लेबनानका नेपाली भन्छन्- ‘हामी सुरक्षित छौं’

लेबनानको राजधानी बेरुतमा भएको विस्फोटबाट त्यहाँ रहेका नेपालीहरूमा कुनै क्षति नभएको त्यहाँ रहेका नेपालीहरूले बताएका छन् । 

लेबनानको राजधानी बेरुतमा मंगलबार ठूलो विस्फोट भएको थियो । बेरुतको रेडक्रसले विस्फोटका कारण त्यहाँ ठूलो जनधनको क्षति भएको बताएको छ । विस्फोटबाट कम्तीमा पनि ७० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भइसकेको लेबनानका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् । झण्डै २ हजार ७ जना घाइते भएको र अस्पतालमा भर्ना भएको बताइएको छ । 

लेबनानस्थित संयुक्त राष्ट्र अन्तरिम फोर्समा सार्वजनिक सूचना अधिकारीका रूपमा कार्यरत तिलक पौडेलले बेरुतमा भएको विस्फोटबाट कुनै पनि नेपालीमा भौतिक क्षति नभएको बताएका छन् । फरकधारसँग इन्टरनेट संवाद गर्दै पौडेलले भने, ‘यहाँ हामी सुरक्षित छौं । भौतिक रूपमा कुनै पनि नेपालीले त्यस्तो क्षति ब्यहोर्नुपरेको छैन । तर, मानसिक रूपमा भने त्रास कायम छ ।’ 

उनले भौतिक रूपमा कुनै क्षति नभए पनि बच्चाहरूमा भने त्रास कायम रहेको बताएका छन् । आफ्नो कार्यालय राजधानी बेरुतभन्दा १०० किमि टाढा रहेको र बेरुत घटना भएलगत्तै आफू त्यहाँ पुगेर आफ्नो परिवारलाई सुरक्षित ठाउँमा सिफ्ट गरेको पौडेलले बताए । 

लेबनानमा करिब २ हजारभन्दा बढी नेपालीहरू बस्दै आएको अनुमान छ । यद्यपि अहिले नेपाल सरकारले लेबनान जाने कामदारका लागि भिसामा रोक लगाएको छ । लेबनान जाने अनुमति पाएको समयमा गएका नेपालीहरू कम्तीमा १२ वर्षदेखि त्यहाँ बस्दै आएको बताइएको छ ।

लेबनानका प्रधानमन्त्री हसन दियाबले मंगलबार विस्फोट भएपछि बुधबार राष्ट्रिय शोकको घोषणा गरेका छन् । 



विस्फोट सहरको तटीय क्षेत्रमा भएको स्थानीय मिडियाले जानकारी दिएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीको रिपोर्टअनुसार त्यहाँको एक विस्फोटक केन्द्रमा आगो लागेपछि यो दुर्घटना भएको हो ।



  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १७:४७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया