तरकारी तथा गेडागुडीको मूल्य वृद्धिले महँगियो उपभोक्ताको भान्सा
लकडाउनमा लागत मूल्य नपाएका कृषकले पुनः खेती नगर्दा भाउ बढेको व्यवसायीको अनुमान

पछिल्लो केही दिनयता उपत्यकामा तरकारी तथा गेडागुडीको भाउ अत्यन्तै महँगिएको छ । दैनिक उपभोग्य वस्तुमा भएको अस्वाभाविक मूल्य वृद्धिसँगै आम उपभोक्ताको भान्सासमेत महँगिएकोे छ । वर्षा तथा विभिन्न स्थानीय तहमा भएको लकडाउनले मागअनुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेको व्यवसायीको भनाइ छ ।

डेढ सय रुपैयाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको चावहिलकी स्थानीय दीपा ढकालले बताइन् । तरकारीबाहेक मरमसला, नुन, तेलसमेत गर्दा एक छाक तरकारीको दुई रुपैयाँभन्दा बढी परेको उनको भनाइ छ । 

दैनिक तरकारी खान नसक्ने भएपछि गेडागुडी खाने सोच बनाएको बताउँदै उनले भनिन्, ‘गेडागुडीको भाउसमेत छोइसक्नु छैन । लकडाउन खुलेपछि तरकारीको भाउ आम अपभोक्ताको आशा विपरीत झनै महँगिएको उनको भनाइ छ ।

बजारमा प्रायः सबैखाले हरियो तरकारीको मूल्य बढेको छ । केही दिनअघि प्रतिकिलो औसत मूल्य ४५ देखि ५५ रुपैयाँमा थोकमा किनबेच भएको आलु अहिले थोकमै ६८ देखि ७० रुपैयाँ पुगेको छ । प्रतिकेजी ३० देखि ३५ रुपैयाँसम्ममा पाइने गोलभेँडा थोकमै ६५ देखि ७० रुपैयाँसम्म पुगेको नयाँ बानेश्वरमा तरकारीको थोक विक्री गर्दै आएकी रीता भट्टराइले बताइन् ।

यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउसिमी, तितो करेला, लौका, परवर, लौका, घिरौंला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातको पनि अत्यधिक मूल्य बढेको उनको भनाइ छ । 

तरकारीको माग अनुसार सहज आपूर्ति नभएकाले पनि मूल्य बढेको व्यवसायीको भनाइ छ । कालीमाटीमा सामान्य अवस्था दैनिक नौ सयदेखि एक हजार मेट्रिक टन तरकारी आपूर्ति हुने गरेकामा अहिले साढे चार सयको हाराहारीमा मात्रै तरकारी भित्रिने गरेको तथ्यांक छ । नेपालमा वर्षाको समयमा उत्पादन कम नै हुने गरेकोमा यस पटक कोरोनाका कारण भएको लकडाउनले आपूर्ति कम हुँदा भएका तरकारी पनि किसानले बजारसम्म लैजान नसक्दा आपूर्ति कम भएको व्यापारी बताउँछन् । 




बन्दाबन्दी खुलेपछि बाढी र पहिरोका कारण बजारमा ल्याउन तयारी भएको धेरै तरकारी नोक्सानी भएकाले पनि भाउ महँगो भएको हुनसक्ने बानेश्वरका अर्का व्यापारी राम थापाले बताए । बिस्तारै होटल तथा व्यवसाय पनि सुरु हुने तथा चाडपर्वको समय भएकाले मूल्य अझै बढ्ने उनले बताए । कोरोना तथा बाढी पहिरोको प्रभावका कारण तरकारीको मूल्यमा केही प्रभाव परे पनि यो समयमा हरेक वर्ष तरकारीको मूल्य बढ्ने गरेको अनुभव उनको छ ।

बाढी, पहिरो तथा कोरोना तरकारीको भाउ बढ्नुमा जिम्मेवार मानिए पनि केही हदसम्म बिचौलिया हावी हुनु सधैँको समस्या भएको उपभोक्ता अधिकारकर्मीले बताउँदै आएका छन् । 



उपत्यकामा मूल्य वृद्धि भएसँगै यो वर्ष कृषकले पनि राम्रै मूल्य पाएको बताउँछन् पाँचखालमा तरकारी खेती गर्दै आएका सुमन दंगाल । गतवर्ष तथा केही समयअघि लकडाउनको समयमा तरकारीको लागत मूल्य पनि नपाउँदा कृषकले तरकारी खेती कम गरेकाले पनि मूल्य बढेको उनको अनुमान छ । 
 

  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १४:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया