बालुवाटारमा सक्रियता बढाउँदै केपी ओली
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले छलफललाई तिब्र पारेका छन् । नेकपाभित्रको आन्तरिक विवादका सन्दर्भमा आफ्ना निकटका नेताहरुसँग ओलीले छलफललाई तिब्र पारेका हुन् ।

गएको साउन १३ गते दुई अध्यक्षबीच जारी स्थायी कमिटीको बैठक बोलाउने विषयमै विवाद भएपछि नेकपाले समस्या समाधानको जिम्मा दुई अध्यक्षलाई दिएको छ । १० असारबाट सुरु भएको नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको बहुमत सदस्यहरुले राजीनामा माग गरेपछि विवाद उत्कर्षमा पुगेको हो । 

त्यसो त १३ साउनमा ११ बजेका लागि बोलाइएको बैठक सुरु हुनुभन्दा पहिले नै अध्यक्ष ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह नै नगरी बैठक स्थगित गरेपछि प्रचण्ड–नेपाल पक्षधर नेताहरुले बालुवाटारमै बैठकको आयोजना गरेका थिए । उक्त बैठकले अध्यक्ष ओलीसँग छलफल गरी समस्याको समाधान गर्न प्रचण्डलाई जिम्मा दिएको थियो । 

त्यसयता ओलीले पार्टीको विवाद मिलाउने सन्दर्भमा बालुवाटारमा छलफललाई तिब्र पारेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्ना पक्षका नेताहरुसँग छलफल गर्दै आएका छन् ।

ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल, महासचिव विष्णु पौडेल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल, पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका नेताहरुसँग छलफल गरेका छन् । पार्टीमा जारी विवादका सन्दर्भमा हिजोआज बालुवाटारमा नेताहरुको बाक्लो उपस्थिति हुनेगरेको स्रोतले जानकारी दियो । ‘पार्टीको समस्या समाधान गर्न प्रधानमन्त्रीज्यू लागिरहनुभएको छ । त्यसैले नेताहरुसँग छलफल गरिरहनुभएको छ’, बालुवाटार स्रोतले भन्यो । 

प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग पनि छलफल चलाइरहेका छन् । ‘प्रधानमन्त्री सरकार र समग्र पार्टीलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा चिन्तित हुनुहुन्छ । पार्टीको विवाद मिलाउनुपर्ने छ’, एक मन्त्रीले भने, ‘त्यही सन्दर्भमा बोलाउनुभयो र छलफल गर्नुभयो ।’



बैठकको सुरुआतमै सचिवालयका शीर्ष नेताहरुबाट नै असहयोग ब्यहोरेका नेता ओलीले पछिल्लो समय उपाध्यक्ष वामदेव गौतमको साथले राहत महसुस गरेका छन् । अध्यक्ष ओली आत्तिएको अवस्थामा गौतमको साथले राहत दिएको हो । त्यसो त ओलीको प्रस्तावलाई नै आधार मानेर पार्टी बचाउन भन्दै नेता गौतमले ६ बुँदे प्रस्ताव अगाडि सारेपछि नेकपाभित्रको विवादले नयाँ मोड लिएको हो । 

भेटेनन् ओली–प्रचण्ड



पार्टीको समस्या समाधान गर्न नेकपाका दुई अध्यक्ष ओली–प्रचण्डबीचको छलफल हुनुपर्ने भए पनि बैठक स्थगित भएयता भेट हुन सकेको छैन । दुई अध्यक्ष आ–आफ्नो टिमका नेताहरुसँग नै छलफलमा व्यस्त भएकाले उनीहरुबीच छलफल हुन नसकेको हो । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले ओली–प्रचण्डबीच कुनै छलफल हुन नसकेको बताए ।

  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १५:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया