मुखमा लगाम लगाउने बेला भएछ प्रकाश सुवेदीले !

प्रकाश सुवेदी । नेपाली सिने क्षेत्रबारे जानकारी राख्नेका लागि पुरानो नाम हो यो । रजतपट कार्यक्रम जहिले जहिले जुन जुन टिभीमा प्रसारण भए, त्यसले राम्रै स्याबासी पाए ।

हो, यही कार्यक्रमका प्रस्तोता हुन् प्रकाश सुवेदी । 

सुवेदी योबीचमा केही समय हराए । सानो पर्दाबाट हराएका उनी फेरि नयाँ स्वरुपमा रजतपट कार्यक्रमबाटै केही साता यता टिभीमा देखिन थालेका छन् । 

र, यसपटक पनि उनले कार्यक्रमबाट ‘हंगामा’ मच्चाइरहेका छन् ।

त्यो हंगामाको सुरुवात केही दिनअघि राजेश हमाललाई दीपाश्री निरौलाले महानायक नमान्ने विषयबाट सुरु भएको थियो । दीपश्रीले प्रकाशकै कार्यक्रममा भनेकी थिइन्– हमाललाई महानायक बनाइदिएको दाइले नै त हो ।

गमक्क परेका थिए, प्रकाश त्यति बेला । 



तिनै प्रकाश अब फेरि एकपटक सामाजिक सन्जालमा छाएका छन् । र, यो पनि उनकै कार्यक्रम रजतपटको एउटा प्रसंगका कारण । 

पहिले यसको थोरै ब्याकग्राउन्डमा जाऔँ । प्रकाशले केही समयअघि अभिनेत्री पूजा शर्मालाई आफ्नो कार्यक्रममा अन्तर्वार्ता लिएका थिए । त्यही कार्यक्रममा पूजा शर्माले नेपालबारे सोधिएका सामान्य प्रश्नमा जे जवाफ दिएकी थिइन्, त्यसको व्यापक आलोचना भएको थियो, सामाजिक सन्जालमा । त्यो अन्तर्वार्ताबाट थाहा हुन्थ्यो, पूजालाई नेपालमा कति जिल्ला र कति प्रदेश छन् भन्ने पनि सामान्य जानकारी त्यति बेला रहेनछ ।



सामाजिक सन्जालमा व्यापक चर्चा भएको यो विषय केही समयका लागि ओझेलमा परेको थियो जब प्रकाशकै कार्यक्रममा दीपाश्रीले कन्ट्रोभर्सिल स्टेटमेन्ट दिएकी थिइन् । 

तर, पछिल्लो समय फेरि अभिनेत्री पूजा शर्मा एउटा युट्युब अन्तर्वार्तामा देखा परिन् । त्यसमा उनले खुलेर प्रकाश सुवेदीसँगको अन्तर्वार्ताबारे कुरा गरेकी छिन् । 

रमाइलो छ नामको युट्युब च्यानलमा पूजाले स्पष्ट भनेकी छिन्, त्यो मेरो गल्ती थियो तर त्यसले अरुलाई सचेत चाहिँ बनाएको छ नि । अनि उनले त्यो कार्यक्रमबाट विवादास्पद कुरा काटिदिन पनि प्रकाशलाई अनुरोध गरेकी रहिछिन् ।

यही विषयमा फेरि एकपटक प्रकाश सुवेदी प्रवेश गरेका छन् ।

शुक्रबार प्रसारित उनको कार्यक्रम रजतपटमा उनले फेरि यो विषयमा मुख खोलेका छन् । अनि त्यसमा उनले अहिलेसम्म कलाकारहरुलाई आफूले कसरी हेर्दै आएका छन्, कलाकारमाथि आफ्नो धारणा र दृष्टिकोण के हो भन्ने खुलस्त पारेका छन् । 

यसमा प्रकाशले सुरु गरेका छन्, एक बलिउड अभिनेत्रीको प्रसंगबाट । उनले आफैं भनेका छन्, ‘नाम नलिउँ ।’ अनि ती अभिनेत्रीले चर्चा हुँदा उनलाई फलो गर्नेहरु भएको तर केही समयपछि उनले आफ्नो अन्तर्वार्ता आफैंले गर्नु पर्ने बाध्यतामा पुगेको प्रकाशको उदाहरण छ । 

अब उनी फर्किए नेपाली अभिनेत्रीतिर । उनले कार्यक्रममा नाम त लिएका छैनन्, तर उनले जे भनेका छन्, त्यसबाट स्पष्ट हुन सकिन्छ, उनको यो अभिव्यक्ति हो, पूजा शर्माबारे ।

प्रकाशको अभिव्यक्तिमा सुरुमै प्रश्न गर्न सकिने ठाउँ छ । उनले आफूलाई यसरी प्रस्तुत गरेका छन्, मानौँ उनले नै नेपाली फिल्मी दुनियाँमा अभिनेत्रीहरुलाई टिकाइदिएका हुन् । चार पुस्ताका अभिनेत्रीको उदाहरण दिँदै उनले भनेका छन्– यही खप्परमा पाँचौ पुस्ताको पनि अन्तर्वार्ता लिन लेखिएको होला ।

यो दम्भ उनले यसरी देखाएका छन्, मानौँ नेपाली कलाकार पत्रकारले देखाइदिएको सहिष्णुता र दया तथा प्रेमका कारण अहिले पनि काममा लागिरहेका छन् । उनले यसरी भनेका छन्, मानौँ उनले नै नेपाली अभिनेत्रीलाई अहिले फिल्मी दुनियाँमा टिकाउने वा नटिकाउने जिम्मेवारी लिएका छन् ।

सुरुमै यसमा गलत किन छ भने प्रकाशले भुल्नु हुँदैन, कुनै पनि कलाकार पत्रकारका कारण चर्चामा आउने वा आफ्नो दुनियाँमा टिकिरहने होइन । पत्रकारले उचालेकै भरमा वा हात समातेर नदी तारिदिन खोजेकै भ्रममा कोही व्यक्तिको अभिनय, कला, आचरण राम्रो छैन भने ऊ माथि आउनै सक्दैन । 

फेरि प्रकाशले भुल्नु हुँदैनथ्यो, उनले भनेजस्तो उनलाई अन्तर्वार्ता लिइदिनुहोस् भन्दै कोही आउँछ भने उनले गर्व गर्ने त एक ठाउँमा होला, उनको पेशाको प्रयोग गर्न चाहिँ होइन । पूजा शर्माले अब आफूलाई अन्तर्वार्ता नै दिन्नँ भन्ने सुनेपछि सायद प्रकाशले बिर्सिएका छन्– फलेको हाँगो नझुकेको कहाँ छ र ?

हो, नेपाली सिने क्षेत्र र सिने पत्रकारितामा केही उदाहरणहरु नभएका होइनन् जसले यो क्षेत्रलाई नै बारम्बार ठूलो समस्यामा पारेको छ । सिने पत्रकारिताको हुर्मत लिएका उदाहरण पनि केही नभएका होइनन् । तर, हिजोदेखि यही क्षेत्रमा रहेका प्रकाश सुवेदीबाट पनि के यो क्षेत्रले, यो समाजले त्यही अपेक्षा गरेको हो ? 

के प्रकाश आफू यसमा जिम्मेवार हुनु पर्दैन ? कि उनलाई लागिरहेको छ यो क्षेत्रमा उनले जे भने पनि हुन्छ ? कि उनी आफ्नो ‘कमन सेन्स’ पनि प्रयोग नगर्ने र अरुले लेखिदिएको स्क्रिप्ट मात्र पढ्न टिभीको पर्दामा उभिन्छन् ?

यो एउटा प्रसंग भयो । 

अब लागौँ, प्रकाशले यही कार्यक्रममा टिप्पणी गरेको अर्को प्रसंगमा । 

अभिनेत्रीको सौन्दर्यको चर्चा गर्न प्रकाशले त्यहाँ प्रयोग गरेका छन्, एउटा वाक्यांश । “इन्टरभ्यु दिने पनि आफैँ, बोल्ने पनि आफैँ, नआउने पनि आफैँलाई । अनि हामीले चाहिँ इन्टरभ्यू काटेर मिलाई दिनुपर्ने । महानायिका बनाइदिनुपर्ने । त्यो पनि दाह्रा निस्केको अनुहारलाई, कति हाँस्नु ।’

यति लामो समय पत्रकारिता गरेका र पत्रकारितामा आफूलाई दिग्गज मान्ने प्रकाशले के मानिसको रुपरेखा र अनुहारको बनावटलाई सौन्दर्यसँग दाँज्न हुन्छ ? के उनले सिकेको यही हो ? 

कि प्रकाश सुवेदीले अब बोल्दा के बोल्दैछु भन्ने हेक्का नहुने भएकाले आफ्नो मुखमा लगाम लगाउनु पर्ने बेला आएको हो ? 

प्रकाश सुवेदीले गरेको टिप्पणीलाई पत्रकार स्वेच्छा राउतले आफ्नो ट्विटरमा राखेकी छिन् । हेर्नुस् भिडियोः
 

  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १९:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया