हाटबजार सञ्चालनमा रोक

सिरहाका विभिन्न स्थानमा लाग्दै आएको हाटबजारमा स्थानीय प्रशासनले रोक लगाएको छ । हाटबजारमा हुने भीडभाड र चहलपहलका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत विभिन्न स्थानमा लाग्ने हाटबजारमा रोक लगाएको हो । 

 

सहर बजार तथा ग्रामीण भेगमा भीडभाड र चहलपहल बढ्ने गरेकाले सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी हाटबजार नलगाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलद्वारा जारी सूचनामा उल्लेख छ । अत्यावश्यक काम नपरी बजार तथा हाटबजार नआउन आग्रह गर्दै प्रजिअ कँडेलले बजार तथा कार्यालय जानै परे अनिवार्य रुपमा मास्क लगाउन र भौतिक दूरी कायम गर्नुपर्ने बताएका छन् ।  

 

साथै कृष्णजन्माष्टमी, रक्षाबन्धनलगायत विभिन्न चाडपर्वका बेला जिल्लाका विभिन्न मन्दिर तथा धार्मिकस्थलमा हुने मेला, महोत्सवसमेत नगर्न सूचनामा आग्रह गरिएको छ ।  

 



छिमेकी सप्तरी र धनुषालगायत जिल्लामा तीव्र रुपमा कोरोना सङ्क्रमण फैलिन थालेपछि जोखिम बढेकाले सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रियाजस्ता कार्यक्रम नगर्न जिल्लाका १७ वटै स्थानीय तहलाई पत्राचार गरी आग्रह गरिएको प्रजिअ कँडेलले जानकारी दिए ।  

 



भारतीय सीमा क्षेत्रमा लुकीछिपी भइरहेको प्रवेशमा कडाइ गरिएको बताउँदै प्रजिअ कँडेलले भारतीय बजारबाट आउने जाने क्रम बढेको गुनासो आएपछि सीमा नाका पूर्ण रुपमा बन्द गर्न कडा निर्देशन दिइएको जानकारी दिए ।
 

  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १४:१२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया