काठमाडौं– कोरोना सङ्क्रमणको जोखिम बढिरहँदा सेयर बजारमा पनि साधारण सेयर बिक्री गर्ने क्रम बढेर गएको छ । गैरआवासीय नेपालीले प्रवर्द्धन गरेको एनआएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको साधारण सेयर मंगलबार बाँडफाँड भएको छ ।
कोरोनाका कारण आर्थिक गतिविधि रोक्न नहुने निष्कर्षका साथ साधारण सेयर बिक्रीको क्रम अगाडि बढाइएको सम्बन्धित कम्पनीले जनाएका छन् । यसै क्रममा लमजुङमा आयोजनास्थल रहेको लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आमसर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले मंगलबार एक सार्वजनिक सूचनामार्फत आगामी भदौ ३ गतेदेखि साधारण सेयर बिक्री गर्न लागिएको जनाएको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिसेयर बिक्री गर्न लागेको हो ।
प्रतिकित्ता १०० अंकित मूल्यका कुल ३७ लाख ५० हजार कित्तामध्ये आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्री गर्दा बाँकी रहेको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता साधारण सेयर आमसर्वसाधरणलाई बिक्री गर्न लागिएको सूचनामा उल्लेख छ ।
सो कम्पनीको सेयरमा प्रतिकित्ता १०० का दरका न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।कम्पनीका अनुसार सेयर बिक्री बन्द छिटोमा आगामी भदौ ७ गतेसम्म हुनेछ भने ढिलोमा आगामी भदौ १७ गते हुने कम्पनीले जनाएको छ ।
कम्पनीले बिक्री गर्न लागेको साधारण सेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले आधारभूत अवस्था औसत रहेको जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड ४’ प्रदान गरेको छ । यो भनेको कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको भन्ने हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल लागत चार अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ ।
कम्पनीले लमजुङमा कुल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । गत वर्ष आएको बाढीका कारण आयोजनाको केही भौतिक संरचनामा क्षति पुगेका कारण विद्युत् उत्पादन मिति एक वर्ष पर धकेलिएको हो । आयोजनाले केही समयभित्रै विद्युत् उत्पादन सुरु गर्ने जनाएको छ ।
सरकारले प्रवर्द्धक कम्पनीलाई ३० वर्षका लागि सो आयोजनको अनुमति दिएको छ । आयोजनामा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतको लगानी रहेको छ । दोर्दी करिडोरका निर्माण भइरहेका राम्रा आयोजनामध्ये माथिल्लो दोर्दी एक आयोजना पनि एक हो ।
दोर्दी करिडोरलाई हाइड्रो करिडोरका रुपमा पनि लिने गरिन्छ । उक्त करिडोरमा एक दर्जन साना ठूला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।