नेकपामा शक्ति संघर्ष: साँघुरिँदै छन् प्रचण्ड
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा चुर्लुम्मै डुबेको छ । यसअघि गत वैशाखबाट सुरु भएको यो विवादको पोयो एक महिना यता झन् कसिलो हुँदै गएको छ । तर, शनिबार विहानसम्मका घटनाक्रम हेर्दा यो विवाद अहिले तत्काल समाधान हुने कुनै छाँटकाँट देखिएको छैन ।

विवाद बढ्दै गएपछि पार्टीमा यो विवाद मिलाउने जिम्मेवारी पाएका छन्, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले । तर, यी दुई अध्यक्षबीच नै संवादको वातावरण पनि बन्न सकेको छैन ।

यो विवादको समाधानका लागि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेछ । अहिले प्रचण्ड पक्षसँग एक भएर उभिएका नेपालका पछिल्ला अभिव्यक्तिलाई ख्याल गर्ने हो भने पनि अहिले नेकपाको शक्ति संघर्ष अझ अगाडि बढ्ने देख्न सकिन्छ । 

ओली र प्रचण्ड–नेपाल पक्षका दोस्रो तहका नेताहरु अहिलेको विवाद मिलाउन सक्रिय भएका छन् । 

तर, दुवै पक्षका नेताहरुले विवाद मिलाउन सहज वातावरण पाएका छैनन्, उनीहरु तानातानमा बढी परेका छन् । त्यसैले केही दिनअघि अनिश्चितकालका लागि स्थगित भएको नेकपा स्थायी कमिटी बैठक अब कहिले बस्छ भन्ने एकिन कसैले गर्न सकेको छैन । यो बैठकको टुङ्गो प्रचण्ड र ओलीबीच सहमति भएमा मात्र लाग्नेछ । तर, दुवै नेताबीच संवादको वातावरण नबन्दा यसबारे कसैले केही भन्न सक्ने अवस्था छैन ।

दुई अध्यक्षले एकअर्कासँग संवाद गर्न आआफ्ना अडान लिएपछि नेकपाका दोस्रो तहका नेताहरु अब सक्रिय हुन थालेका छन् ।



शुक्रबार मात्रै अध्यक्ष ओलीका तर्फबाट नेकपा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष प्रचण्डसँग उनको निवास खुमलटारमा भेट गरेका छन् । 

खुमलटार स्रोतका अनुसार त्यो भेटमा पार्टी एकतालाई कसरी जोगाउने र अहिलेको विवाद कसरी मिलाउने भन्ने विषयमा छलफल केन्द्रित रह्यो ।



तर, यसबाट पनि यो विवादको जेलिएको पोयो फुक्ने सम्भावना देखिएको छैन । 

बरु पार्टी एकता जोगाउन मध्यमार्गी भूमिका खेलिरहेका दुवै पक्षका नेता अहिले एकअर्को पक्षको तानातानमा परेका छन् । १० असारमा सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग गरेकाले अहिले ओली पक्ष यो मागबाट पछाडि हट्न नेताहरुलाई आग्रह गरिरहेको छ भने प्रचण्ड–नेपाल पक्षले ओलीले कम्तिमा पनि एक पदबाट राजीनामा दिनै पर्ने अडान कायम राखिरहेको छ ।

यही क्रममा नेकपा उपाध्यक्ष वामदेव गौतमको पछिल्लो ‘मुभ’का कारण प्रचण्ड–नेपाल पक्ष थप संशकित, सतर्क र नयाँ रणनीति निर्माणमा जुटेको छ । किनकि वामदेव गौतमले १३ साउनमा ६ बुँदे प्रस्ताव ल्याउँदै आफू ओली पक्षमा लागेको संकेत गरेका छन् । ओलीले वामदेव गौतमले प्रस्ताव गरेका ६ बुँदालाई आफू अनुकूल हुने भएपछि वामदेव निवासमै पुगेर ‘डिनर मिट’ समेत गर्दै आफ्नो प्रभाव नेकपामा बढी रहेको सन्देश दिएका छन् ।

स्थायी कमिटी बैठकको सुरुवातमा चाहिँ वामदेव गौतमले पनि ओलीले दुवै पक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए । 

तर, अहिले उनी पनि ओली पक्षको लबिइङमा लागेको नेकपाका नेताहरुले बताउन थालेका छन् ।

नेकपा सचिवालयका अर्का नेता रामबहादुर थापा बादलको भूमिका पनि पछिल्लो समय नेकपाको यो विवाद समाधानका लागि महत्वपूर्ण हुने देखिएको छ । यसअघिका विवादमा ओली पक्षमा उभिएका गृहमन्त्रीसमेत रहेका थापा यसपटक कुन पक्षलाई सहयोग गर्दै छन् भन्ने खुलेर आएका छैनन् । केहीअघि खुमलटार पुगेर बादलले प्रचण्डलाई सहयोग गर्ने ‘वचन’ दिएको बताइएको छ । तर, ओलीले एकल निर्णयले स्थगित गरेको र प्रचण्ड पक्षले अगाडि बढाएको स्थायी कमिटी बैठकमा बादल उपस्थित भएनन् । यसले उनले यसपटक पनि ओलीलाई समर्थन गर्ने हुन् कि भन्ने आशंका जन्माएको छ । तर, उनले खुलेर यसबारे केही बोलेका छैनन् ।

