लकडाउनका कारण २२.५ प्रतिशतले रोजगारी गुमाए, कुन क्षेत्रमा कति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण​अनुसार लकडाउनका कारण २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन् । 

राष्ट्र बैंकले औद्योगिक सर्वेक्षण​ २०७५ ले वर्गीकरण गरेको अर्थतन्त्रका १८ क्षेत्रमध्ये बैंकिङ तथा बिमा क्षेत्रबाहेक १७ वटा खण्ड समावेश गरी सर्वेक्षण गर्दा यो नतिजा देखिएको हो । रोजगारी गुमाउनेमा २ तिहाईभन्दा बढी करार र अस्थायी कर्मचारी छन् ।

सातवटै प्रदेश समेटिने गरी ५२ जिल्लाका कुल ६ सय ७९ जनामा गरिएको सर्वेक्षणमा लकडाउनको समयमा ४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा खुला, ३५ प्रतिशत आंशिक रुपमा खुला र ६१ प्रतिशत व्यवसाय पूर्ण रुपमा बन्द भएको पाइयो ।

यस अवधिमा रोजगारी गुम्नेमा होटल तथा रेष्टुरेन्ट क्षेत्रका कर्मचारी बढी छन् । यो क्षेत्रमा करिब ४०.०८ प्रतिशतको रोजगारी गुमेको छ । त्यसैगरी, विद्युत्, ग्यास र पानीसम्बद्ध क्षेत्रबाट ३९.७१ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रबाट २४.८६ प्रतिशतले रोजगारी गुमाएका छन् । 

निर्माण क्षेत्रका २३.६७ प्रतिशत कामबाट वञ्चित रहँदा उत्पादनमूलक क्षेत्रबाट २३.४९ प्रतिशतले रोजगारी गुमाएका छन् । शिक्षा क्षेत्रमा भने सबैभन्दा कम कामदार कटौती भएको पाइएको छ ।

सर्वेक्षणअनुसार १० प्रतिशतभन्दा कम कामदार कटौती हुने एक मात्र क्षेत्र यही हो । यो क्षेत्रमा ५.६० प्रतिशतले मात्रै रोजगारी गुमाएको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । 





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार २०:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया