अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा नेपाल बंगलादेशका समान धारणा : खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले नेपाल बंगलादेश अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकाले सहकार्य हुनसक्ने हुँदा साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए ।

नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सबीच शुक्रबार अर्थ मन्त्रालयमा भेट गर्दै खतिवडाले नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गरे ।

उनले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाइँसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने बताए । उनले सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तिव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटान बीचको उपक्षेत्रीय इकाई महत्त्वपूर्ण हुन सक्ने बताए ।

अर्थमन्त्री खतिवडाले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयलाई आत्मसाथ गरी आर्थिक विकासको गति अघि बढाइरहेको जानकारी दिए । लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोबाइल बैंकिङको विस्तारमा नेपालले बंगलादेशबाट धेरै सिकेको उल्लेख गर्दै अर्थमन्त्रीले कोरोनाले ल्याएको चुनौती र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न आह्वान गरे ।

आफ्नो ७ वर्षे कार्यकाल पूरा गरी बंगलादेश फर्कन लागेका राजदूतले अर्थमन्त्रीसँग बिदाइ भेट गरेका हुन् ।

भेटका अवसरमा राजदूत साम्सले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा सँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले दुई देशबीच व्यापार, ऊर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताए ।



उनले वातावरणीय संवेदनशीलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा सम्वाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै नेपाल बंगलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गरे ।



  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १९:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया