जनकपुर– प्रदेश २ मा मंगलबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
प्रदेश २ मा हालसम्म कोरोना संक्रमणबाट ३१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो मृत्युसँगै धनुषामा मृतकको संख्या चार पुगेको छ ।
मंगलबार प्रदेश २ मा १७४ जनामा संक्रमण भएको छ । तीमध्ये धनुषामा १८, महोत्तरीमा १०, सिरहामा नौ, बारामा सात, पर्सामा ६५, सर्लाहीमा २१, रौतहटमा ४० र सप्तरीमा चारजना छन् ।
धनुषाको मुक्तिनाथ बैंकका दुई महिलासमेत ६ जना, जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका सात र एनबी बैंक, राष्ट्रिय वाणिज्य बैंक, हंसपुर नगरपालिका, जनकनन्दनी गाउँपालिकामा एक–एक जना संक्रमित भेटिएका छन् ।
बारामा सशस्त्र प्रहरी बल, निजगढका एकजनासहित सातजनामा संक्रमण देखिएको छ । महोत्तरीको जिल्ला प्रशासन कार्यालयमा एकजना, जिल्ला अस्पतालमा दुई, जलेश्वर नगरपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
पर्साको बिर्तास्थित वडा प्रहरी कार्यालयमा एक महिलासमेत आठजना, जिल्ला प्रहरी कार्यालयका एकजना, कृषि सामग्री लिमिटेडका एकजना, नेसनल मेडिकल कलेजका तीनजना, नारायण अस्पतालका तीन महिलासमेत चारजना, बिर्ताका १० जना र वीरगन्ज महानगरपालिकास्थित विभिन्न वडाका २४ जनासमेत ६५ जनामा संक्रमण पुष्टि भएको छ ।
योसमेत यस प्रदेशमा जम्मा संक्रमितको संख्या ६ हजार ६८ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।