विश्वकप तथा एसियाकप छनोट अर्को वर्ष सम्मका लागि पुनः स्थगित

विश्वकप तथा एसियाकपको संयुक्त छनोटका बाँकी खेल आगामी वर्षसम्मका लागि पुन:स्थगित भएका छन् ।

कोरोनाको कहर अझै नसकिएको तथा एसियाली देशमा पछिल्लो समय कोरोना संक्रमण बढिरहेकाले सन् २०२१ सम्मका लागि छनोट खेल स्थगित गरिएको एसियन फुटबल कन्फेडेरेक्सन (एएफसी) ले बताएको छ । 

एएफसीले एसियाली देशमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय भएको छनोट प्रतियोगितालाई स्थगित गरेको हो ।

यसअघि पनि मार्च–जुनमा हुनुपर्ने खेलहरू कोरोना भाइरसका कारण स्थगित गरिएको थियो । कोरोना महामारीको स्थिति हेरेर नयाँ मिति तय गरिने एएफसीले जनाएको छ ।

यो निर्णयसँगै नेपालले कम्तीमा पनि २०२१ सम्म कुनै अन्तर्राष्ट्रिय खेल नखेल्ने भएको छ ।  

विश्वकप २०२२ तथा एसियाकप २०२३ को संयुक्त छनोटको समूह ‘बी’ मा रहेको नेपालले घरेलु मैदान दशरथ रंगशालामा तीन खेल खेल्न बाँकी छ । नेपालले अब अस्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्न बाँकी छ ।



यसअघि नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइ, अक्टोबर १३ मा अस्ट्रेलिया तथा नोभेम्बर १२ मा जोर्डनसँग खेल्ने तय भएको थियो । 

हालसम्म ५ खेल खेलेको नेपाल ४ हार तथा एक जित निकाल्दै ३ अंकको साथमा समूहको चौथो स्थानमा छ । अस्ट्रेलिया, जोर्डन तथा कुवेतसँग हार बेहोरेको नेपालले चाइनिज ताइपेइलाई पराजित गरेको थियो ।



  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १४:५६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया