कर्णाली प्रवेश गर्न पिसिआर गर्न अनिवार्य


कोभिड– १९ सङ्क्रमण जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । 

प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिन अघिको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । भारतबाट फर्किएका नागरिकलाई सीमा नाकाका क्वारेन्टिनमा राख्ने तथा क्षमताभन्दा बढी भए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनलाई प्रयोग गर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

त्यस्तै कर्मचारी र जनप्रतिनिधि सुर्खेतबाट अत्यावश्यक सरकारी कामले जाँदा र भित्रिँदा पिसिआर परीक्षण गराएर मात्र आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । 

बैठकले मास्क अनिवार्य प्रयोग गर्न÷गराउन, समुदायस्तरमा मास्कको व्यवस्था मिलाउन, एक स्थानीय तह एक क्वारेन्टिन वा स्थायी प्रकृतिको आइसोलेशन निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई सहजीकरणको जिम्मेवारी दिएको छ । 

कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट, सुर्खेतको बबई र कुइने नाकामा जाँच कडाइ गर्ने तथा सुर्खेतका पर्यटकीय क्षेत्र गोठीकाँडा र काँक्रेविहारमा चहलपहल बढिरहेकाले त्यहाँ घुमफिरमा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।
 





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १५:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया