कमलादीमा ‘सुन’ बरामद घटनाः प्रहरीले सिन चेन्ज गर्‍यो, अभियुक्त समातिएको दाबी

१३ साउनमा कमलादीबाट १४ किलो ‘सुन’ (पछि पहेँलो धातु भनिएको) बरामद भएको प्रकरणमा प्रहरीको गम्भीर लापरवाही मात्र होइन, खेलाँची पनि देखिएको छ । यो अपरेसनबारे अनुसन्धान गर्न प्रहरीले नै गठन गरेको छानबिन समितिले सुन प्रकरणमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालेको प्रहरी स्रोतले फरकधारलाई बताएको छ ।

ब ६ च ५५१९ नम्बरको स्कर्पियो गाडीबाट केही व्यक्तिहरुले सुन र दुई थान चाइनिज पेस्तोल फालेका थिए । तर, प्रहरीले त्यति बेला यो गाडीलाई आफ्नो नियन्त्रणमा लिन सकेको थिएन । प्रहरीले गाडीलाई नियन्त्रणमा लिन नसकेपछि यसबारे विवाद सुरु भएको थियो । 

यही कारणले यो अपरेसनलाई शंकाका हिसाबमा हेरिएको थियोे । 

काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भीर लापरवाहीका कारण यो सुन बरामद प्रकरण थप विवादमा तानिने निश्चित भएको छ ।

प्रकरणको छानबिनका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा समिति गठन गरेको थियो । 

समितिले गरेको छानबिनमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रन्जन दाहालले घटनास्थल नै परिवर्तन गरेर रिपोर्टिङ गरेको पाइएको छ । समितिका एक सदस्यका अनुसार कमलादीकाे भनिएकाे याे घटना सुन्धाराकाे भएकाे खुलेकाे हाे ।



काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार नै दिउँसो पत्रकार सम्मेलन गरेर कमलादीमा रहेको नबिल बैंक अगाडि सुनको झोला फालिएको बताएका थिए । त्यही दिन फरकधारसँग कुराकानी गर्दै ज्ञवालीले सुन बोक्ने गाडीलाई प्रहरीले फलो गरे पनि पक्राउ गर्न नसकिएको बताएका थिए ।

अर्कोतिर, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले यसलाई प्राविधिक त्रुटी भएको मान्छन् । फरकधारसँग कुरा गर्दै पोखरेलले भने, ‘सिसिटिभी फुटेजमा अब त्यो ठाउँ सुन्धारा देखिएको हो, माथिल्लो तहलाई प्राविधिक साथीहरुले रिपोर्टिङ गर्दा समस्या भएको हो ।’



उनले प्रहरीमा तल्लो तहका कर्मचारीले रिपोर्टिङ गर्दा गलत भएको हुनसक्ने बताए ।

यस प्रकरणमा छानबिनका लागि बनाइएको समितिले छानबिनका लागि पाँच दिनको समय पाएको छ । 

 

‘अभियुक्त समातिइसकेका छन्’

डिआइजी पोखरेलले बिहीबार विहान फरकधारसँग कुरा गर्दै यो प्रकरणमा स्कर्पियो गाडीमा भागेका अभियुक्तहरु पक्राउ परिसकेको दाबी गरेका छन् । 

तर, यस विषयमा अहिलेसम्म प्रहरीले सार्वजनिक रुपमा केही भनेको छैन । पोखरेलले पनि कहिले र कहाँबाट कोको समातिएका हुन् भन्ने खुलाएनन् ।

  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार १०:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया