मेलम्ची पहिरोमा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिरोमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।
मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौँ पठाइएको उनले बताए ।
बरुवामा घर पुर्दा दुईको मृत्यु
यसैबीच, अविरल वर्षासँगै आएको पहिराले पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिरोले एक घर पुर्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उनकी श्रीमती लक्ष्मी क्षत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए ।
गएराति गएको पहिरोले उनीहरुलाई पुरेको थियो । स्थानीयवासीले उनीहरुको शव निकालेका हुन् । उनीहरुका दुई छोरी र एक छोरा छन् । छोरा काठमाडौँ आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।