#farakक्षमता: हिजाे मर्न चाहन्थिन् हिरा !
फरकधार / १९ साउन, २०७७

हिरा तामाङ मर्न चाहन्थिन् । आत्महत्याका प्रयास पनि उनले नगरेकी होइनन्, तर उनी मरिनन् ।

मर्न खोजेर मर्न नसकेको र अब मर्न नचाहेर जीवनलाई हिराजस्तै बहुमूल्य मान्नुका पछाडि हिराको जीवनमा एउटा लामो कथा छ । र, यो कथामा छन्, अनेक गाँठाहरु । अब त हिरा यी सबै गाँठाहरुलाई सहजै फुकाउन सक्ने भएकी छन्, दुःखका ती गाँठहरुलाई खुकुलो बनाइसकेकी छन्, उनी त अब एउटा यस्तो यात्रामा अगाडि बढिसकेकी छन्, जुन यात्रालाई नै उनी भन्छिन्– बहुमूल्य । बहुमूल्य अर्थात् हिरा । हिरा अर्थात् बहुमूल्य ।

हिराले जीवनको यो ‘रहस्य’ थाहा पाएपछि सङ्कल्प गरेकी छन्– मर्नु हुँदैन । हो, मृत्यु कसैले टारेर टर्दैन, जीवनका अनिश्चित अनेक मोड र घुम्तीहरुमा पनि यो निश्चित छ, एकपटक जन्मिएपछि मृत्यु हुन्छ नै !

जीवनका अँध्यारा र उज्याला पक्ष हुन्छन् नै, सिक्का दुई पाटाजस्तै कहिले जीवनले अँध्यारोतिर कोल्टे फेर्छ, कहिले उज्यालो तिर । तर, भनिन्छ नि जसले अँध्यारोतिर जीवनले कोल्टे फेर्दा पनि क्षितिजमा सानो आशाको किरण देख्छ, उसले जित्छ ।

हिरा तामाङले अब जितेकी छन्, अब उनी मर्न चाहन्नन् । अर्थात्, उनले जीवनका ती कहालीलाग्दा क्षणहरुबाट अब आशाका किरणहरुलाई आफू अघिल्तिर पाउन थालेकी छन् । 

र, यो जित अर्थात् विजयमा हिराले पार गरेकी छन्, नाइल नदीभन्दा लामा दुःखका भङ्गालाहरु ।

 

यो २०६३ सालको कुरा हो । हिराले त्यो वर्ष एसएलसी परीक्षा दिइन् । अनि बनाउन थालिन्, सपनाहरु । त्यस्ता सपना जसले उनलाई पुर्याउन् एउटा शिखरमा । 

त्यसका लागि उनले एसएलसीअघि राम्रै मिहिनेत गरेकी थिइन्, यसको रिजल्ट एसएलसीको नतिजा प्रकाशित भएपछि प्रमाणित भयो । हिराले एसएलसीमा राम्रो अंक ल्याइन्, प्रथम श्रेणीमा एसएलसी पास गरिन् ।

तर, हिराको जीवनको ट्विस्ट एन्ड टर्न चाहिँ एसएलसीको रिजल्ट आउँदासम्म पनि कुर्न सकिँदैन ।

रिजल्टभन्दा केही दिनअगाडिको त्यो सम्झना अहिले पनि हिराको मनमा कुनै प्रेमीले ढुंगामा खोपेको प्रेमिकाको नामजस्तै अमेट छ, चर्को घाउका रुपमा खोपिएको छ । 

त्यो दिन अरु दिनहरुजस्तै हिरा घरमा पालेका गाइवस्तुका लागि घाँस काँट्न गएकी थिइन् । खन्युको बोटमा चढेर दुई चार डाला उनले के काटेकी थिइन्, उनी रुखबाट चिप्लिइन् ।

र, बङ्रङ्ग पछारिइन्, भुइँमा । 

हो, त्यही पल बजारिए हिराका सपना । त्यही पल पछारिएका उनका भविष्यका योजना र त्यसमा उनले सयर गर्न बनाएका कल्पनाहरु ।

अनि मोडियो कतै क्षितिजमा पुगिसकेको उनको जीवन । त्यसअघि हिराले सोचेकी थिइनन्, क्षितिज उनले भेट्न नसक्ने गन्तव्य हो । त्यसपछिका दिनमा चाहिँ उनलाई लाग्न थाल्यो– क्षितिज आफ्नो बलबुताको कुरा होइन !

जुन डोकोमा घाँस ल्याउन भनेर जंगल पुगेकी थिइन्, त्यही डोकोमा बोकिएर उनी घरसम्म ल्याइइन् । 

‘म यसरी बजारिएकी थिएँ कि मेरा दुवै खुट्टा चल्नै छाडेका थिए,’ १४ वर्षअघिको त्यो घटना हिराले केही दिनअघि कालिकास्थानमा रहेको ‘नेपालय’को कार्यालयमा सम्झिइन्, ‘म बेहोस भएछु, स्वास्थ्य चौकीमा लगिएको रहेछ, त्यहाँ गएपछि बल्ल मेरो होस आयो ।’

जुन चोट हिरालाई लागेको थियो, त्यसको उपचार गाउँमा गर्न सम्भव भएन । उदयपुरका अरु अस्पतालमा पनि उनको उपचार हुने सम्भावना कम देखियो । उनलाई त्यहाँबाट लगियो, बिपी विज्ञान प्रतिष्ठान धरानमा ।

सौभाग्य भनौँ कि दुर्भाग्य, बिपीमा उपचार गराइरहँदा हिरालाई थाहा भयो– उनले एसएलसी प्रथम श्रेणीमा पास गरिन् तर उनको शारीरिक स्वास्थ्यमा भने उनी नमीठोसँग फेल भएकी थिइन् । ‘मेरो स्पाइनल कर्डमा नै चोट पुगेको रहेछ,’ हिराले सम्झिइन्, ‘त्यो अस्पतालमा मेरो ६ महिना उपचार भयो । तर, मेरो अवस्था उन्नाइसको बीस भएन ।’

हिराले एसएलसी परीक्षा दिनुअघि नै सोचेकी थिइन्– बाबुआमालाई कन्भिन्स गर्छु र काठमाडौं पढ्न जान्छु ।

जुन दिन परीक्षाको नतिजा आयो, त्यो दिन उनलाई थाहा भइसकेको थियो, ‘उनी अब पहिलेजस्तो पढ्न सक्दिनन्, हिँडडुल गर्दै कलेजसम्म गएर !’

त्यसपछि नै हो, उनलाई बाबुआमाले कन्भिन्स गर्न थालेका । अब हिराका बाबुआमाको पालो थियो, दुवैले हिरालाई भनिरहेका थिए– तिमी पहिलेकै जस्तो हिँड्न सक्ने हुन्छ्यौ ।

बिपी अस्पतालमा ६ महिना उपचार गरिसकेपछि हिराले आशाको त्यान्द्रोलाई पनि आफूमा बाँकी राखिनन्, बाबुआमाको आश्वासनलाई पनि विश्वास गर्न सकिनन् । 

अर्कोतिर, छोरीलाई पहिलेजस्तै बनाउन बाबुआमा धामीझाँक्रीको सहयोग लिन पुगे । 

औंलामा गनेर बसेकी थिइन् हिराले, ठ्याक्कै चार वर्ष उनलाई पहिलेकै अवस्थामा फर्काउन र घरको आँगनमा हिँडडुल गरेको हेर्न चाहन्थे सबैजना । 

घरको पिँढीबाट बाहिर आफैं हिँडेर निस्कन सक्ने अवस्था हिराको जीवनमा त्यति बेला आएन । हो, उनका सपनाका बेगहरु अझै पनि ठूला पहाडहरुलाई चिरेर अगाडि बढिरहेका थिए । तर, मनको त्यो बेगलाई रोकिदिएको थियो, उनको शरीरले ।

‘आमाले अब दुई महिनामा मेरी छोरी ठिक हुन्छे भन्नुहुन्थ्यो,’ हिराले सम्झिइन्, ‘पाँच वर्ष आमाका त्यस्ता दुई महिना कति बिते कति, म विस्ताराबाट बाहिर निस्कन कहिल्यै सकिनँ ।’

उनको शरीरले उनलाई साथ नदिए जस्तै सोचले पनि अब पूर्णिमाबाट औंसीतिर उनलाई डोर्याउन सुरु गरेको थियो ।

अनि उनलाई भेट्न आउनेहरु पनि भनिदिन्थे– अब हिराको तल्लो भाग आफैं कुहिएर जान्छ । 

यस्तो सुन्दासुन्दै हिराले आफूलाई कुनै गहिरो दहको पिँधमा पाउन थालिसकेकी थिइन् । यस्तो कि मानौँ त्यो धातु हिरा पनि समुद्रको गहिराइमा भेटिन्छ, अहिले आएर उनले यसलाई प्रमाणित गरिदिएकी छन् । 

‘ती दिन यस्ता थिए, जतिबेला मैले आफूलाई नै सकाउनु पर्छ भन्ने सोच्थेँ,’ हिराले भनिन्, ‘आमाको सलले घाँटी कसेर आफूलाई मार्न पनि खोजेँ ।’

त्यसपछि मज्जाले हाँसिन् हिरा । अनि थपिन्, ‘तर, सलले घाँटी कसेर त आफूलाई मार्न सकिँदैन रहेछ ।’

हिराले आत्महत्या प्रयास गरेको यो पहिलो पटक थियो । तर, यो क्रम त्यसपछि पनि उनले रोकिनन् । उनले त बारम्बार यसलाई अन्तिम रुप दिने प्रयास गरिरहिन् ।

तर, हिरा मरिनन् ।

आत्महत्या गर्न चाहिन्थन् हिरा । तर, असफल भइन् ।

 

त्यही असफलताले अहिले हिरालाई सफलतामा डोर्याउन थालेको छ ।

र, यो यात्रा सुरु भयो उनकै घरबाट । घरमा दिनभर विस्तारामा हिरालाई समय कटाउन पट्यारलाग्दो भएपछि उनलाई बाबुआमाले व्यवस्था गरिदिए– फोन । 

कुनै दिन असफलतालाई कल्पिएर चिन्तित हुने हिरा अब विस्तारै त्यही फोनबाट रेडियोमा बज्ने आशालाग्दा गीत सुन्न थालिन्, रेडियोमा आउने कार्यक्रममा सहभागी हुन थालिन् । 

अनि थालिन्, साथीहरु बनाउन ।

‘पत्रमित्र साथीहरु र रेडियोका फोन इन कार्यक्रमहरुमा म सहभागी हुन थालेँ,’ हिराले भनिन्, ‘कहिल्यै नदेखेका साथीहरुलाई फोन गर्न थालेँ, उनीहरुले आशा र भरोसा, आँट र विश्वास बढाइदिए ।’

अब विस्तारै हिरा बाहिरी दुनियाँमा आउन थालिन् । 

एक दिन उनको नाममा उपहार आइपुग्यो– जीवन काँडा कि फूल ।

मदन पुरस्कार जितेको झमक घिमिरेको यो पुस्तक उनलाई पठाएका थिए, उदयपुरकै रवीन्द्र कार्कीले । कार्कीले त्यसअघि पनि हिरालाई बारम्बार भनिरहेका हुन्थे– तिमीले पढ्नै पर्छ, पढ । हिराका एक नातेदार थिए, उनले नै कार्की र हिराको चिनजान गराइदिएका थिए । त्यसपछि उनको जीवनको प्रेरणाको सेतु बन्न थाले, कार्की ।

२०६३ सालमा खन्युको रुखबाट लडेपछि हिरालाई लागेको थियो– जीवन काँडा हो । तर, जब झमकको पुस्तक उनले पढ्न थालिन्, उनले थाहा मात्र पाइनन्, सोच्न थालिन् र महसुस गर्न थालिन्– त्यही काँडबीच पनि फुल्दो रैछ सुन्दर जीवन ।

अब काँडाबीच टुसाएको त्यो जीवनको आशालाई फक्रिन दिन हिराले साथ लिइन्, अन्य साथीहरुको । अनि लेख्न थालिन् आफ्ना जीवनका उकालीओरालीहरु । 

तर, अब ती उकालीओराली उनको लेखनमा मात्र सीमित भएन । कार्कीले हिरालाई पुर्याइदिए, सहर । जहाँ हिराले सिक्न थालिन्, मोबाइल रिपेयरिङ ।

‘९ वर्षपछि म घरको दिवारबाहिर निस्किएकी थिएँ,’ हिराले सम्झिइन्, ‘यसले त मेरो आत्मबल बढाइदियो ।’

मोबाइल बनाउन सिक्दासिक्दै हिरा फेसबुकमा पनि रम्न थालिसकेकी थिइन् । अनि फेसबुकमा आफ्ना मनका भावना राख्न पनि थालेकी थिइन्, आफ्नो अवस्थाबारे पनि लेख्न थालेकी थिइन् ।

‘एकदिन फिनल्यान्डबाट जगन्नाथ काफ्ले दाइले भन्नुभयो,’ हिरा हाँसिन्, ‘म तिमीलाई काठमाडौं लगेर उपचार गरिदिन्छु ।’

अब फेरि हिराको सपनाको उडान अर्को गतिमा उड्न थाल्यो !

 


काफ्लेले हिरालाई काठमाडौं आउने परिबन्द मिलाए । उनी काठमाडौं आइन् । 

जोरपाटीमा रहेको अर्थोपेडिक्स अस्पतालमा उनको उपचार भयो । त्यहाँ उनका बाबुआमालाई अर्को आशाको किरण देखाइयो– हिरालाई त साँगामा रहेको स्पाइनल कर्ड इन्जुरी रिह्याबमा लग्यो भने ठिक हुन्छ । 

त्यति बेला त हिरालाई पनि खुसी लागेको थियो, अब आफू फेरि हिँड्न सक्छु भन्ने भएको थियो । 

तर, जोरपाटीका अस्पतालका चिकित्सकले खासमा यहाँ एउटा ‘मीठो झुट’ बोलेका थिए । ‘उहाँको चाहना मैले त्यहाँ गएपछि मजस्तै अरु व्यक्तिहरु भेट्छु अनि मेरो फ्रस्टेसनको अन्त्य हुन्छ भन्ने रहेछ,’ हिराले पछि थाहा पाइन्, ‘साँगामा उनको जस्तै समस्या भएका अरु पनि धेरै थिए ।’

खन्युको त्यो बोटबाट हिरा खसेको ११ वर्ष भएको थियो । नेपाली समाजमा भनिन्छ– १२ वर्षमा खोलो फर्किन्छ । हिराले त ११ वर्षमा नै आफूलाई पूर्ववत अवस्थामा पुर्याउन पाइन्, ह्विलचेयरको सहयोगमा नै किन नहोस्, हिँडडूल गर्न थालिन् ।

काँडाहरुबीच फक्रने गुलावको जसरी हामीकहाँ महत्त्व छ, हिराले ह्विलचेयरमा नै भएको जीवनमा पनि सौन्दर्य अब पत्ता लगाउन थालिन् । 

साँगमा मैले जीवनलाई सहज बनाउन सिकेँ,’ हिराले भनिन् । खासमा त्यहाँ हिराले आफूभन्दा बढी दुःखमा रहेकाहरु भेटेकी थिइन् । भनिन्छ नि, हिराले हिरा काट्छ । ती अरु मानिसका दुःखहरुले हिराको दुःखलाई अब काट्न थाल्यो, उनले जीवनमा आशालाई पहिलो प्राथमिकतामा राख्न थालिन् ।

अनि उनले विस्तारै सहयोगहरु पनि पाउन थालिन्, विदेशमा रहेका विभिन्न संघसंस्थाले उनलाई आर्थिक सहयोग पनि गर्न थाले । 

अब काठमाडौंमा एक्लै भए पनि बसेर पढ्न सक्छु भन्ने हिम्मत हिरामा बढ्यो । ‘एकदिन मनमा लाग्यो, कलेज हेरौँ न त एकपटक,’ हिरा मुर्छा परेर हाँसिन्, ‘पद्मकन्या कलेज पनि गएँ ।’

कलेज पढ्ने अठोट हिराले लिएपछि इजरायलमा रहेका तामाङ समुदायले यसअघिको जस्तै सहयोगलाई निरन्तरता दिने भए । यही संस्थाले उनलाई साँगामा हुँदा पनि सहयोग गरेको थियो । 

अब ह्विलचेयरमा हिराको दैनिकी व्यस्त हुन थाल्यो । उनले कलेज पढ्ने मात्र होइन, अनामनगरमा रहेको एनआरएसटी संस्थामा पहिले आफूले सिकेको कम्प्युटर ज्ञान अरुलाई बाँड्ने मौका पाइन् । 

‘साँगमा मैले कम्प्युटर पनि सिकेकी थिएँ, सुन्दर जीवनको सपना पनि,’ हिराले भनिन्, ‘यसै पनि म जीवनसँग संघर्ष गर्दै थिएँ, अब दैनिकीसँग पनि संघर्ष गर्नुपर्छ भन्ने सोचेकी थिएँ ।’

उनले यसलाई सहज रुपमा लिएकी थिइन् । मानौँ, जीवन भनेको एउटा नदी हो । र, यो बगिरहँदा ठोक्किइरहन्छ केही ठूला ढुंगाहरुमा । तर, रोक्दैन आफ्नो यात्रा । ह्विलचेयरमा हिराले पनि काठमाडौंका सडकका सानाठूला खाल्डा र उकालीओरालीहरुले आफ्नो यात्रालाई रोक्न दिइनन् ।

‘एनआरएसटीमा सुगम सर भन्नुहुन्थ्यो,’ हिराले सम्झिइन्, ‘हिराको जीवनमा कहिल्यै पूर्णविराम लाग्दैन है !’

उनी यसलाई विश्वास गर्दिनथिन् । अनि सोध्थिन्– के लागेको हो त ? 

हिराका सुगम भट्टराई सरको जवाफ हुन्थ्यो– कमा !

भट्टराईले हिराको आत्मबल बढाउन जे भन्थे, त्यो अहिले प्रमाणित भएको छ । किनकि झन् उत्साह र चाहका साथ हिराको जीवन अगाडि बढिरहेको छ । र, उनको अनुहारमा फर्किएको छ त्यो खुसी जुन उनले एसएलसीको नतिजा आएको दिन देखाउन पाएकी थिइनन् ।

हिराले स्नातक सकिन्, होस्टलबाट कोठामा सरिन् ।

पढाइमा ब्याचलर्स सकेकी हिरा अब ‘ब्याचलर’ चाहिँ होइनन् । साँगाको रिह्याबमा हिरालाई जीवनमा जुन उत्साह मिलेको थियो, त्यहाँ नै उनलाई जीवनसाथी पनि मिलेका थिए । 

हिराले यो कुरा भन्दै गर्दा हाँसिन् र भावुकता आफ्नो अनुहारमा देखाइन्, ‘उहाँको पनि ६ वर्षअघि मोटरसाइकल दुर्घटनामा परेर शरीरको तल्लो भाग चल्दैन । हामी दुवै उस्तै भएकाले अब हामी पूर्ण भयौँ भन्ने लाग्छ ।’

यो पूर्णतालाई थप सहयोग गरेको छ, नेपालयले । नेपालयले हिरालाई अहिले पूर्णकालीन जागिर दिएको छ, रिसेप्सनिस्टको ।

नेपालयकै अफिसमा भेटिएकी हिरालाई केही वर्षअगाडि मनमा सबैभन्दा ठूलो पीर थियो– बाबुआमाका लागि ठूलो बोझ हुने भइयो !

तर, आजभोलि हिरा घरमा बाबुआमालाई पकेट खर्च पठाउँछिन् । 

अर्थात्, उनी बाबुआमाका लागि भएकी छिन्– हिरा !

  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार २१:१०:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया