क्वाँटी खानुभयो ? एकदिन होइन हरेकदिन खानुहोस् : डा अरुणा उप्रेती

हाम्रो समाजमा मनाइने विभिन्न चाडहरूमा फरक, फरक परिकार पकाउने र खाने चलन छ । त्यही चलनअनुसार जनैपूर्णिमाको दिन क्वाँटी खाने गरिन्छ । क्वाँटीलाई नेवारी समुदायमा ‘क्वाँती’ भन्ने गर्छन् । यही तिथिलाई भारतमा रक्षाबन्धन भनेर मनाउँने चलन छ । तर, क्वाँटी खाने चलन भने नेपालमा मात्र छ ।

क्वाँटी मा केराउ, भटमास, मास, मुँग, चना, बकुल्ला, सानो केराउ लगायत नौ प्रकारका गेडागुडी समावेश गरिन्छ । यस्ता गेडागुडी हामी विशेषत जनैपूर्णिमाको दिनमा मात्रै खाने गर्छौं । तर, डाक्टर अरुणा उप्रेती क्वाँटी कम्तीमा साताको दुई पटक खान सल्लाह दिन्छिन् ।

अरुणा भन्छिन्, ‘भिजाएर उमारेको गेडागुडी भनेको जीवित पोषण हो । सामान्य अवस्थामा भिजाएर अथवा उसिनेर मात्रै खाने गेडागुडीमा भन्दा टुसा उमारेको गेडागुडीमा दोब्बर पोषण हुन्छ । क्वाँटीमा धेरै प्रकारका गेडागुडी मिसाएर उमारिएको हुन्छ । यसो गर्दा सबै गेडागुडीमा भएको प्रोटिन मिश्रित हुन्छ । यसलाई पोषणको भण्डार भनिन्छ ।

हाम्रो सँस्कृतिले एकदिन क्वाँटी खानु भने पनि हामीले यसको महत्त्व बुझेर दैनिक खानामा सामेल गर्नुपर्छ । कोभिड १९ विरुद्ध लड्न पाचन प्रणालीले महत्त्वपूर्ण भूमिका खेल्ने कुरा सबैलाई थाहा भइसकेको छ । त्यसैले हामीले रोगसँग लड्ने क्षमता वृद्धि गर्न उम्रिएका गेडागुडी खानामा अनिवार्य गर्दा राम्रो हुन्छ । यसले हामीलाई भाइरसँग लड्ने क्षमता प्रदान गर्छ । माछा मासु नखानेहरूका लागि उम्रिएको गेडागुडी उत्कृष्ट भोजन हो ।

यसमा भिटामिन, प्रोटिन र फाइवर प्रशस्त मात्रामा पाइन्छ । सधैं क्वाँटी खान सम्भव नभए जुनसुकै गेडागुडीलाई पनि उमारेर खाने बानी बसाल्नुपर्छ । बच्चाहरूको दिमाग तेज बनाउँन, वृद्धहरूलाई रोगबाट बचाउँन, गर्भवतीलाई रक्तअल्पता र कुपोषण हुनबाट बचाउन यो उपयोगी पथ्य आहार हो ।

उम्रिएको गेडागुडी र क्वाँटीलाई विभिन्न परिकार जस्तै : अचार, रोटी, बारा, फ्राई तरकारी, रस राखेर आफ्नो स्वाद अनुसार खान सकिन्छ । त्यसैले क्वाँटी सम्भव भएसम्म सधैं खानुपर्छ ।’
 





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १६:१९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया