कालापानी क्षेत्रमा भारतले सुरक्षाकर्मी दोब्बर बनायो

दार्चुला– भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । 

सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन् । विगतमा यतिका भारतीय सुरक्षाकर्मीको सवारीसाधन यस सडकखण्डमा नआउने गरेको तर अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्ने गरेको स्थानीयको भनाइ छ । भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गत असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौज समेत गरेको उनीहरुले बताए । 

नेपाल सरकारले घाटिबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिए । नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै  आएको छ । 
भारतले लिपुलेक जोड्ने सडक निर्माण क्रममा तम्बाकु, घाटिबगर, दोपाखे, पोला, बुदी लगायतका क्षेत्रमा महाकालीबाट नेपाली भूभाग मार्फत् डोजर ल्याई आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ । नेपाली भूभागमा डोजर ल्याउँदा नेपाली पक्षसँग भारतले कुनै समन्वय गरेको थिएन । 

नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ । अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन् । 

भारतीय पक्षले कालापानीभन्दा तल आई नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवतजावतमा रोक लगाउने गरेको छ । नेपालले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानी नजीकैका कौवा र तिङ्करमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्दै छ । 

नेपाली सेना घोरेटो बाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ । व्यासको छाङ्गरुमै नेपाली सैनिकलाई राख्ने प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत समेत गएको छ । व्यास क्षेत्रमा सुरक्षाको अवस्था बलियो बनाउने गरी सेनाको समेत उपस्थिति हुन सक्ने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको भनाइ छ । 





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १८:२८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया