क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो पुगेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
सन्दीपसहित खेलाडी, अफिसियल तथा सिपिएलसँग सम्बन्धित सम्पूर्ण १ सय ६२ जनामा गरिएको पहिलो चरणको कारोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको सिपिएलले जनाएको छ ।
अहिले सबैजना सिपिएलले उपलब्ध गराएको होटेलमा १४ दिने क्वारेन्टाइमा बसिरहेका छन् । यस बीचमा उनीहरूको पटक–पटक कोरोन परीक्षण गरिने तथा कसैको नतिजा पोजेटिभ आएमा अन्यत्र सारेर आइसोलेसनमा राखिने सिपिएलले जनाएको छ ।
सन्दीप गत बिहीबार कोरियन विमानको चार्टर्ड उडानमार्फत् अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो पुगेका थिए भने आइतबारबाट क्वारेन्टाइनमा छन् । उनले सिपिएल खेल्न जानु अगाडि नेपालमा पनि पिसिआर परीक्षण गराएका थिए त्यसमा पनि रिपोर्ट नेगेटिभ आएको थियो ।
लगातार तेस्रो सिजन सिपिएल खेल्ने तयारीमा रहेका सन्दीपलाई यो सिजन जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको छ ।
यो पटकको सिपिएल कोरोना भाइरसका ट्रिनिटडाड तथा टोबागोका दुई मैदान ब्रेन लारा स्टुडियम तथा क्विन्स पार्क ओभलमा खेलाइँदैछ ।
अगस्त १८ देखि सेप्टेम्बर १० (भदौ २–२५) सम्म हुने प्रतियोगिताको सुरुवात गुएना अमेजन वारियर्स तथा ट्रिन्बागो नाइटराइडर्स बीचको खेलबाट हुनेछ ।
सन्दीपको टिम जमैकाले अगस्त १९ (भदौ ३) मा सेन्ट लुसिया जुक्स विरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।
गुएना अमेजन वारियर्स, ट्रिन्बागो नाइटराइडर्स, जमैका तलावाज, सेन्ट लुसिया जुक्स, बार्वाडोस ट्रिडेन्ट्स तथा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियटसले प्रतिस्पर्धा गर्ने प्रतियोगिताबिना दर्शक सञ्चालन गरिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।