के होला सागर थापा र विमल घर्तीमगरको भविष्य ?

सन् २०११ को साफ च्याम्पियनसिप । भारतमा डिसेम्बरमा भएको यो प्रतियोगितामा नेपालको ग्रुप स्टेजका लागि महत्वपूर्ण खेल थियो, बंगलादेशविरुद्ध । 

यो खेल नेपाललाई जित्नै पर्ने दबाब थियो । अन्यथा नेपाल अर्को चरणमा प्रवेश गर्न पाउँदैनथ्यो । ४ डिसेम्बरको दिउँसो भएको यो खेलमा निर्धारित समयसम्म एक गोल पनि हुन सकेन । नेपाल र बंगलादेश दुवै बराबरीमा खेलिरहेका थिए । एम्पायरले ५ मिनेट ‘एक्स्ट्रा टाइम’ थपे । 

खेल सकिनै लागेको थियो । तत्कालीन नेपालका कप्तान सागर थापा डिफेन्डर थिए । अन्तिम मिनेट खेल बाँकी रहँदा नेपालले फ्रिकिक पायो । सागरले यो फ्रिकिक हाने । र, यसलाई गोलमा परिणत गरे ।

नेपाल अर्को चरणमा मात्र गएन, सागरको यो गोलले राम्रो चर्चा पनि पायो । अनि सागरको ‘वाहवाही’ चुलिँदै गयो ।

अब एकैछिन सागरको प्रसंग छोडौँ । 

नेपाली फुटबलमा अर्का आशालाग्दा प्रतिभा केही वर्ष यता देखिन थालेका थिए, विमल घर्तिमगर । र, सागरको जस्तै विमलको पनि एउटा सम्झनालायक खेल छ, साफ च्याम्पियनसिपकै ।



यो हो, सन् २०१३ को खेल । दशरथ रंगशालामा पाकिस्तानविरुद्ध ३ सेप्टेम्बरमा भएको यो खेल पनि उत्तिकै महत्वपूर्ण थियो नेपालका लागि । यो खेलमा जित निकाले नेपालले अर्को चरणमा प्रवेश पाउने निश्चित भएको थियो । फरक के थियो भने यो खेल बराबरीमा टुङ्गिए पनि नेपाल अगाडि बढ्न सक्थ्यो । तर, जितले दिने खुसी बराबरीमा फुटबल फ्यानलाई कहाँ मिल्छ र ?

संयोग, सागरले २०११ मा गरेजस्तै खेल सकिने समयमा पाकिस्तानविरुद्ध विमलले पनि गोल गरे, अन्तिम समयमा । र, त्यो पनि निर्धारित समयभन्दा पछाडि नै । ९२ औं मिनेटमा विमलले गोल गरेपछि दशरथ रंगशालाको हुटिङ अहिले पनि फुटबल प्रेमीहरु सम्झिन्छन् ।



सौभाग्य भनौँ कि दुर्भाग्य यी दुवै खेलाडीका यी दुवै खेलका सम्झना र ती दुई गोल जति फुटबल प्रेमीको मनमा गाढा भएर बसेका छन्, यी दुवै खेलाडीको चित्र भने विस्तारै फिक्का हुँदै गइरहेको छ । 

यसको कारण हो– यी दुवै खेलाडीको ‘बदमासी’ ।

किनकि सागर मुछिए, म्याच फिक्सिङ प्रकरणमा । र, विमल मुछिए अनुशासनहिन भएको कारवाहीमा । 

सागरले नेपालको सर्वोच्च अदालतबाट म्याच फिक्सिङ प्रकरणमा सफाइ त पाइसकेका छन् तर उनको भविष्य अब के भन्ने अन्योल कायम नै छ किनकि विश्व फुटबल महासंघ (फिफा)ले अहिलेसम्म यो प्रकरणमा उनलाई सफाइ दिएको छैन । 

अर्कोतिर, २०७६ साल कार्तिक २९ गते ठमेलको ‘पब’बाट फर्किँदा समातिएका विमलमाथिको कारवाहीको म्याद गुज्रिँदा पनि उनी मैदानमा फर्किएलान् वा नफर्किएलान् भन्ने टुङ्गो लाग्न सकेको छैन । ९० दिनका लागि कारवाहीमा परेका विमलले यी दिन सहजै कटाए होलान्, तर उनका फ्यानका लागि यी दिन सहज भएनन् । झन्, समस्या त के भने उनलाई अब राष्ट्रिय टिममा प्रशिक्षणका लागि बोलावट पनि भएको छैन । र, यो कहिलेसम्म यस्तो रहने भन्ने टुङ्गो लागेको पनि छैन । 

उता, २०७२ साल असोज २७ गते प्रहरीले म्याच फिक्सिङ प्रकरणमा सागरलाई गिरफ्तार गर्यो । प्रहरी हिरासतबाट छुटे लगत्तै सागर मैदानमा पुग्न पाएनन्, बरु उनले यी ६ वर्षमा स्थानीय क्लबहरुमा काम गरे । अदालतमा मुद्दा चलिरहेको थियो, सागरको मन चाहिँ फुटबलका मैदानमा नै रमिरहेको थियो; उनले विभिन्न सानातिना फुटबल म्याच गराएर यो समय व्यतित गरिरहेका थिए । 

तर, अब अदालतको फैसला आएपछि के हुन्छ त ? 

हामीले सागरलाई नै यो प्रश्न सोध्यौँ । 

‘म एक्लै त के गर्नु र ?’ उनले भने, ‘एन्फासँग फिफासँग कुरा गर्न प्रयास गरेको छु, एन्फाबाट सकारात्मक जवाफ पाएको पनि छु ।’

सागरले स्पष्ट बुझेका छन्, अब एन्फाको सहयोगविना फिफाले उनी एक्लैलाई प्रतिबन्ध हटाउने तारतम्य मिलाउन सक्दैन ।

सागर आशावादी छन्, एन्फाले उनलाई सहयोग गर्नेछ । 

तर, एन्फा यसबारे बेखबर मात्र होइन, चुपचाप छ । ‘हाम्रो त यो विषयमा के गर्ने भन्ने कुनै योजना नै बनेको छैन,’ एन्फाका प्रवक्ता किरण राईले फरकधारसँग भने, ‘म्याच फिक्सिङ प्रकरणमा हामीले सहयोग गर्न पनि मिल्दैन ।’

एन्फाले सहयोग गर्न नमिल्ने बताए पनि सागरको चाहना चाहिँ कम्तिमा एक खेल नेपालको जर्सीमा खेलेर सन्न्यास लिने छ । ‘एएफसीले म्याच फिक्सिङ गरेको प्रमाण देखायो भने म आजीवन प्रतिबन्ध भोग्न तयार छु,’ सागरले भने, ‘तर, अहिले चाहिँ मलाई नेपालको जर्सीमा फेरि मैदानमा उत्रिन मन छ, यसका लागि सहयोग गर्न म एन्फासँग पनि अपिल गर्छु ।’

एन्फाले मिल्दैन भन्नु र फुटबलको ‘गर्भनिङ बडी’ सफाइ नदिएसम्म मैदानमा देशको जर्सीमा देखिन नपाउनु अब सागरको नियती बनेको छ । त्यसैले, निष्कर्ष निकाल्न सकिन्छ, सागरको फुटबल भविष्य के हुन्छ भन्ने ठेगान छैन । 

अर्कोतिर एकपटक ‘अनुशासन’ उल्लघंन गरेका विमलप्रति नेपाली दर्शकको माया र स्नेह, चाह र कामना पक्कै घटेको छ । किनकि जुन दिन उनी ठमेलबाट फर्किँदा समातिए, त्यही दिन भुटानमा कुवेतसँग विश्वकप क्वालिफायर खेल्न नेपाली टोली जाँदै थियो । 

अनुशासन उल्लंघन गरेका विमल त्यो दिन उड्न पाएनन्, विस्तारै नेपाली दर्शकको मनबाट भने ‘उड्न’ थाले ।

तर, के अब उनी कहिल्यै मैदानमा देखिने छैनन् त ? 

‘उनलाई प्रशिक्षणमा सहभागी नगराउनु दुःखद हो,’ एन्फाका पूर्वअध्यक्ष गणेश थापाले फरकधारसँग भने, ‘उनको कारवाहीको अवधि सकियो, अब उनलाई खेल्न बोलाए हुन्थ्यो ।’

तर, कहिले ? 

यो प्रश्नको जवाफ अहिले न एन्फासँग छ, न विमल स्वयंसँग नै !

  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार ११:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया