दुई अध्यक्षबीच वार्ता गराउन महासचिव पौडेलको दौडधुप, संवादका लागि प्रचण्डले पठाए ओलीलाई सन्देश

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । एक महिनाअघिदेखि जारी नेकपाको विवाद मिलाउने जिम्मा स्थायी समितिले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । 

साउन १३ गते बसेको नेकपा स्थायी कमिटी बैठकले विवाद मिलाउने जिम्मा दुई अध्यक्षलाई दिए पनि शुक्रबारसम्म ओली–प्रचण्डबीच कुनै संवाद हुन सकेको छैन । 

पछिल्लोपटक नेकपा अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेलमार्फत संवादका लागि अध्यक्ष ओलीलाई सन्देश पठाएका छन् । दुई अध्यक्षबीच वार्ता गराउनका निम्ति महासचिव पौडेलले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । प्रचण्डले सकारात्मक छलफल गर्नेगरी समय मिलाउनका लागि महासचिव पौडेलमार्फत अध्यक्ष ओलीलाई सन्देश पठाएका थिए । 

यसै सन्दर्भमा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच शुक्रबार खुमलटारमा दुई घन्टा छलफल भएको थियो ।  ‘ओलीजीलाई तपाईंले सम्झाउनुस् । साथीहरुको कुरा पनि सुन्नुपर्छ । अरुको कुरा सुन्दैमा सानो भइँदैन,’ प्रचण्डले पौडेलसँग भने, ‘सकारात्मक निकास निकाल्ने गरी समय मिलाउन भन्नुस् । पार्टी एकता कायम राख्ने अन्तिम प्रयास गरौँ । तपाईंले पनि राम्रो भूमिका खेल्नुपर्यो ।’दुई अध्यक्षबीच संवाद गराउनका निम्ति अहिले महासचिव विष्णु पौडेल बालुवाटार–खुमलटार दौडधुप गरिरहेका छन् । पौडेलले पार्टीको एकता जोगाउन र समस्या समाधान गर्नका निम्ति भन्दै दुई अध्यक्षको सन्देश वारपार गरिरहेका छन् । 

खुमलटारमा झण्डै दुई घन्टा छलफल गरेका महासचिव पौडेल प्रचण्डको सन्देश बोकेर बालुवाटार पुगे । पौडेलले प्रचण्डको सन्देश सुनाएपछि ओलीले पहिले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक रोक्नुपर्ने नयाँ सर्त राखेको स्रोतले बतायो । जारी स्थायी कमिटी बैठक रोकेर सचिवालमार्फत निकास खोज्ने र महाधिवेशनमा केन्द्रित हुने ओलीले सर्त राखेका छन् । ‘पहिले स्थायी कमिटी बैठक र माग गरिएको केन्द्रीय कमिटी बैठक रोक्नुपर्छ । वार्ता गर्नका निम्ति यसरी हुँदैन । बैठक बोलाउने दबाब दिने अनि वार्ता÷संवाद कसरी हुन्छ ?’, ओलीनिकट एक नेताले भने । 

ओली–प्रचण्ड दुवैै पक्षको कुरा सुनेका महासचिव पौडेल अहिले दुई अध्यक्षको संवाद गराउनका निम्ति दोस्रो तहका नेताहरुसँग छलफलमा लागेको बताइएको छ । केही दिनमै ओली—प्रचण्डबीच वार्ता हुन सक्ने स्रोतको भनाइ छ । 



असार १० बाट सुरु भएको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग बहुमत सदस्यले राखेपछि विवाद चर्किएको हो । साउन १३ गतेका लागि बोलाइएको बैठक अध्यक्ष ओलीले एकलौटी रुपमा स्थगन गरेपछि प्रचण्ड–नेपाल पक्षको बैठकले ओलीसँग छलफल गरेर समस्याको समाधान गर्ने जिम्मा प्रचण्डलाई दिएको छ । 



  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १७:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया