‘काठमाडौं कोरोनाको हटस्पट बन्न सक्छ’

गत वर्ष डिसेम्बरको अन्त्यतिर पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरस (कोभिड १९) तीन महिनामा नै विश्वका लागि ठूलो चुनौतिका रुपमा खडा भयो । विश्व स्वास्थ्य संगठनले विश्व महामारीका रुपमा कोरोनालाई चित्रित गरेको पनि अब निकै समय भइसकेको छ । अनि यही भाइरसका कारण विश्वभर ६ लाख ८० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । 

नेपालमा पनि जनवरीमा नै कोरोनाभाइरसका पहिलो संक्रमित भेटिएका थिए । चीनबाट फर्किएका यी युवामा ठिक भए । विस्तारै जब नेपालमा कोरोनाभाइरस संक्रमित बढ्न थाले, सरकारले ११ चैतबाट लकडाउन लगायो ।

४ महिना लामो लकडाउन अब सकिएको छ । योसँगै काठमाडौं र नेपालका विभिन्न जिल्लामा अहिले मानिसहरुको मुभमेन्ट निकै बढ्न थालेको छ ।

७ साउनबाट सरकारले लकडाउन अन्त्य गरेसँगै नेपालमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थाल्यो ।

पछिल्ला दिनमा समुदायस्तरमा कोरोनाभाइरस संक्रमण फैलिएको भन्दै देशका विभिन्न ठाउँमा लकडाउन र सिल गर्ने कार्य जारी छ । यता, काठमाडौंमा पनि अब दिनहुँ कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । 

स्वास्थ्य मन्त्रालयले केही दिनअघि पत्रकार सम्मेलनमा लकडाउनको ११ दिनअघि र पछिको तुलना गर्दा नेपालमा शून्य दशमलव ८ प्रतिशतले संक्रमित बढेको बताएको छ ।



काठमाडौं उपत्यकामा चाहिँ चार दिन यतामात्र १ सय ८४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यहीबीच आइतबारमात्र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चेतावनी दिएका छन्– काठमाडौंमा कुनै समय भयावह स्थिति आउन सक्छ ।

हामीले अहिले काठमाडौंमा कोरोनाभाइरसको संक्रमणको खतरा कति हो त भनेर शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पतालका संयोजक डा. शेरबहादुर पुनलाई सोध्यौँ । 



उनले भने, ‘हामीले सावधानी अपनाउन सकेनौँ भने स्थिति एकदमै भयावह हुनसक्छ ।’

‘लकडाउन अन्त्य भएपछि पछिल्ला दिनहरुमा झन् झन् समस्या देखिएको छ,’ उनले भने, ‘यसले काठमाडौंजस्ता सहरहरुलाई अझ बढी प्रभावित गर्ने सम्भावना बढेको छ ।’

यो खतरा बढ्नुको एउटा कारण हामी नेपालीहरुले आफ्नो ट्राभल हिस्ट्रि नराख्ने र पछिल्लो समय काठमाडौंमा विभिन्न जिल्लाबाट मानिसहरु प्रवेश गरिरहेको कुरालाई डा. केसी मान्छन् ।

काठमाडौं उपत्यकामा कोरोनाभाइरसले महामारी लिनसक्ने सम्भावना बढेको भन्दै उनले यस्तो भएको खण्डमा यसलाई व्यवस्थापन गर्न र नियन्त्रणमा लिन निकै चुनौतिपूर्ण हुने बताए । 

यसका लागि उनीसँग तीन कारण छन् ।

पहिलो, उपत्यकाको डेन्सिटी (जनघनत्व) निकै बढी छ । जनघनत्व बढी हुनु भनेको कोरोनाभाइरस छिटो फैलिनसक्ने सम्भावना हुनु हो भन्ने उनी मान्छन् । दोस्रो, काठमाडौंका विभिन्न अस्पतालमा निकै धेरै दीर्घरोगीको उपचार भइरहेको छ । दीर्घरोगीलाई बढी असर गर्ने कोरोनाभाइरसका कारण त्यसैले पनि काठमाडौंमा थप समस्या देखिने उनको तर्क छ । यस्तो अवस्थामा यहाँ संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्न नै समस्या हुने उनले बताएका छन् ।

‘समयमा सावधानी अपनाएनौँ भने काठमाडौं कोरोनाभाइरसको नयाँ हटस्पट हुनसक्छ,’ उनले भने, ‘कोरोनाको निर्णायक लडाइँ काठमाडौंमा हुनसक्छ ।’

अनि यो खतराबाट बच्न नागरिक नै सबैभन्दा बढी जिम्मेवार हुनु पर्ने पनि उनले बताएका छन् । ‘तर, हामी सिरियस भएको देखिँदैन,’ उनले भने, ‘अहिले केही मानिसहरु यस्ता छन् जो एक्लै हिँड्दा मास्क लगाउँछन् तर अरु मानिसहरुसँग भेटेपछि मास्क खोलेर मज्जाले कुराकानी गरिरहेका हुन्छन् ।’

यति भनेपछि डा. पुनले चेतावानी दिए– यसले त हामीले झन् जोखिम बढाइरहेका हुन्छौँ ।

उनले विश्व स्वास्थ्य संगठनले सुझाएका गाइडलाइन्स अक्षरशः पालना नगरे हामीलाई थप समस्या हुनसक्ने पनि बताएका छन् । ‘सामाजिक दूरी कायम गर्ने, हात धुने, मास्क लगाउने भन्ने विश्व स्वास्थ्य संगठनका गाइडलाइन्स पालना गर्नुपर्छ,’ डा. पुनले फरकधारसँगको कुराकानीमा भने, ‘कोरोनाभाइरस नियन्त्रणमा सरकारको मुख मात्र ताक्नु हुँदैन, हामी आफैं पनि सतर्क हुन जरुरी छ ।’

  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार ७:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया