प्रिस्टाइन भ्याली ड्राइप्रोट प्रालिले शुक्रबारदेखि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहको व्यवस्थापन सम्हालेको छ । यसअघिको ठेकेदार कम्पनी हिमालयन टर्मिनलले उसलाई बन्दरगाह व्यवस्थापनको जिम्मेवारी बिहीबार साँझ हस्तान्तरण गरेको हो ।
इन्टर मोडल यातायात विकास समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय कम्पनी प्रिस्टाइन मेगा लजिस्टिकले खुला टेन्डरबाट आगामी ५ वर्षका लागि बन्दरगाह सञ्चालनको ठेक्का पाएको थियो । तर, समितिले भारतीय कम्पनीले समितिसँग सोझै सम्झौता गर्न नमिल्ने र यसका लागि उसले नेपाली कम्पनीलाई पनि साझेदार राख्नु पर्ने अनिवार्यता भएकाले उसले भ्याली फिड नामक नेपाली कम्पनीसँग साझेदारी गरेर नयाँ कम्पनी खडा गरेको हो ।
यसअघि समितिले न्यूनतम २ अर्ब रुपैयाँ तोकेर टेन्डर आह्वान गरेको थियो । जसमा प्रिस्टाइनले सर्वाधिक ३ अर्ब ३३ करोड रुपैयाँमा ठेक्का सकारेको थियो । समितिले खोलेको आर्थिक प्रस्तावमा ५ कम्पनीमध्ये सबैभन्दा बढी रकम प्रिस्टाइनकै थियो । आर्थिक र प्राविधिक प्रस्तावको मूल्यांकनमा समेत यो कम्पनी अग्रस्थानमा रहेको थियो ।
सन् २००४ देखि सञ्चालनमा आएको सिर्सिया सुक्खा बन्दरगाह सुरुदेखि नै भारतीय रेल्वेको भगिनी संस्था कोन्करले नेपाली कम्पनी हिमालयन टर्मिनलसँग साझेदारीमा सञ्चालन गर्दै आएको हो ।
पहिलो १० वर्षे अवधिको ठेक्का टर्मिनलले ६३ करोड रुपैयाँमा पाएको थियो । दोस्रो पटक सन् २०१५ देखि ५ वर्षका लागि बन्दरगाह सञ्चालनको ठेक्का टर्मिनलले १ अर्ब २० करोड रुपैयाँमा पाएको थियो । टर्मिनलको ५ वर्षे ठेक्का अवधि यसै वर्षको जनवरी ६ मा सकिएको थियो ।
तर, त्यसअघि बन्दरगाह सञ्चालनका लागि नयाँ कम्पनी चयन नभएपछि थप ६ महिना अर्थात् जुलाई ६ सम्मका लागि टर्मिनललाई नै निरन्तरता दिइएको थियो । तर, पछि नयाँ ठेकेदारका रूपमा भारतीय कम्पनी प्रिस्टाइन चयन भए पनि उसले प्राविधिक प्रकृया पूरा गर्न ढिलाइ गरेपछि फेरि जुलाई ७ देखि थप एक महिनाका लागि टर्मिनललाई नै बन्दरगाह सञ्चालनको जिम्मेवारी थपिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।