प्रेमगीत–३ हलमै प्रदर्शन हुन्छ : सन्तोष सेन

प्रेमगीत र प्रेमगीत–२ बनाएर नेपाली फिल्म बजारमा दर्शकको मन जित्न सफल सन्तोष सेनको प्रेमगीत–३ प्रदर्शनको प्रतीक्षामा छ । 

प्रेमगीतमा नायिका पूजा शर्मा र नायक प्रदीप खड्काको प्रदर्शनले लाखौँ दर्शकको ताली बटुल्न सफल भएको थियो । 

त्यसैगरी आसुसेन फिल्मस्को ब्यानरमा रामशरण पाठकले निर्देशन गरेको प्रेमगीत–२ मा पूजा शर्माले नायिकाको रोल नपाए पनि प्रदीप खड्का र अश्लेषा ठकुरीको जोडीले दर्शक तान्न सफल भएको थियो । 

पूर्व निर्धारित प्रदर्शन मिति गुज्रिए पनि प्रदर्शन हुन नसकेको प्रदीप खड्का र क्रिस्टिना गुरुङ अभिनित प्रेमगीत–३ कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ ।

चैत २८ गते प्रदर्शनमा आउने तयारीमा रहेको प्रेमगीत–३ लाई चैत ११ बाट सुरु भएको लकडाउनले सम्पादनमै प्रभावित पार्‍यो । सुटिङ सकिएर सम्पादनको चरणमा आइपुग्दा बन्दाबन्दीले काम स्थगित भए । “अहिलेको समय बाँकी रहेका काममा लगाएका छौं,” चलचित्रका निर्माता सन्तोष सेनले बताए । 

उनले भने, “दोस्रो चरणको सुटिङ सकिएको दुई दिनमा नै लकडाउन भयो । लकडाउन भएपछि फिल्म सम्पादनको काम पनि गर्न पाइएन । अहिले सम्पूर्ण टिम सम्पादनको काममा लागेका छौँ ।” फिल्मको पोस्ट प्रोडक्सनको काम सकेर तयार पार्ने र प्रदर्शनको पर्खाइमा बस्ने उनले बताए । “अवस्था सामान्य भएपछिमात्रै प्रदर्शनको कुरा आउँछ ।”



७६ सालको चैत्रमा प्रदर्शन हुने भनिएको फिल्मको प्रदर्शन मिति ७७ सालको चैत्र २७ गते शुक्रबारलाई उनले तय गरेका छन् । उनका अनुसार अवस्था सामान्य भए पनि दर्शकले फिल्मका लागि धेरै समय प्रतीक्षा गर्नुपर्नेछ । 

हलिउड लगायत फिल्महरूले नेटफ्लिक्सलाई रोजिरहँदा सन्तोषले डिजिटल रिलिजमा नजाने बताएका छन् । उनले डिजिटल रिलिजलाई हलमा रिलिज भएपछिको विकल्पका रूपमा मात्रै लिएका छन् । नेटफ्लिक्समा जाँदा फिल्मले राम्रै पैसा कमाए तापनि दर्शकले चित्त नबुझाउने उनको बुझाइ छ ।



फरकधारसँग बोल्दै उनले भने, “दर्शकहरू फिल्महलमा गएर फिल्म हेर्न आतुर छन् । यस्तो अवस्थामा नेटफ्लिक्समा जान सकिँदैन । नेटफ्लिक्सले २–४ करोड त उठाउला । तर, फिल्म निमार्णमा हाम्रो टिमले गरेको मिहिनेतलाई नेटफ्लिक्सले देखाउन सक्दैन ।” नेपालमा पनि उत्कृष्ट फिल्म बन्छ भन्ने देखाउन नेटफ्लिक्समा जान नसकिने उनको तर्क छ ।

नेटफ्लिक्समा प्रेमगीत–३ को टिजरले राम्रो रेस्पोन्स पाए तापनि हलमै प्रदर्शन गर्ने सपना रहेको उनले उल्लेख गरे । “नेटफ्लिक्समा जान केही एजेन्टहरू पनि लाग्नुभएको थियो । तर, फिल्म हिट भएमा कन्टेन्ट मेकिङमा अन्य निर्माताले सोच्नुपर्ने अवस्थाको सुरुवात हुन्छ । त्यही भएर हामी नेटफ्लिक्समा जाँदैनौँ,” उनले थपे । 

फिल्मको प्रदर्शन मिति लम्बिँदै जाँदा पनि फिल्मले गर्ने व्यापारमा कुनै असर नगर्ने उनी बताउँछन् । आफूसँग प्रमोशनका पर्याप्त सामग्री रहेको उल्लेख गर्दै ती सामग्रीले हलमा दर्शक तान्न सक्ने उनले बताएका छन् । 

फिल्मको बजेट प्रिज भए तापनि दर्शक तथा शुभचिन्तकको उत्साह तथा प्रतिक्रियाले सकारात्मक हुन प्रेरित गरिरहेको सन्तोषले बताएका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै कमेडी फिल्म बनाउने तयारीमा समेत उनी लागिपरेका छन् । यसका लागि प्रारम्भिक तयारी पूरा गरेको सन्तोषले बताएका छन् । 

चलचित्र विकास बोर्डबाट ठूलो सहयोगको अपेक्षा नराखेका सन्तोषले कारोनाका कारण चलचित्रभन्दा अन्य क्षेत्रमा बढी प्रभावित भएको बताउँदै भने, “चलचित्रबाहेकका अन्य ठूला क्षेत्रमा कोरोनाले धेरै असर पुर्‍याएको छ । त्यही भएर चलचित्र क्षेत्रलाई सरकारले राहत प्याकेज ल्यानुपर्छ भन्ने मेरो विचार छैन ।”

चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ तथा चलचित्र कलाकार संघ सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनले बताए । प्रदर्शनको मुखमा रहेर लकडाउनले प्रभावित भएका चलचित्रले प्रदर्शनमा पहिलो प्राथमिकता पाउनुपर्ने उनी बताउँछन् ।

  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १६:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया