वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचाररत वीरगन्ज १६ नगवाकी ६० वर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भयो । उनलाई श्वासप्रश्वासको समस्या थियो । अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु भयो ।
शनिबार बिहान वीरगन्ज १६ नगवाकै अर्की ५० वर्षीया महिलाको सोही अस्पतालमै उपचारका क्रममा मृत्यु भयो । साउन १४ गते अस्पताल भर्ना भएकी उनमा निमोनिया र हाइपर टेन्सनको समस्या थियो । शुक्रबार स्वाब संकलन गरिएकी ती महिलाको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो । पछि उनको रिपोर्ट पोजेटिभ आयो ।
यसअघि साउन १४ गते एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । तीमध्ये दुईको उपचारका क्रममा र एकको घरमै मृत्यु भएको थियो ।
जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको राति करिब ११ बजे मृत्यु भयो । मुटुको वाइपास सर्जरी गरेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ७ गते दिउँसो अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएका उनको आइसोलेसनको आईसीयु कक्षमा उपचार भइरहेको थियो ।
१४ गते नै वीरगन्ज १६ नगवाका ३५ वर्षीय युवकको पनि गण्डक कोभिड अस्पतालमै मृत्यु भयो । उनमा ज्वरो आउने, श्वासप्रश्वासमा समस्या थियो । मृत्युपछि उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आयो ।
त्यसै दिन मृत्यु भएका तेस्रो व्यक्ति वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुष हुन् । उनी सुगरका बिरामी थिए । पीसीआर परीक्षणपछि उनको नतिजा पनि पोजेटिभ नै आएको थियो ।
त्यसको २ दिन अघि अर्थात् साउन १४ गते पनि वीरगन्जमा २ जनाको मृत्यु भएको थियो । मृगौला बिरामी वीरगन्ज ६ माई स्थानका ७० वर्षीय वृद्धको नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि उनको पीसीआर परीक्षणको नतिजा पोजेटिभ आयो ।
सोही दिन गण्डक कोभिड अस्पतालमा उपचारकै क्रममा अर्का संक्रमित वीरगन्ज ७ रेशम कोठीका ६८ वर्षीय पुरुषको मृत्यु भयो । उनी मुटु रोगी थिए ।
यसअघि साउन ९ गते पनि एकै दिन २ जनाको मृत्यु भएको थियो । वीरगन्ज ११ श्रीपुरकी ८५ वर्षीया वृद्धा मुटु रोगी थिइन् । श्वासप्रश्वासमा समस्या भएकी उनको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृत्यु भएकी अर्की महिला वीरगन्ज १७ परवानीपुर माइतीमा बस्दै आएकी भारतीय महिला थिइन् । लकडाउनकै समयमा माइती आएकी उनी क्वारेन्टिनमा पनि बसेकी थिइन् । उनमा पखाला लाग्ने, जिउ काम्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृत्युपछि उनको पीसीआर परीक्षणको नतिजा पोजेटिभ आयो ।
त्यसअघि साउन ६ गते मंगलबार वीरगन्ज ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । मृत्यु अघि स्वाब संकलन गरिएकोमा मृत्युपछि पीसीआर परीक्षण नतिजा पोजेटिभ आएको थियो । मधुमेह र मुटु रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या थियो ।
असार ३१ गते रौतहटको परोहा नगरपालिका ७ का ३६ वर्षीय युवकको गण्डक कोभिड अस्पतालमै उपचारको क्रममा मृत्यु भयो । आफ्ना दाजुलाई भेट्न भारतको बैंगलोर गएका ती युवक भारतबाट फर्किएपछि उनका संक्रमण देखिएको थियो । उनका दाजुको भारतमै कोरोना संक्रमणले मृत्यु भएको थियो ।
यसअघि जेठ ३० गते वीरगन्जको घण्टाघरमा फेला परेका करिब ३५ वर्षीय उमेरको जस्तो देखिने युवकको बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसै दिन बाराको निजगढबाट उपचारका लागि वीरगन्ज हेल्थ केयरमा ल्याइएका ५ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको थियो । निमोनिया पीडित बालकको उपचारकै क्रममा मृत्यु भएको थियो ।
यसअघि नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बाराका एक वृद्धको दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि भएको थियो । जेठ २ गते अस्पतालमा उपचारार्थ भर्ना भएका ७० वर्षीय वृद्धको जेठ ४ गते उपचारकै क्रममा मृत्यु भएको थियो । भेन्टिलेटरमा राखिएका उनको उपचारका क्रममा मृत्यु भयो । मृत्युअघि स्वाब संकलन गरिएकोमा जेठ ४ गते उनको मृत्यु भएको थियो । जेठ ११ गते पोजेटिभ नतिजा आउँदा उनको दाहसंस्कार भइसकेको थियो ।
यसरी पर्सा जिल्ला तथा वीरगन्जमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १४ पुगिसकेको छ । यो मुलुककै सम्पूर्ण जिल्लाहरूमध्ये सर्वाधिक बढी संख्या हो । संक्रमितको बढ्दो मृत्यु दरले पनि जिल्लाबासीलाई त्रसित बनाइरहेको छ ।
वीरगन्जमा मृत्यु हुनेमध्ये ९ जनामा मुटु रोग, मधुमेह, मृगौला रोग जस्ता समस्या थिए । एक युवक र महिलामा कुनै दीर्घ रोग थिएन । उमेर समूह हेर्दा दीर्घ रोगी र प्रौढ तथा वृद्धवृद्धाको बढी मृत्यु भएको छ ।
अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अधिकांशको शरीरमा अक्सिजनको मात्रा कम हुने, श्वासप्रश्वासमा समस्या देखिने गरेको पाइएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहको अनुभव छ ।
यस्तो छ वीरगन्जमा संक्रमणको इतिहास
वीरगन्जको छपकैयामा पहिलो पटक २०७६ चैत २९ गते ३ भारतीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । एक समुदाय विशेषका उनीहरू धार्मिक यात्राका क्रममा नेपाल आइपुगेका थिए । घर फर्किनु अघि पीसीआर परीक्षण गराएका उनीहरूको नतिजा पोजेटिभ आएको थियो । त्यसयता उकालो लागेको कोरोना संक्रमितको ग्राफ असार मध्यतिर आइपुग्दा निकै घटेको थियो । दैनिक पहिचान हुने संक्रमितको संख्या घटेर दुई अंकभन्दा पनि कममा आइपुगेको थियो ।
लकडाउन हटेसँगै संक्रमण बढ्यो
लकडाउन अवधिमा किट अभावको कारण पटक–पटक वीरगन्जमा पीसीआर परीक्षण प्रभावित हुँदै आएको थियो । तर ४ महिना लामो लकडाउन हटेसँगै पीसीआर परीक्षणको दर पनि बढ्यो । यसले वीरगन्जमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिइसकेको डरलाग्दो तथ्यांक पनि सार्वजनिक गर्न थाल्यो । साउन लागे यता दैनिक जसो पीसीआर परीक्षणको नतिजा सार्वजनिक हुँदा ५० भन्दा बढी संक्रमित थपिएको नतिजा देखाउँछ । बढ्दो संक्रमण र दैनिक मृत्यु हुनेको संख्या पनि थपिँदै जाँदा जिल्लाबासीमा त्रास पनि बढ्दो छ ।
मेयर र सांसद पनि संक्रमित
सर्वसाधारण मात्र नभई जिल्लामा हाइ प्रोफाइल तथा उच्च पदस्थ व्यक्तिहरूमा संक्रमण हुने क्रम पनि बढेको छ । साउनको तेस्रो साताको मध्यतिर वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगी र जिल्लाका संसदीय क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव पनि संक्रमित हुन पुगे । उनीहरू पटक–पटक संक्रमितको उपचार तथा व्यवस्थापन कार्यमा जुटेका थिए । मेयर सरावगी हाल राजधानीमा उपचाररत छन् ।
आइतबार सार्वजनिक भएको नतिजा अनुसार जिल्लामा आइतबार ४५ नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायका अनुसार मेयर सरावगीकी पत्नी र छोरीमा पनि संक्रमण पुष्टि भएको छ । कुल परीक्षण गराउनेमध्ये करिब २० प्रतिशतमा संक्रमण देखिने गरेको छ ।
संक्रमितको मृत्युपछि शवको सद्गतमा समस्या
कोरोना संक्रमणका कारण मृत्यु भएकाहरूको शवको सदगतमा पनि समस्या हुन थालेको छ । शुक्रबार राति वीरगन्ज ३१ बेल्वामा स्थानीयले ३ मृतक संक्रमितको शवको सदगत गर्न लग्दा बाटोमा अवरोध मात्र गरेनन् शव बोकेको सेनाको टोलीमाथि ढुंगामुढा समेत गरे । स्थितिलाई नियन्त्रणमा लिन नेपाल तथा सशस्त्र प्रहरीले हवाई फायरसँगै बल नै प्रयोग पनि गर्नुपरेको थियो । त्यस क्रममा ७ सुरक्षाकर्मी घाइते पनि भए ।
कोरोना संक्रमित मृतकको शवको सदगत गर्ने जिम्मेवारी बोकेको नेपाली सेना पनि अन्योलमा छ । वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका प्रमुख कर्नेल मदनजंग राणा पटक–पटक यसरी मृतकको शवको सदगत गर्दा स्थानीयले अवरोध गर्ने गरेकाले समस्या भइरहेको बताउँछन् ।
यसअघि पनि वीरगन्ज ३१ बेल्वास्थित भेडाहा खोलामा २ संक्रमित महिलाहरूको शवको सदगत गर्न खोज्दा स्थानीयले व्यापक विरोध गरेका थिए । त्यसैगरी वीरगन्जकै तिलाबे खोलामा आदर्शनगरका ६० वर्षीय व्यवसायीको शवको सदगत गर्दा खोला पारीको गाउँ बिन्दवासिनी बर्वाबासीले पनि चर्को विरोध जनाएका थिए । शव जहाँ लगे पनि स्थानीयले विरोध गर्ने गरेकाले यो समस्याको दीर्घकालीन समाधान गरिनु आवश्यक रहेको उनको बुझाइ छ ।
स्थिति भयावह बनिसक्यो
सेनाका कर्नेल राणा वीरगन्जको हालको अवस्था भयावह भइसकेको बताउँछन् । वीरगन्जमा समुदायस्तरमै कोरोना संक्रमण फैलिइसकेको र यो तेस्रो चरणको संक्रमण भएकाले अब जोखिम अत्यन्तै बढेको उनले बताए । ‘सबै सरोकारवालाहरू गम्भीर भएर लाग्नुको अब विकल्प छैन,’ उनले भने, ‘कि त कोरोनासँगै बाँच्न सक्नु पर्यो, नत्र यसलाई निर्मूल पार्न थप केही साता कडा कर्फ्युसँगै पीसीआर परीक्षणको दायरा तीब्र रूपमा विस्तार गरेर सँगसँगै आइसोलेसनको व्यवस्था पनि गर्न जरुरी भइसकेको छ ।’
हाल जिल्लामा रहेको एक मात्र कोभिड अस्पताल गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहको चिन्ता र अप्ठ्यारा पनि उत्तिक्कै छन् । ५० शय्या क्षमताको गण्डक कोभिड अस्पताल संक्रमितले भरीभराउ भएर त्यहाँ शय्या अभाव भएको छ ।
बाहिर क्वारेन्टिनहरू तथा घरमा समेत बसेकाहरूको संख्या झण्डै २ सय पुगेको छ । २ साता यता कोभिड अस्पतालमा भर्ना भएका संक्रमितमध्ये करिब ७० प्रतिशत लक्षण सहितका संक्रमित भएकाले उनीहरूको उपचार गरेर निसंक्रमण पार्न पनि समय लागिरहेको उनी बताउँछन् । ‘अधिकांश संक्रमितमा जिउ दुख्ने, ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, पखाला लाग्ने जस्ता समस्या छन्, उनीहरूलाई निको पार्न समय लाग्छ,’ उनले भने, ‘गण्डक मात्र नभई अन्य अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि धमाधम संक्रमित भइरहेको अवस्थामा कोभिड अस्पतालमै खट्ने चिकित्सकको अभाव भइरहेको छ, हामीले निजी क्षेत्रका चिकित्सकलाई पनि कोभिड अस्पतालमा सेवा दिन आह्वान गरेका छौं, तर कोही आउन तयार छैनन् ।’
यस्तै अवस्था रहे एकातिर कोरोना संक्रमितको संख्या बढ्दै जाने र अर्कोतिर तिनको उपचारमा खटिने चिकित्सकै नपाउने अवस्था आउन सक्ने बलियो सम्भावना रहेको डा. सिंह बताउँछन् । कोरोना संक्रमण फैलिने दर अझै घट्ने सम्भावना नरहेको देखिरहेका डा सिंह वीरगन्जको यो अवस्थालाई ‘भगवान् भरोसा’ भन्छन् । ‘साँच्चिकै अहिलेको वीरगन्जको अवस्था भगवान् भरोसा नै छ,’ उनले भने, ‘यो अवस्थाबाट बाहिर निस्कन चानचुने प्रयासले सम्भव छैन ।’
जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसिया पनि हाल वीरगन्जको अवस्था गम्भीर भइसकेको स्वीकार्छन् । गण्डक कोभिड अस्पतालको विकल्प नहुनु र ठूलो संख्यामा बिरामीहरू घर र क्वारेन्टिनमा थन्किएको अवस्थाको अविलम्ब अन्त्य हुन जरुरी रहेको उनी बताउँछन् । ‘थप शय्या सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याउन जरुरी भइसकेको छ,’ उनले भने, ‘त्यतिन्जेल पूर्वाधार सहितको घरमै आइसोलेसन वा सेनाले बनाएको सिद्धार्थ स्कुलको सेमी आइसोलेसन प्रयोग गर्नु नै उचित हुन्छ ।’
कस्तो छ हालको अवस्था
नारायणी अस्पतालका मेसु डा. उपाध्याय संक्रमणको स्वरुप हाल परिवर्तन भइसकेको बताउँछन् । सुरुमा जिल्लामा बढी देखिएको र बीचमा स्थीर भएर हाल संक्रमण व्यापक रूपमा देखिएको उनको बुझाइ छ । पछिल्लो समय लक्षण सहितका कडा संक्रमण देखिएको, रोगसँग लड्ने क्षमता कमजोर भएका दीर्घ रोगी, वृद्ध उमेरका मात्रै नभएर युवाको पनि मृत्यु भइरहेकाले हाल कडा खालको भाइरस आएको संकेत देखिएको उनले बताए ।
सेनाका कर्नेल मदनजंग राणा लकडाउनको समयमा आफूहरूले जिल्लाको अवस्थालाई ‘सफलतापूर्वक म्यानेज’ गरेकोमा लकडाउन हटेपछि सबै भताभङ्ग हुन पुगेको बताउँछन् । ‘लकडाउनको अवधिसम्म पनि हामीले सफलतापूर्व म्यानेज गरेकै हो,’ उनले भने, ‘त्यति बेलासम्म जिल्लाभरिका क्वारेन्टिनमा जम्मा ३३ संक्रमित थिए, लकडाउन हटेपछि मानिस लोभीपापी भए, कतिपयलाई आफ्ना मान्छे त कतिपय उद्योगीलाई आफ्ना मजदुरलाई भारतबाट ल्याउनै पर्ने भयो, उद्योग चलाउन उद्योगीको स्वार्थ र लोभपापले भारतबाट मानिस नेपाल भित्रिए, त्यसले बिगार्यो ।’
भारतबाट भित्रिनेहरूको कुनै नियमन र तथ्यांक पनि राखिएन । जब त्यसको असर देखियो त्यतिन्जेलसम्म समुदाय स्तरमै कोरोना संक्रमण फैलिइसकेको थियो । जिल्लामा समुदायस्तरमा संक्रमण फैलन एक साताको समय मात्र लागेको उनको बुझाइ छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत पनि लकडाउन हटेसँगै यहाँका उद्योग कलकारखानाहरूमा भारतीय मजदुरलाई भित्र्याउनु ठूलो कमजोरी भएको स्वीकार्छन् । ‘लकडाउन हटेसँगै उद्योग कलकारखाना निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण बन्यो, त्यसपछि भारतीय मजदुर भित्र्याउन थालियो,’ उनले भने, ‘यससँगै पीसीआर परीक्षणको दायरा पनि बढ्यो, हालका दिनहरूमा दैनिक कम्तीमा ४ सय पीसीआर परीक्षण भइरहेको छ, त्यससँगै संक्रमितको नतिजा पनि बढन थालेको हो ।’ भारतीय नागरिकबाटै जिल्लामा संक्रमण फैलिन मुख्य भूमिका खेलिएको उनको पनि ठम्याइ छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण फैलिनुमा सरोकारवाला सम्पूर्णको कमजोरी र भारतसँगको सामिप्यता पनि प्रमुख कारण रहेको बताउँछन् । ‘भारतीयको प्रवेश र हामी सबैको कमजोरी पनि मुख्य कारण हो,’ उनले भने, ‘भारतीय नागरिकलाई आफ्नो देशमा प्रवेश गराउने आतुरताले पनि ठूलो भूमिका खेल्यो, यसले हामीलाई नै नोक्सान हुन्छ भनेर कसैले बुझिदिएन ।’
अध्ययन गर्न टोली वीरगन्जमा सक्रिय
वीरगन्जको हालको अवस्थाबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विभागको टोली शुक्रबार वीरगन्ज आएर आफ्नो काम सुरु गरी सकेको उनले बताए । ‘टोलीले यसबारे अध्ययन सुरु गरिसकेको छ,’ उनले भने, ‘सम्भवतः सोमबारसम्म आफ्नो अध्ययन नतिजा तयार पारिसक्नेछ ।’ त्यसपछि नयाँ रणनीति बनाएर काम गर्न सहज हुने उनको बुझाइ छ ।
निषेधाज्ञा जिल्लाभरि
जिल्ला सुरक्षा समितिको शनिबार सम्पन्न बैठकले सोमबारदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । यसअघि साउन १० देखि वीरगन्ज महानगर क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञाको बावजुद जिल्लामा कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दै गएकाले निषेधाज्ञाको दायरा जिल्ला भरी बढाइएको हो ।
बारामा पनि निषेधाज्ञा
उता छिमेकी जिल्ला बारामा पनि आइतबारदेखि निषेधाज्ञा जारी गरिएको छ । वीरगन्ज तथा पर्सा जिल्लासँग अत्यन्त नजिक रहेको यो जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक थपिँदै गएसँगै जिल्ला सुरक्षा समिति बाराको शुक्रबार सम्पन्न बैठकले आइतबार बिहान ५ बजेदेखि जिल्लाभरि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।