तर, ओली र प्रचण्ड–नेपाल पक्षका नेताहरु बादललाई आफ्नो क्याम्पमा ल्याउन लागिरहेका छन् । 

शीर्ष तहमा मात्र होइन, दुई समूहको शक्ति संघर्षमा मध्यमार्गी नेताहरु तानातानमा परेको स्थायी कमिटीका एक नेताले फरकधारलाई बताए । 

 


पूर्व माओवादीभित्र कमजोर बन्दै प्रचण्ड

नेकपाभित्र अहिले प्रष्ट दुई गुट छ । अध्यक्ष ओलीपक्ष तथा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेताहरु मधवकुमार नेपाल र झलनाथ खनाल पक्ष । यी दुई पक्ष अहिले को बलियो हुने भन्ने शक्ति संघर्षमा छन् । तर, प्रचण्ड आफै पूर्वमाओवादी खेमामा भने कमजोर बन्दै गएका छन् । 

पूर्वमाओवादीका केही नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेर दिएको सुझावले पनि प्रचण्ड कमजोर भएको संकेत गर्दछ ।

प्रचण्डलाई भेटेर पूर्वमाओवादी नेताहरुले प्रधानमन्त्री केपी ओलीसँगै मिलेर पार्टीको गतिरोध अन्त्य गर्न सुझाव दिएका हुन् । पार्टीभित्रको गतिरोध अन्त्यका सम्बन्धमा भन्दै पूर्व माओवादी समुहका नेताहरु जनार्दन शर्मा, मणि थापा, हरिबोल गजुरेल, चन्द्रप्रकाश खनाल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेललगायतका नेताहरूले छुट्टै छलफल गरेका थिए । 

छलफलमा उनीहरुले माधवकुमार नेपाल, झलनाथ खनालसहितको ओलीइतर समूहको गठबन्धन बनाएर जाँदा नेकपा झनै संकटको भासमा परेको भन्दै प्रचण्डलाई ओलीसँग मिलेर जान सुझाएका हुन् । अहिलेको निकास भनेको अध्यक्ष ओलीसँग मिलेरै जानुपर्नेमा उनीहरुको जोड थियो । 

छलफलपछि आफै खुमलटार पुगेर उनीहरुले सुझाव समेत दिएका थिए । नेकपा केन्द्रीय सदस्य हरिबोल गजुरेलले पार्टी एकता महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमति आवश्यक रहेकाले सोहीअनुसार अघि बढ्न सुझाव दिएको बताए ।

‘हामीले पार्टीको समस्या समाधानका विषयमा छलफल ग¥यौं । हाम्रो छलफलपछि अध्यक्ष कमरेड प्रचण्डलाई भेटेर पार्टी एकता जोगाउन पहल गर्नुस भनेर सुझाव दिएका छौ’, केन्द्रीय सदस्य हरिबोल गजुरेल फरकधारसँग भने, ‘पार्टी दुघर्टनामा जान दिनुहुँदैन, त्यसमा हामीले के सहयोग गर्नुपर्छ गर्छौं भनेका छौ ।’ 

 

नयाँ समिकरणप्रति असन्तुष्टी बढ्दै

पूर्वमाओवादी केन्द्र समूहका नेताहरुले प्रचण्डलाई पार्टी एकता जोगाउनका निम्ती ओलीसँगै मिलेर जान सुझाएका छन् ।

विशेषतः पूर्व माओवादी समूहका दोस्रो तहका नेताहरुले ओलीलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने मत बाक्लिँदै गएको छ ।

अहिलेको नेकपाको विवाद पूर्वएमालेभित्रको बिवाद जस्तो देखिँदै जाँदा पूर्वमाओवादी केन्द्रअन्तर्गतका नेताहरु हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, मणी थापा, टोपबहादुर रायमाझीलगायत केही नेता आफूलाई मध्यमार्गमा उभ्याउन चाहिरहेको स्पष्ट हुन्छ ।

पछिल्लो समीकरणलाई निरन्तरता दिने हो भने साथ दिन नसकिने पूर्वमाओवादी समूहका नेताहरुले प्रचण्लाई प्रष्ट शब्दमा भनेका छन् ।

विशेषतः बरिष्ठ नेताहरु नेपाल र खनालसँग अध्यक्ष प्रचण्डले बनाएको समिकरण नै गलत भएको आवाज ती नेताहरुले उठाएका छन् । 

‘अध्यक्षलाई हामीले पार्टी एकता जोगाउन पहल गर्नुस । त्यसमा हाम्रो सदैव साथ सहयोग रहन्छ’, अहिले प्रचण्डलाई ओलीसँग मिलेर जान अनुरोध गरिरहेका नेतामध्येका एक मणी थापाले भने, ‘तपाईंले जुन समीकरण बनाउनुभयो, त्यो एकताको भावनाविपरीत छ । तपाईंले केपी ओलीसँगै मिल्नुपर्छ । प्रधानमन्त्रीसँगै मिलेर जाँदा पार्टी एकताको हितमा हुन्छ ।’

त्यसैले अब नेकपामा अध्यक्ष प्रचण्डलाई मिलेको यसअघिको साथ कमजोर हुँदै गएको र उनी झन् साँघुरिँदै गएको टिप्पणी गर्न थालिएको छ । 

  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार ११:२९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया