलाई त कुमारी आमा कुन्तीले जन्माएकी थिइन् । त्यो समाज पनि आजको जस्तै थियो, समाजको ‘मोरल अब्लिगेसन’का कारण कुन्तीले आफ्नो छोरालाई बाकसमा हालेकी थिइन् र नदीमा बगाएकी थिइन् ।



यी दुवै त्रेता र द्वापर युगका कथा भए । तर, अझै पनि हाम्रो समाजमा यी कथाका अवयव बेलाबेलामा देखिन्छन् । ती कथाका अवयव जब हामीले वास्तविकतामा नै देख्छौँ, भोग्छौँ, ती कथा पनि कथा थिएनन् भन्ने महसुस पक्कै हुँदो हो । 

देशको राजधानी काठमाठौंमा नै एउटा यस्तै घटना भएको जसले हाम्रो मनलाई दुखी त बनाउँछौँ नै, सँगसँगै त्यही पुराना कथाको झझल्को पनि हामीले महसुस गर्न सक्छौँ । 

घटना हो, कपनको । 

पत्याउनुहोस्, नपत्याउनुहोस्, कपनको आकाशेधारमा रहेको एउटा खुला चौरमा सोमबार एक बालिका भेटिइन्, एउटा कागजको कार्टुनमा । 

मानौँ, कुनै लेखकले लेख्ने एउटा ‘फिक्सन’को पात्रजस्तो चार पाँच दिन मात्र अघि जन्मिएकी ती बालिका खुला आकाशमुनि बाकसभित्र हाँसिरहेकी थिइन् ।

उनको त्यो हाँसो त्यही चउरमा खेल्ने केही बालबालिकाले सुने ।

संयोग मान्नुस्, जसले यो हाँसोलाई सुनेका थिए, ती थिए त्यही चउर नजिकैको केयर चाइल्ड अर्फानेज नामको बालगृहका बस्ने बालबालिका । आफू खेल्ने चउरमा नयाँ कागजको कार्टुन देखेका उनीहरुले कार्टुन के खोलेका थिए, त्यहाँ देखे एउटा हँसिलो अनुहार । 

‘अर्फान्’ अथवा आफ्नै आमाबाबुको अत्तोपत्तो नभएका ती बालबालिकाले अर्को एउटा बालिका भेटेका थिए, जसको अभिभावक को हुन् भन्ने कुनै आधार थिएन । अनि उनीहरुले आफ्नी अभिभावकलाई खबर गरे । 

पुष्पा अधिकारी ती अभिभावक हुन् जसले पाँच वर्षदेखि अभिभावक नभएका बालबालिकालाई अभिभाकत्व प्रदान गरिरहेकी छिन् । ११ वर्षसम्मका बालबालिकालाई संरक्षण दिइरहेकी पुष्पालाई यो कुराले नछुने कुरै भएन, उनी ती बालिका भेटिएको ठाउँमा पुगिन् ।

साँझको छ बजेको थियो । 

जब पुष्पाले पहिलो पटक ती बालिकालाई देखिन्, उनको मनमा चिसो पस्यो ।

‘दुई जना बच्चा कराउँदै आएका थिए, खासै बोल्न सकेका थिएनन्, मलाई चउरसम्म डोर्याएर लगे,’ अधिकारीले फरकधारसँगको सम्पर्कमा भनिन्, ‘चौरमा गएर हेर्दा बल्ल थाहा भयो, बाकसमा त एउटा जीवित बच्चा पो छोडिएको रहेछ ।’

उनले ती शिशु ४–५ दिनको जस्तो देखिने र सकुशल भएको देखिन् । ‘बच्चीको स्वास्थ्यअवस्था सामान्य छ,’ कान्ति बाल अस्पतालमा चेकजाँच गराएर फर्किएपछि फरकधारसँग अधिकारीले भनिन्, ‘हामीले उनलाई बालगृहमा राखेका छौँ । तर, उनका अभिभावक को हुन् भन्ने अहिलेसम्म हामीलाई थाहा छैन ।’

यो कुरा अब सामाजिक सन्जालमा पनि भाइरल भइसकेको छ । शिशुको बाबुआमाको खोजीमा प्रहरी पनि लागेको छ । तर, अहिलेसम्म यी बालिकाका आमाबाबुबारे पत्तो लागेको छैन । 

महानगरीय प्रहरी प्रभाग कपनाका प्रहरी निरीक्षक शेखरजंग मल्लले भने, ‘अहिलेसम्म यसबारे कुनै क्लू पनि भेटिएको छैन ।’

नेपाल प्रहरीको महिला तथा बालबालिका विभाग र खोजतलास केन्द्रसँग समन्वय पनि प्रहरीले गरिसकेको छ । 

अर्कोतिर, शिशुलाई म लगेर हुकाउँछु भनेर धेरैले फोन गरिरहेका पनि छन् । ‘तर, कसैलाई पनि दिन्नँ, म नै हुर्काउँछु,’ पुष्पा अधिकारीले आफ्नो योजना सुनाइन् ।

 

सामाजिक सञ्जालमा सवाल

कार्टुनमा शिशु भेटिएको घटनालाई लिएर सामाजिक सञ्जालमा समेत विभिन्न प्रतिक्रियाहरु आएका छन् ।

अधिकांशले शिशुलाई बेबारिसे छोड्ने आमालाई ‘क्रुर’को संज्ञा दिएका छन् । कतिपयले भने बाध्यताले गर्दा यस्तो अवस्था आएको हुनसक्ने आश.का गरेका छन् ।

केहीको प्रश्न छ, ‘के–कस्तो बाध्यताले गर्दा एउटी आमाले बच्चालाई यसरी बेबारिसे छोड्छिन् ?’ 

‘सबैले देख्ने ठाउँमा नवजात शिशुलाई फालेर कसैले नदेख्ने ठाउँमा लुक्नु ती आमाको बाध्यता के थियो होला ?’, ट्विटरमा मात्रिका पौडेलले लेखेका छन्, ‘न उनी आफ्नो मुटुको टुक्रा खोज्दै भौतारिदै पो होलिन् कि ? कपन आकाशधाराको यो तस्बिरले धेरै प्रश्न अनुत्तरित बनाएको छ ।’ 

पौडेलको ट्विटमा कमेन्ट गर्दै विमल पोखरेल लेख्छन्, ‘त्यसो गर्दा ती आमालाई कुनै कारबाही पो हुने हो कि ? सार्वजनिक रुपमा कुनै कारबाही नगर्ने प्रतिबद्धता र बच्चा लिन आउने आह्वान गर्यो भने हुन्छ कि ! नत्र कारवाही हुने डरले लुक्ने सम्भावना उत्तिकै छ ।’

  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार १८:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया