आंशिक रुपमा खुलाइयो अरनिको राजमार्ग
फाइल फोटो

 

केही दिनको भोटेकोशीको बाढीले क्षतिग्रस्त बनेको अरनिको राजमार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ । सडक विभाग, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र नेपाल फलफुल व्यवसायी संघले स्थानीय तहसँगको समन्वयमा आइतबारदेखि सडक खुलाएका हुन् । सडक खुलाउन मध्य भोटेकोशी जलविद्युत् आयोजनाको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्शी हाइड्रो इलेक्ट्रिक ब्यूरोले पनि सहयोग गरेको थियो ।

 

असार २५ गतेको भोटेकोशीका बाढीले अरनिको राजमार्गका विभिन्न सात स्थानमा सवारीसाधन चल्नै नसक्नेगरी सडक कटान गरेको थियो । बाढीले जुरे पहिरो नजिकै कटान भएको तेस्रो दिनमै बाह्रबिसे नगरपालिकाले सडक खुलाइसकेको थियो भने सोभन्दा माथितिर पनि सडक अस्थायी रूपमा खुलाइएको हो ।​बाह्रबिसेको खुर्सानीबारीस्थित ओडार कुनामा खोला घटेपछि बगरमै सडक निर्माण गरी यातायातका साधन सञ्चालनमा ल्याइएको छ ।


सडक खुलाउन सडक विभागबाट एक्स्काभेटर र लोडरका साथै नेपाल ट्रक कन्टेनर व्यवसायी संघ तथा नेपाल फलफूल संघका तर्फबाट एउटा एक्स्कभेटर प्रयोग भएको थियो । यसैगरी बाह्रबिसे नगरपालिकाले एउटा एक्स्कभेटर र मध्य भोटेकोशी जलविद्यत् निर्माण कम्पनीले एकरएकओटा एक्स्कभेटर, लोडर र टिपर परिचालन गरेको थियो ।

 



तातोपानी नाका खुलेसँगै सामग्री लिन गएका सयौं मालवाहक सवारीसाधन नाकामै अलपत्र परेर बसेकोले आफूहरूले सडक सञ्चालनमा ल्याउन सरकारलाई सघाएको नेपाल ट्रक कन्टेनर व्यवसायी संघले जनाएको छ । 

 



सडक विभाग, व्यवसायी र नगरपालिकाका साधनमार्फत जुरेदेखि जम्बुसम्मको सडक निर्माण गरिएको हो । जम्बुसहित बसेरी, डाकलाङ, झ्याले भीर लगायत स्थानमा मध्य भोटेकोशी निर्माण कम्पनी र भोटेकोशी गाउँपालिकाको साधन प्रयोग गरिएको थियो । अस्थायी रूपमा सडक सञ्चालनमा आएपछि केही स्याउ, लसुन तथा हाते ट्याक्टर बोकेका कन्टेनर काठमाडौं गइसकेका छन् केहीले भन्सार प्रक्रिया मिलाउन थालेको बताइएको छ ।

 

अहिले अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइएको र यसलाई स्तरोन्नति गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयसहित संघीय सांसदका सभामुख र प्रदेश मन्त्रालयहरूसँग समन्वय भइरहेको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । बाढीका कारण खाग्दल, जम्बु, बेल्कोटे लगायत स्थानमा पक्की पुल समेत बगाएकाले अझै पनि सो सडकको यात्रा जोखिमपूर्ण नै रहेको छ ।
 

  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १३:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया