तरलता बढेसँगै  रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक
साउनयता तानियो ४० अर्ब

बैंकिङ प्रणालीमा तरलता थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले साउन दोस्रो सातायताको अवधिमा दुईपटक गरी ४० अर्ब रुपैयाँ खिचेको छ । रिभर्स रिपोमार्फत एक साता अगाडि बैंकहरूबाट २० अर्ब रुपैयाँ खिचिसकेको राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ रकम खिच्न लागेको हो । सात दिन अवधि रहने रिभर्स रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अक्सनमा भाग लिन सक्ने राष्ट्र बैंकले बिहीबार जारी गरेको सर्कुलरमा उल्लेख छ ।


आगामी सात दिनको अवधिको उक्त रिभर्स रिपो एक सातापछि अर्थात् साउन २९ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । जारी गरिने रिभर्स रिपो लिन चाहने बैंकले बिहीबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्ने व्यवस्था गरिएको थियो ।


केही दिन अघि पनि पनि बैंक तथा वित्तीय प्रणालीमा तरलता भएको भन्दै राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तानेको थियो । बैंकहरूमा दुई खर्ब रुपियाँभन्दा बढी तरलता थुप्रिएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत सो परिणामको रकम तान्न लागेको हो ।एक सातामा परिपक्व हुने गरी जारी गरिएको अघिल्लो रिभर्स रिपो साउन २२ गते बिहीबार परिपक्व भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दै आएको छ । 


बजारमा तरलता अभाव भएका बेला पनि रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दै आएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । हाल बैंकिङ प्रणालीमा २ खर्ब १४ अर्ब रुपैयाँ तरलता रहेको पनि उनले जानकारी दिए ।


राष्ट्र बैंकले गत साता जारी गरेको रिभर्स रिपो परिपक्व भएपछि पुनः जारी गर्न लागेको हो । साउन १५ गते पनि केन्द्रीय बैंकले सात दिन अवधिको २० अर्ब रुपैयाँको रिभर्स रिपोमार्फत तरलता खिचेको थियो । उक्त रिभर्स रिपोको म्याद बिहीबार सकिएको हो ।
 





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १२:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया