लकडाउन खुलेपछि मानिसको चहलपहल बढ्न थालेको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरले बाहिर हिँडडुल गर्ने मानिसका लागि मास्क लगाउन अनिवार्य गरेको छ । जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई रु १०० जरिवाना लिन थालेको छ ।
देशभर कोरोना सङ्क्रमण बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि भोजपुरले कडाइ गरेको हो । सदरमुकाम तथा आसपासका बजार क्षेत्रमा कडाइका साथ मास्क लगाउन अनिवार्य गरिएको भए पनि अटेर गरेर नलगाएको पाएपछि प्रशासनले छड्के अनुगमन गरेर कारबाही थालेको छ ।
बाटोमा हिँड्ने सर्वसाधारण, सवारी चालक, व्यापारी तथा मास्क नलगाई हिँड्नेलाई रु १०० जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । पुरीका अनुसार प्रशासनले नै केही दिन अगाडि जनचेतनासँगै मास्क पनि वितरण गरेको थियो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुरुप न्यूनतम दुई मिटरको भौतिक दूरी कायम गर्न, सार्वजानिकस्थलमा हिँडडुल गर्दा मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन र सेनिटाइजरको अनिवार्य प्रयोगको बारेमासमेत सचेत गराइएको छ ।
अवज्ञा गर्ने नागरिकलाई सङ्क्रमण रोग निवारण ऐन, २०२० को दफा ३ अनुसार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताए ।
मास्क सरकारका लागि नभएर आफ्नै सुरक्षाका लागि भएकाले यसको सबैले पालना गर्नुपर्ने स्थानीयवासीले बताएका छन् । प्रशासनको यस्तो कार्यले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उनीहरुको भनाइ छ । मास्क नलगाई हिँड्ने ९८ जनालाई बुधबार कारबाही गरिएको छ । यस्तै सदरमुकाम आसपासका क्षेत्रमा गस्ती परिचालन गरी आगन्तुक सर्वसाधारण र सवारी साधनमासमेत कडा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।