टेलिकम तथा इन्टरनेट सेवा प्रदायक विरुद्ध  दुरसंचार प्राधिकरणमा ९९ उजुरी


नियामक निकाय नेपाल दुरसंचार प्राधिकरणमा इन्टरनेट तथा मोबाइल सेवा प्रदायकको सेवा उपयुक्त नभएको भन्दै पछिल्लो १ बर्षमा ९९ ओटा उजुरी दर्ता भएका छन् । प्राधिकरणका अनुसार गत आर्थिक बर्ष भरमा उक्त संख्यामा गुनासो दर्ता भएका हुन् ।

 

सेवा प्रदायकले आफ्नो सेवा जस्तो दिए पनि गुनासो भने कम मात्रै दर्ता भएको देखिएको छ । प्राधिकरणका अनुसार दर्ता भएका कुल गुनासोमध्ये ४१ प्रतिशतभन्दा बढी गुनासो नेपाल टेलिकम विरुद्ध छन्, जसमा धेरैजसो नेटवर्कमा समस्या देखिएको, जानकारी विना पैसा काटेको र मर्मतलगायतका काम समयमै नभएका गुनासा छन् ।

 

नेपाल टेलिकमको जीएसएम, सिडीएमए, पीएसटीएन, डब्लूएलएल, भिस्याटमा गरेर कुल एक करोड ९७ लाख ४१ हजार १ सय ४ प्रयोगकर्ता छन् । त्यस्तै इन्टरनेटतर्फ एक करोड ७ लाख ५३ हजार २३२ प्रयोगकर्ता छन् । एडिएसएल, एफटिटिएच, इन्टरनेट लिज लाइन, वाइम्याक्स समेत गर्दा कम्पनीका कुल ग्राहकको संख्या दुई करोड नौ लाख ३१ हजार भन्दा बढी पुग्ने बताइएको छ । यो हिसाबले हर्ने हो भने कुल ग्राहकमध्ये कम्पनीको सेवामा नियामक समक्ष गुनासो गर्ने ग्राहकको संख्या ०.०००१९ प्रतिशत मात्र हुन आउँछ ।

 



यस्तै दुरसंचार सेवाप्रदायक एनसेलको नाममा २४ वटा गुनासो दर्ता भएका छन्, जसमा नेटवर्क समस्या, जानकारी नै नदिई पैसा काट्ने गरेको गुनासा धेरै छन् । प्राधिकरणको तथ्याङ्ककअनुसार एनसेलका प्रयोगकर्ता हाल एक करोड ५९ लाख १६ हजार ३५४ छन् । कुल ग्राहकका आधारमा एनसेलको सेवामा गुनो गर्नेको संख्या जम्मा ०.०००१५ प्रतिशत छ ।

 



इन्टरनेट सेवा प्रदायकममध्ये सबैभन्दा बढी गुनासो वल्र्डलिंक कम्युनिकेसन लिमिटेडको नाममा दर्ता भएका छन् । कुल ३ लाख ६८ हजार ७ सय ८७ ग्राहक रहेको वल्र्डलिंकको नाममा जम्मा १५ वटा गुनासो आएका छन् । कुल प्रयोगकर्ताको हिसाबले हेर्ने हो भने यो संख्या ०.००४० प्रतिशत मात्रै हो । वल्र्डलिङ्क विरुद्ध आएका गुनासोमा बढीजसो इन्टरनेट स्पीड सुस्त भएको, भने जति ब्याण्डविथ नदिएको, इन्टरनेटमा समस्या आएको, इन्टरनेट काटिने लगायतका छन् । यस्तै किसिमका गुनासो भायनेट कम्यनुनिकेसन प्रालि र क्लासिक टेक प्रालिको नाममा पनि परेका छन् । उनीहरुको नाममा क्रमशः ६ र ५ ओटा गुनासो दर्ता भएको बताइएको छ ।

 

त्यस्तै सुबिसु केबल नेट प्रालिको नाममा चार वटा गुनासो दर्ता भएका छन् । सुबिसु विरुद्ध पनि अन्य प्रतिस्पर्धी कम्पनीकै जस्तो समस्या बताइएको छ । यसबाहेक सञ्चालनमै नरहेको टेलिकम सेवा प्रदायक कम्पनी युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को नाममा पनि गत वर्ष एउटा गुनासो दर्ता भएको छ । कम्पनीको नाममा घरमा राखिएको टावरको बिजुलीको पैसा भुक्तानी नभएको, टावर नहटाएको, घरभाडाको रकम अहिलेसम्म नतिरेको गुनासो छ ।

 

त्यस्तै पोखरा इन्टरनेट प्रालि, स्काई केबल इन्टरनेट प्रालि, म्याक्स नेट सोलुसन प्रालिको नाममा पनि एक–एक वटा गुनोसो आएका छन् । इन्टरनेट र टेलिफोनलाई छुट्टाछुट्टै प्रयोगकर्ता मानेर हेर्न हो भने नेपालमा कुल प्रयोगकर्ता (सब्सक्राइबर) पाँच करोड ९६ लाख भन्दा बढी रहेका छन् ।
 

  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १४:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया